+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

सोनीका फिल्म नेटफ्ल्क्सिमा आउने, दुई पक्षबीच ७ अर्ब डलरको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्स र सोनी पिक्चर्स इन्टरटेन्मेन्टबीच बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ जसले नेटफ्लिक्सलाई सोनीका फिल्मको विश्वब्यापी स्ट्रिमिङ अधिकार दिनेछ।
  • यो सम्झौता सन् २०२९ को सुरुआतदेखि लागू हुन थाल्नेछ र सन् २०२६ को अन्त्यतिर क्रमशः विभिन्न देशमा लागू हुनेछ।
  • सम्झौतामा नेटफ्लिक्सले सोनीका चर्चित फिल्म र टेलिभिजन लाइब्रेरीका केही अधिकार लिनेछ र यसको मूल्य ७ अर्ब अमेरिकी डलरभन्दा बढी अनुमान गरिएको छ।

लस एन्जलस । नेटफ्लिक्स र सोनी पिक्चर्स इन्टरटेन्मेन्टबीच एक बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार, नेटफ्ल्क्सिले सोनीका फिल्मको विश्वब्यापी स्ट्रिमिङ अधिकार पाउनेछ ।

सिनेमा घर र होम इन्टरटेन्मेन्टमा प्रदर्शन भैसकेपछि ती फिल्म नेटफ्ल्क्सिमा आउनेछ । नेटफ्लिक्ससँग हाल ‘पे-वन’ अधिकार छ, जसलाई उद्योगमा सिनेमा हलपछि र अन-डिमान्डमा देखाउने समयको अधिकार भनिन्छ । यो अधिकार अमेरिका, जर्मनी र दक्षिणपूर्वी एसियाका विभिन्न देशहरूमा लागू छ ।

नयाँ व्यवस्था पूर्ण रूपमा लागू हुन अझै समय लाग्नेछ । यो सन् २०२९ को सुरुआतदेखि लागू हुन थाल्नेछ । विभिन्न देशको अधिकार क्रमशः उपलब्ध हुँदै जाँदा सन् २०२६ को अन्त्यतिरदेखि यसले काम गर्न थाल्नेछ ।

सम्झौताअन्तर्गत नेटफ्लिक्सले सोनी पिक्चर्स इन्टरटेन्मेन्टका केही छनोट गरिएका फिचर फिल्म र टेलिभिजन लाइब्रेरीमा रहेका चर्चित फिल्मको अधिकार पनि लिनेछ ।

यस सम्झौताका आर्थिक सर्तहरू सार्वजनिक गरिएको छैन । स्रोतहरूका अनुसार यसको मूल्य ७ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको अनुमान गरिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो ‘पे-वन’ सम्झौता मानिन्छ । यसअघि नेटफ्लिक्स र सोनीबीच घरेलु अधिकारका लागि गरिएको पाँच वर्षे प्रारम्भिक सम्झौताको मूल्य २.५ अर्ब डलर थियो ।

“विश्वभरिका हाम्रा सदस्यलाई फिल्म निकै मन पर्छन्, र सोनीका अत्यन्तै लोकप्रिय फिल्ममा एक्सक्लुसिभ पहुँच दिनु उनीहरूको सब्स्क्रिप्सनका लागि ठूलो थप मूल्य हो’ नेटफ्लिक्सकी लाइसेन्सिङ तथा प्रोग्रामिङ रणनीतिका उपाध्यक्ष लरेन स्मिथले भनिन्, ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ जस्ता सोनीका प्रतिष्ठित फिल्म फ्रेन्चाइज र ‘एनीवन बट यू’ जस्ता मौलिक फिल्म अमेरिकामा हाम्रा दर्शकमाझ निकै लोकप्रिय छन् । अब यी सामग्री विश्वभरिका हाम्रा सदस्यसम्म विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ ।’

सोनी पिक्चर्स टेलिभिजनका ग्लोबल डिस्ट्रीब्युसनका कार्यकारी उपाध्यक्ष पौल लिटम्यानले नेटफ्लिक्ससँगको साझेदारीलाई “अत्यन्तै मूल्यवान” भन्दै प्रशंसा गरे । उनका अनुसार “अनचार्टेड”, “स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स”, “इट एन्ड्स विथ अस” र “एनीवन बट यू” जस्ता हालका सोनी फिल्म नेटफ्लिक्समा आएपछि दर्शकको ध्यान अझ बढी तान्न सफल भएका छन् ।

आगामी फिल्मको कुरा गर्दा, सोनीसँग सन् २०२६ र त्यसपछिका लागि “स्पाइडर-म्यान : ब्रान्ड न्यू डे”, “द सोसल नेटवर्क” र “जुमान्जी” का सिक्वेल, “स्पाइडर-म्यान : बियन्ड द स्पाइडर-भर्स” तथा निर्देशक साम मेन्डेसका चारवटा “बिटल्स” फिल्म रिलिज तालिकामा छन् ।

लिटम्यानले भने, “यो नयाँ ‘पे-वन’ सम्झौताले हाम्रो साझेदारीलाई अझै अर्को स्तरमा पुर्‍याएको छ र नेटफ्लिक्सको विश्वव्यापी दर्शकमाझ हाम्रा सिनेमा रिलिजको दीर्घकालीन आकर्षणलाई थप बलियो बनाएको छ ।’

विश्वकै सबैभन्दा ठूलो स्ट्रिमिङ सेवा नेटफ्लिक्स अझै ठूलो बन्ने सम्भावना देखिएको छ । यस प्रविधि कम्पनीले हाल वार्नर ब्रदर्स डिस्कभरीसँग ८२.७ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ, जसअन्तर्गत वार्नर ब्रदर्सका फिल्म र टेलिभिजन स्टुडियो, एचबीओ, एचबीओ म्याक्स तथा यसको गेम्स डिभिजन अधिग्रहण गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?