+
+

‘डाकिनी’ जेठ ५ देखि नेपालका हलमा, ‘मास्टरक्लास’ दिन रिम्पोछे काठमाडौं आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते ११:३१

काठमाडौं । संसारका प्रख्यात फेस्टिभलको चक्र पूरा गरेपछि फिल्म ‘डाकिनी’ नेपालका हलमा आउने भएको छ । टलकजंग भर्सेस टुल्के, जात्रा र महापुरुषजस्ता रुचाइएका फिल्मको निर्माता कम्पनी षट्कोण आर्टस्ले यो फिल्मलाई जेठ ५ गते हलमा रिलिज गर्न लागेको हो ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

षट्कोण आर्ट्सका नेपाली निर्माताहरु रविन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन् । रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्राण्ड प्रिमियर आयोजना हुँदैछ, जसको आकर्षण बन्नेछन् यस फिल्मका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) । उनी बौद्ध धर्मका ठूला गुरु समेत हुन् । गुरु रिम्पोछेको यो पाँचौं फिल्म समेत हो ।

रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकाबाट नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै छेको पारेर षट्कोण आर्ट्सले फिल्मलाई रिलिज गर्न लागेको निर्माता खत्रीले बताए । जेठ ६ गते शनिबार मुभी लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दैछ । स्वयं रिम्पोछेले सीडीसी मलमा ‘ब्युटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि सञ्चालन गर्दैछन् । आइतबार बौद्धस्थित लिच्छवि हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुनेछ ।

फिल्मको सबै छायांकन पाटन र काभ्रेको पनौतीमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ- तिमी अब जम्मा सात दिन बाँच्छौं । तर जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।

निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो । बौद्ध धर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै । सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । दोस्रो फिल्म ‘ट्राभल्स एण्ड म्याजिसियन्स’ पनि निकै चर्चित रह्यो । सन् २०१७ मा उनले बनाएको ‘हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ विश्वभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनले तीन पुस्तक प्रकाशन गरे ।

तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पनि उत्तिकै पुरानो छ । उनले बौद्धको एक गुम्बामा पढेका हुन् । रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो । सन् १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्मलाई समीक्षकले रुचाएका थिए ।

 निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाइप्रोफाइल छन् मार्क लि पिङ बिङ । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’ का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका केही चर्चित फिल्ममा ‘इन द मुड फर लभ’सहित असासियन, रेनोयर, नर्वेजियन उड, फ्लाइट अफ रेड बलुनलगायत छन् ।

बुद्ध धर्मको कारण नजिकिएका निर्माताहरु बानियाँ र खत्रीले गुरुसँगको संगत गर्दा यो फिल्म बनाउने सोचेका थिए । पुनहिल ट्रेकिङ गएको बेला रिम्पोछेले यी दुई निर्मातालाई फिल्मबारे पहिलोपटक सुनाएका थिए । ‘गुरु र मार्कजस्ता फिल्ममेकरसँग आफ्नै निर्माणमा यस्तो फिल्म बनाउन पाउनु मौका हो,’ खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?