+
+

हलिउडमा हड्ताल : टिभी शो रोकिए, उत्पादन अमेरिकाबाहिर लैजाने सोचमा नेटफ्लिक्स

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:१७

काठमाडौं । हलिउड लेखकहरु हड्तालमा उत्रिंदा फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प भएको छ । रात्रिकालीन टिभी कार्यक्रम बन्द भएका छन् भने फिल्मको छायांकन समेत प्रभावित भएको सीबीएस न्युजले जनाएको छ । मंगलबारदेखि सुरु भएको ११ हजारभन्दा बढी लेखकको आन्दोलन तत्काल रोकिने छाँटकाँट छैन ।

आन्दोलनका कारण टेलिभिजनमा नयाँ सिरिजको निर्माण कार्य रोकिएको सीएनएनले जनाएको छ । ज्याला र रोजगारीको सुनिश्चितता माग गर्दै राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा लस एन्जलस र न्युयोर्कमा हड्ताल सुरु भएको हो । यो आन्दोलन डिज्नी, नेटफ्लिक्ससहितका ठूला स्टुडियोविरुद्ध लक्षित छ ।

यो हड्ताल सन् २००७ यताकै ठूलो भएको र तत्काल रोकिने सम्भावना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ज्यालादर र रोजगारीका कतिपय मागलाई लिएर राइटर्स गिल्ड अफ अमेरिका र हलिउड स्टुडियोबीचको वार्ता निष्कर्षमा नपुगेपछि हड्ताल सुरु भएको हो ।

अघिल्लो पटकको हड्ताल १०० दिनसम्म चलेको थियो । केही टेलिभिजन र केबल ब्रोडकास्टरले पछिल्लो सिजनको फाइनल एपिसोड प्रसारण गरिसकेका छन् । खासगरी रात्रिकालीन शो रोकिएका छन् । एनबीसी, एबीसी, सीबीएस टिभीका कार्यक्रम रोकिएका छन् । हड्ताल लम्बिंदै गए कमेडीदेखि दिवाकालीन शो पनि ठप्प हुनेछन् । समर (गर्मीयाम) भरि नै हड्ताल निरन्तर रहे टेलिभिजनका नयाँ सिजन अनिश्चित रुपमा ‘पोस्टपोन्ड’ हुनेछन् ।

लस एन्जलस टाइम्सका अनुसार हड्ताल चलिरहँदा पनि केही स्टुडियोले फिल्म निर्माणको अनुमति मागिरहेका छन् । तर यसको चर्को विरोध भइरहेको छ । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले हड्ताल जारी रहे उत्पादन सेवालाई अमेरिकाबाहिर लैजाने तयारी गरिरहेको बीबीसीले जनाएको छ । एचबीओ म्याक्सले नयाँ नभएर पहिले नै लेखिएको स्क्रिप्टमाथि फिल्म बनाउने सोच बनाइरहेको उल्लेख छ ।

हड्तालको असर तत्कालै फिचर फिल्म निर्माणलाई पर्नेछैन । किनभने फिचर फिल्म निर्माण गर्न दुईदेखि तीन वर्ष लाग्छ । यतिबेला पहिले नै लेखिएका फिल्ममाथि धमाधम कार्य भइरहेको छ । यद्यपि, हड्ताल लम्बिए फिचर फिल्मको काम पनि रोकिन सक्छ । जेम्स बोन्डको फिल्म क्वान्टम अफ सोलेसले पनि दुःख पायो । आन्दोलन सुरु हुँदा फिल्मको स्क्रिप्ट मात्रै लेखिएको थियो ।

सन् २००७-२००८ मा लेखकहरूको हड्ताल १०० दिनसम्म चल्दा क्यालिफोर्निया राज्यको अर्थतन्त्रमा दुई बिलियन डलरको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?