
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘स्क्विड गेम’ सिजन ३ यस महिना रिलिज हुँदैछ, जसले दर्शकको उत्सुकता बढाएको छ।
- श्रृंखलाले दक्षिण कोरियाली सामाजिक यथार्थ र विभाजनलाई प्रतिबिम्बित गर्दछ।
- डिजिटल प्लेटफर्मले यसले विश्वव्यापी लोकप्रियता र कोरियाली सामग्रीको प्रवर्द्धन गरेको छ।
सन् २०२१, सेप्टेम्बरमा नेटफ्लिक्समा रिलिज भएको एक दक्षिण कोरियाली श्रृंखलाले विश्वको ध्यान तान्यो । त्यो थियो- ‘स्क्विड गेम’ ।
खेलको नाम जस्तै अचम्म लाग्ने कथा, गहिराइ बोकेका तनाव दर्शाउने दृश्य, मानवीय संवेदना र सामाजिक यथार्थ चित्रणसहितको यो श्रृंखलाले केही दिनमै इतिहास रच्यो ।
बाल्यकालका साधारण खेललाई खतरनाक कोरियोग्राफी शैलीमा प्रस्तुत गर्ने यो श्रृंखलाले त्यसयता दर्शकलाई गहिरो प्रश्न सोध्यो- पैसाको लागि मान्छेले के गर्न सक्छ ? जीवनको मूल्य कति हो ? धनीलाई गरिबको पीडा खेलजस्तै लाग्ने यो संवेदनाहिन समाजमा हामी कसरी बाँचिरहेका छौं ?
दर्शकलाई ‘स्क्विड गेम’ अनौठो, मन छुने थ्रीलर हो । सामाजिक, राजनीतिक र आर्थिकरुपमा विभाजित दक्षिण कोरियाली समाजको लागि एक निर्मम र मर्मस्पर्शी दृष्टिकोण पनि । के विश्व अझै पनि ‘स्क्विड गेम’जस्ता घातक खेलको लागि तयार छ ?
श्रृंखलाको तेस्रो सिजन यसै महिना आउँदैछ । रिलिज नहुँदै विश्वभरका दर्शक श्रृंखलाको तीव्र पर्खाइमा छन् । अन्तिम सिजन भएकाले पनि दर्शकमाझ कौतुहलता मात्र छैन, दोस्रो सिजन जहाँनेरबाट सकियो, यसले दर्शकलाई यसको शीर्ष पात्रको भविष्यबारे प्रश्नहरू छाडेको छ ।
यसको प्रमाण भनेकै दर्शक संख्या हो । ‘स्क्विड गेम’को पहिलो सिजन नेटफ्लिक्सको इतिहासमै सबैभन्दा धेरै हेरिएको श्रृंखला बन्यो, जसलाई २६५ मिलियन पटकभन्दा बढी हेरिएको छ । ‘सिजन २’ले पनि त्यो सफलतालाई दोहोर्यायो । प्रिमियर भएको चार दिनमै ६८ मिलियन पटक हेरियो, जुन नेटफ्लिक्स टिभी शोको इतिहासमै सबैभन्दा ठूलो डेब्यु मानिएको छ ।
केही साताभित्रै सिजन २ लाई १५२.५ मिलियन पटक हेरिएको तथ्यले दर्शकको चासो अझै गहिरो भएको देखाउँछ ।
पहिलो सिजनले दर्शकलाई एक यस्तो खेलको दुनियाँमा लगेको थियो, जहाँ आर्थिक रूपमा असफल, ऋणमा डुबेका, समाजको पिँधमा पुगेका मान्छेलाई पैसाको लोभमा एक खतरनाक खेलमा होमाइन्छ । खेलमा सहभागी हुने ४५६ जना प्रतिस्पर्धीले बाल्यकालका खेल खेल्नुपर्छ, तर त्यहाँ हार भनेको मृत्यु हो ।
यो खेलका आफ्नै नियम छन् । पहिलो खेल ‘रेड लाइट ग्रीन लाइट’मा खेलाडीलाई जीवन र मृत्युबीच छनोट गर्नुपर्छ । शारीरिक मात्र होइन, मानसिक र नैतिक रूपमा समेत कठोर परीक्षणमा पारिएको त्यो खेललाई दर्शकले रोमाञ्चक मात्र होइन, गहिरो सामाजिक व्याख्या पनि ठाने ।
मुख्य पात्र सङ गी-हुनको संघर्षमार्फत श्रृंखलाले असमानता, विभेद र गरिबीको कहरविरुद्ध लड्ने मुख्य पात्रको कथा भनेको छ । गरिबीमा फसेको व्यक्तिले जब अवसर पाउँछ, ऊ कतिसम्म अघि जान सक्छ ? कति कुरामा सम्झौता गर्न तयार हुन्छ ? अनि कसरी एउटा अमानवीय खेल समाजको यथार्थलाई प्रतिबिम्बित गर्छ ?
सिजन १ को अन्त्यसम्म पुग्दा गी-हुनले त्यो खेल जित्छन् । उनीसँग अब जीवनभर खर्च गर्न पुग्ने पैसा हुन्छ, तर त्यो पैसाको मूल्य उनले आफ्ना साथीसँगको विश्वासघात, आत्मिक पीडा र मृत्युलाई अँगाल्न गएका निर्दोष पात्रको सम्झनामार्फत तिर्नुपर्छ ।
सिजन २ मा उनी त्यही खेलमा फर्किन्छन् । तर यो पटक उनी खेल खेल्न होइन, त्यसलाई अन्त्य गर्न फर्किन्छन् । उनले ‘फ्रन्ट म्यान’ भनेर चिनिने व्यवस्थापक र खेलको सञ्जाललाई भत्काउने योजना बनाउँछन् । सिजन २ मा श्रृंखलाले झन गहिरो राजनीतिक र आर्थिक संकेत दिन थाल्छ । को हुन् ती भीआइपी जसले पैसाको भरमा मानिसको जीवन र मृत्युको खेल हेर्न रमाउँछन् ? कसरी एक देशको पीडालाई मनोरञ्जनको रूपमा प्रयोग गरिन्छ ?
यही सन्दर्भमा ‘स्क्विड गेम’को सिजन ३ अहिले यति बहुप्रतीक्षित छ । तेस्रो सिजन श्रृंखलाको अन्तिम अध्याय हुने बताइएको छ । गी-हुनको अन्तिम प्रयास, व्यवस्थाको भण्डाफोर र न्यायको सम्भावित विजय या विफलता, यी सबै कुरा हेर्नका लागि दर्शक अधैर्य छन् । कथा अब केवल व्यक्तिगत संघर्षमा सीमित छैन, यो अब संस्थागत अन्यायको विरुद्धको युद्धमा पुगेको छ ।
सिजन ३ प्रतिक्षित हुनु पछाडि धेरै कारण छन् । पहिलो- पात्रहरूको विकास र उनीहरूको उद्देश्यले श्रृंखलालाई गहिरो र दार्शनिक तुल्याएको छ । गी–हुनको परिवर्तन, एक निरीह व्यक्तिबाट प्रतिरोधको प्रतीकसम्मको यात्रा, दर्शकले नजिकबाट अनुभव गरेका छन् । दोस्रो- हरेक सिजनले नयाँ खेल र नयाँ मनोवैज्ञानिक चुनौति प्रस्तुत गरेको छ । तेस्रो सिजनमा कुन खेल कसरी प्रस्तुत हुनेछन् ? कसरी उनीहरूले विद्रोह गर्नेछन् ? के त्यो विद्रोह सफल हुनेछ ? यस्ता जिज्ञासाले ‘सिजन ३’लाई अझै रोमाञ्चक बनाएको छ ।
यससँगै, ‘स्क्विड गेम’को लोकप्रियताले दक्षिण कोरियाली विषयवस्तुलाई विश्व बजारमा पुर्याउने ठूलो ढोका खोलेको छ । नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्लाटफर्मले पछिल्लो समय कोरियाली र भारतीय सामग्रीमा विशेष ध्यान दिइरहेका छन् । ‘स्क्विड गेम’को सफलताले उच्च गुणस्तरको, सन्देशमूलक, र मौलिक कथा विश्वभर स्वीकारिन्छ भन्ने सन्देश दिएको छ । जसको कारण विश्वचर्चित यो ओटीटी प्लाटफर्मले दक्षिण कोरियाली कन्टेन्टमा अर्बौं डलर लगानी गरिरहेको छ ।
नेपाल लगायत विश्वका थुप्रै देशमा ‘स्क्विड गेम’लाई लोकप्रिय बनाउन नेटफ्लिक्सको बहुभाषिक रणनीति प्रभावकारी रह्यो । अंग्रेजी मात्र होइन, नेपाली, हिन्दी, स्पेनी, जापानी लगायत विभिन्न भाषामा अनुवाद गरिएको स्क्विड गेमले भाषाको पर्खाल र सीमाना नाघ्यो । कथा यदि बलियो छ भने भाषा अवरोध हुँदैन भन्ने कुरालाई पनि देखायो ।
‘स्क्विड गेम’ केवल मनोरञ्जन होइन । यसको जरा दक्षिण कोरियाको सामाजिक-आर्थिक यथार्थको वरपर घुमेको छ । दक्षिण कोरियामा शिक्षा प्रणालीको चर्को प्रतिस्पर्धा, बेरोजगारी, ऋणको समस्या, र आत्महत्याको दर लगातार बढ्दो छ । यी सबै पृष्ठभूमिले श्रृंखलालाई विश्वसनीय बनाउँछ । श्रृंखलाका पात्रहरू कुनै काल्पनिक चरित्र होइनन्, उनीहरू हाम्रै वरपरका मानिस हुन्, जसले जीवनको मूल्यमाथि सम्झौता गर्न बाध्य छन् ।
यति गहिरो सन्देश, दर्शकसँगको भावनात्मक सम्बन्ध र अन्तिम भीडन्तको उत्कर्षले गर्दा ‘स्क्विड गेम सिजन ३’ प्रतीक्षा गर्न लायक बनेको हो । के गी-हुनले प्रणालीलाई हराउनेछन् ? के नयाँ पात्रहरू उनीसँग जोडिनेछन् ? के खेल वास्तवमै बन्द हुनेछ वा अर्को अझै क्रूर संस्करण आउनेछ ? यस्ता अनेक प्रश्न दर्शकको मनमा छन् ।
नेपाली दर्शक पनि ‘स्क्विड गेम’ हेर्न अधैर्य छन् । यस्तो लाग्छ, दक्षिण कोरियाको यो सौम्य शक्तिको प्रभावमा नेपाली दर्शक पनि छन् । के-पप र के ड्रामा पछ्याउने नेपाली दर्शकको लागि ‘स्किवड गेम’ ओटीटी श्रृंखलाभन्दा धेरै महोत्सव र भावना हो ।
के तपाईं ‘स्क्विड गेम’ खेल्न तयार हुनुहुन्छ ?
प्रतिक्रिया 4