+
+

सुुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको दाबी, विकल्पबारे बालुवाटारमा छलफल

जनक विष्ट जनक विष्ट
२०८० वैशाख २५ गते १२:२२

२५ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे बालुवाटारमा छलफल भएको छ । मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाटसहितले प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रदेश सरकारलाई जति सक्दो चाँडो विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएको प्रदेशसभा सदस्य ओमविक्रम भाटले जानकारी दिए ।

उनका अनुसार माओवादीले आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय नपाउने अवस्थामा तीन वटा मन्त्रालय पाउनुपर्ने विषयमा समेत कुराकानी भएको छ । ‘यो विषयमा मुख्यमन्त्री ज्यू सकारात्मक देखिनुभएको छ । मन्त्री नियुक्त गर्न बाँकी रहेका ४ मध्ये ३ वटा हामीले दिन्छौँ भन्नुभएको छ तर उहाँले भनेर मात्र हुँदैन शीर्ष तहमा छलफल गर्नुपर्ने होला,’ भाटले भने, ‘साँझसम्म सबै विषय टुंगो लागेमा भोलिसम्म सरकार विस्तार हुनसक्छ ।’

प्रधानमन्त्रीसँगको भेटमा सहभागी एक प्रदेशसभा सदस्यका अनुसार माओवादीका सांसदहरुले भौतिक पूर्वाधार वा आर्थिक मामिलामध्ये एउटा मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गरेका थिए । तर मुख्यमन्त्री शाहले दुवै मन्त्रालयको जिम्मेवारी मन्त्रीले सम्हालिरहेका कारण दिन नसकिने बताएपछि तीन वटा मन्त्रालयको प्रस्ताव गरिएको थियो ।

एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले समेत बाँकी रहेका मन्त्रालयहरु न्यायपूर्ण तवरले व्यवस्थापन गर्न भनेका थिए भने आफ्नो पार्टीका प्रदेशसभा सांसदलाई अडानमा लचिलो बन्न आग्रह गरेका थिए ।

बालुवाटारमा भएको छलफल अनुसार सुदूरपश्चिम प्रदेशमा बाँकी रहेका तीन मन्त्रालय माओवादी र एउटा मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउनेबारे छलफल भएको थियो ।

गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले अहिलेसम्म प्रदेश सरकार विस्तार गर्न सकेका छैनन् । सत्तारुढ गठबन्धनमा सरकारको आलोपालो र मन्त्रालय भागबण्डाको विषयमा कुरा नमिलेका कारण ढिलाइ भइरहेको हो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?