+
+

क्यानको विधानबाट राखेप प्रतिनिधि हटाइयो, कार्यसमिति १९ सदस्यीय हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १३:५६

२० वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मंगलबार विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुकुल हुने गरी विधानमा व्यवस्था गर्ने निर्णय सर्वसम्मत पारित गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विधान संशोधनका लागि क्यानले विशेष साधारणसभा बोलाएको थियो ।

गएको १४–१५ फागुनमा सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमिति सदस्य पदम खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो । सोही समितिको सुझाव र निर्णयलाई मंगलबार विशेष साधारणसभाले पारित गरेको हो ।

सो साधारणसभाले साउन मसान्तसम्म केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । अध्यक्ष चन्दले विधान संशोधनको निर्णयसँगै राखेपबाट पारित गरेर निर्वाचनको तयारी सुरु गर्ने जानकारी दिए । जिल्ला, प्रदेश र केन्द्रको चुनावी साधारणसभाका लागि कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेसमेत उनको भनाइ छ ।

क्यानले २०७५ सालमा तेस्रो संशोधनमार्फत विधान तयार गरी निर्वाचन सम्पन्न गरेपछि आईसीसीको निलम्बन फुकुवा भएको थियो । पछिल्लोपल्ट संशोधित विधानमा राखेपका २ जना प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने व्यवस्था थियो । दफा ३ (४) अनुसार राखेपका दुई प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने, तर उनीहरुसँग मताधिकार नहुने व्यवस्थालाई नयाँ संशोधनले खारेज गरिदिएको छ ।

क्यानको कार्यसमितिमा राखेपका दुई प्रतिनिधिसमित १९ जना रहनेछन् । तीनमध्ये १७ जना निर्वाचन प्रक्रियाबाट आउने व्यवस्था यथावत राखिएको छ । साधारणसभाको सदस्यमध्येबाट कार्यसमितिले १ र अध्यक्षले १ जना मनोनित गर्ने व्यवस्था राखिएको छ । उनीहरुले मताधिकारसमेत पाउनेछन् ।

विधानको दफा २८ (१)अनुसार कार्यसमितिको पदाधिकारी पद खाली रहेको अवस्थामा पदाधिकारीबाटै पदपूर्ति गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ । हालको कार्यसमितिमा सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि सो पदको कार्यबाहकका लागि पदाधिकारीबाटै चुनिन असम्भव भएपछि बाधा अड्काउ फुकाउमार्फत सदस्यलाई जिम्मेवारी दिइएको थियो ।

क्यानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ४ जनामात्र पदाधिकारी रहने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार अब अध्यक्षबाहेक पदाधिकारी पदक खाली हुँदा सदस्य मध्येबाट कार्यबाहक दिइनेछ ।

जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यले दुई कार्यकालभन्दा बढी सोही पदमा निर्वाचित हुन नपाउने दफा ९ (९)मा रहेको व्यवस्थालाई पनि विशेष साधारणसभाले हटाएको छ । क्यान अध्यक्ष चन्दका अनुसार जिल्ला कार्यसमितिको हकमा मात्र यो व्यवस्था राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?