+
+

प्यास मेट्न श्रमदान गरिरहेको धरान

सागर चन्द सागर चन्द
२०८० वैशाख २८ गते १९:२०

२८ वैशाख, धरान । वैशाख २३, शनिबार बिहान ६ बजेदेखि धरानको धनकुटे रोडमा चहलपहल सुरु भइसकेको छ । हेर्दाहेर्दै अर्गानिक ग्रीन टी चिया पसल अगाडि ठूलो भीड जम्मा भयो, सडकमा सवारी आवतजावत गर्न असहज हुन थाल्यो । धुलो र माटोको पत्र बसिसकेको ट्रयाकसूटमा सजिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हाते माइक लिएर सडकपेटीमा उभिएर सडक जाम गरेर जम्मा भएका श्रमदातालाई सडक खुला गर्न आग्रह गर्न थाले ।

खाना र पानी बोकेको गाडी ६ बजे नै श्रमदान स्थलतर्फ लागिसकेको थियो । पाइपहरू ट्रकमा लोड भइसके, सडक किनारमा श्रमदानमा जानेहरूलाई लैजान बसहरू तयार भएपछि मेयर साम्पाङ ८ बजेतिर मोटरसाइकलमा श्रमदान स्थलतिर लागे । बस, मोटरसाइकल र अरू सवारीको लस्करले उनलाई पछ्यायो ।

यो लस्कर बघुवा खोलाको किनारमा रोकियो । धरानलाई पानी खुवाउन भनेर उत्साहित हुँदै श्रमदान गर्न आएकाहरू तीन समूहमा बाँडिए । एउटा समूह पाइपमा डोरी बाँध्न जुट्यो, दुई जना पाइप बोकेर जंगलको उकालो चढे । पाइप विछ्याउने ठाउँमा पुर्‍याइसकेपछि ओरालो झर्छन् र फेरि पाइप बोकेर उकालो चढ्छन् ।

भूतपूर्व ब्रिटिश लाहुरे पासाङ शेर्पा (७०) ले आफ्नै जीवनकालमा धरानमा पानी ल्याउन सयौं मानिस उर्लिन्छन् भन्ने कल्पना समेत गरेका थिएनन् । तर अहिले आफैं त्यो भीडमा छन्, चर्को घाममा असिनपसिन भएर पाइप तानिरहेका हुन्छन् ।

पाइप बाँध्ने र तान्ने काममा खटिनेका लागि खोला किनारमा खाना पाकिरहेको थियो । मध्याह्न १२ बजेतिर श्रमदाताहरू खाना खान भनेर खोला किनारमा झरे । लाइन लागेर खाना खाए । सामूहिक भान्सामा खाना खाइसकेपछि कतिपय फर्किन्छन्, कतिपय चाहिं फेरि पाइप तान्न उकालो जंगलतिर लाग्छन् ।

साँझ ६ बजेसम्म श्रमदानमा खटिएकाहरू फर्किसक्छन् । सबै श्रमदाता फर्किएको पक्का गरेपछि फर्किन्छन् मेयर साम्पाङ । ‘उहाँ सबभन्दा पहिला जानुहुन्छ र अन्तिममा फर्किनुहुन्छ’ सहयोगी अशोक शर्मा सुनाउँछन् ।

८ जेठ २०७९ मा धरानको मेयर चुनिएका हर्क साम्पाङले हरेक शनिबार श्रमदान अभियान चलाएका छन् । मेयर साम्पाङ, शनिबारलाई धरानको ‘श्रमबार’ भन्छन् । उनको आह्वानमा मानिसहरू व्यक्तिगत मात्र होइन, संस्थागत रूपमा पनि श्रमदानमा सहभागी हुन्छन् । धरानका जिम क्लब, सहकारी, बैंक, गोर्खा भर्तीकेन्द्र जस्ता संस्थाबाट संस्थागत रूपमै मानिसहरू श्रमदान गर्न जान्छन् ।

बगरकोट व्यवसायी समितिको टिसर्ट लगाएकी ३८ वर्षीया सञ्जिता राई पहिला दुई पटक श्रमदानमा खटिएकी थिइन् । ‘अहिले चाहिं हाम्रो व्यवसायी समितिबाट निर्णय गरेर सबै आएका छौं’, उनले सुनाइन् ।

***

महाभारत पर्वत शृंखलाको फेदमा लमतन्न बसेको यो शहरसँग पानी बाहेक सबथोक छ । १२० वर्ष पहिला सन् १९५९ मा चन्द्रशमशेरले शहर बसाउँदा आजजस्तो काकाकुल भने थिएन । १९७३ मा तुर्के खोलाको पानी हालको पुरानो बजारमा रहेको गोमुखे धारासम्म आइपुग्थ्यो । विजयपुर डाँडाको वरिपरिका पानी मुहानले धरानको प्यास मेटाउँथे । तर अहिले तुर्के खोलामै पानी छैन । तुर्के खोलामा कुनै समय पानी थियो, त्यहाँको पानी धरानका सार्वजनिक धारासम्म पुग्थ्यो भन्ने सम्झाउने पाइपहरू मात्र छन् खोलामा ।

पूर्वी पहाडको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएपछि पानीका स्रोत रहेका पहाडका फेदसम्मै बस्ती बस्यो । पानीका मुहान भएका ठाउँमा घरहरू ठडिए । ‘ब्रिटिश सरकारले धरानमा गोर्खा सैनिक भर्ती गर्ने अफिस खोलेपछि यहाँको जनसंख्या बढ्यो, चहलपहल पनि बढ्यो’ महेन्द्र बहुमुखी क्याम्पसका पूर्व सह–प्राध्यापक राजेन्द्र शर्मा सुनाउँछन्, ‘अनि विस्तारै पानीको अभाव हुनथाल्यो ।’

पानीको प्यास मेट्न तत्कालीन राजा वीरेन्द्रले सर्दु जलाधार आसपास रहेको बस्ती हटाउन लगाए । त्यहाँका मानिसहरूलाई मोरङको शनिश्चरेमा सारियो । २०३६ सालदेखि खानेपानी संस्थानले सर्दु जलाधार क्षेत्रबाट पाइपमार्फत ल्याएको पानी धरानका सार्वजनिक धारामा झर्‍यो ।

तर यसले पनि धरानमा बढ्दो जनसंख्याको प्यास बुझाउन सकेन । चारकोसे जंगलमा गाडिएका डिप ट्युबवेलहरूबाट पानी ल्याउने भनेर २०६९ वैशाखमा एशियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा खानेपानी योजना सुरु भयो ।

तर यसले पनि पानीको अभाव टार्न सकेन । ‘एडीबी आयोजनाले भने अनुसार पानी दिएको भए यहाँ पानीको समस्या हुन्थेन’, स्थानीय व्यापारी गणेश पौडेल भन्छन् ।

धरान खानेपानी व्यवस्थापन बोर्ड (तत्कालीन खानेपानी संस्थान) का कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार अहिले डिप ट्युबवेल र अन्य स्रोतबाट जम्मा भएको गरी दिन बिराएर करिब २ करोड लिटर पानी धरानवासीलाई वितरण गर्छ । ‘तर, धरानलाई दैनिक तीन करोड लिटर पानी चाहिन्छ’, बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल भन्छन् ।

मागअनुसार आपूर्ति नभएका कारण पानी आउने दिन मानिसहरू जर्किन, गाग्री बोकेर लाइन बस्छन् ।

धरानवासी पानीका लागि कतिसम्म संघर्ष गर्छन् भने अर्याल लाइनमा बस्ने सूर्य राई बिहान हातमुख धुन पुतली लाइनमा रहेको विजयपुर अस्पताल पुग्छन् । पानीका लागि आफूले दैनिक गरिरहेको संघर्ष सुनाउँदै उनी भन्छन्, ‘नुहाउन खानेपानी बोर्डको अफिस जान्छु, कपडा धुन आफन्तहरूकहाँ !’

***

धरान नगरवासीका लागि पानी नै मुख्य समस्या भएपछि पछिल्लो समय दलहरूले पानीलाई नै चुनावी एजेण्डा बनाएका छन् । पानीको प्यास मेट्ने आशमा धरानवासीले कहिले एमाले त कहिले कांग्रेस नेतालाई धरानको मेयर जिताए । तर उनीहरूले धरानको प्यास मेटाउन सकेनन् । ‘पानी ल्याउलान् र खाउँला’ भन्ने आशमा वर्षौंदेखि राजनीतिक दलका उम्मेदवारलाई विश्वास गरिरहेका धरानवासीले यसपटक स्वतन्त्र उम्मेदवार साम्पाङलाई रोजे ।

एक दशकदेखि धरानमा सामाजिक अभियानमा सक्रिय साम्पाङ खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै आन्दोलित भएपछि धेरैको नजरमा परेका थिए । करिब ६ वर्ष इराक र अफगानिस्तानमा काम गरेर नेपाल फर्किएपछि पानीको अभियानमा लागेका थिए साम्पाङ । ‘त्यो मरुभूमिमा पानीको दुःख नहुने यता भने पानीको हाहाकार हुने ? साम्पाङ पानी अभियन्ता भए, ‘त्यसपछि म धरानको पानीमा भएको विकृति खोज्ने अभियानमा लागें ।’

मेयर निर्वाचित भएलगत्तै ‘धरानको पानी प्यास जसरी पनि मेट्छु’ भन्दै कसम खाए । यतिखेर साम्पाङ त्यही वाचा पूरा गर्न कम्मर कसेर लागिपरेका छन् । पानीको काम गर्न जंगल जाँदा हरेक पटक धुलो, मैलो र माटोले रंग छोपिएको ट्रयाकसूट लगाएका उनी भन्छन्, ‘पानी नखुवाउँदासम्म म यो लुगा पनि फेर्दिनँ ।’

धरानको पानी प्यास मेटाउन उनले झन्झटिलो सरकारी कागजी प्रक्रिया अपनाएका छैनन् । उपमहानगरबाट निर्णय समेत नगराई उनले श्रम अभियान चलाएका छन् । मेयर भएर पनि नगरपालिकाबाट निर्णय नगराएको तथा वातावरणीय प्रभाव, सम्भाव्यता अध्ययनलगायत प्रक्रिया नअपनाई खानेपानी ल्याउन पाइप बिछ्याउन सुरु गरेको भन्दै उनको आलोचना पनि हुन्छ ।

तर आलोचनाको जवाफमा उनी प्रतिप्रश्न गर्छन्, ‘तपाईंलाई पानी चाहिएको कि कागज ?’

हुन पनि उनले श्रमदानकै बलमा पकुवा, सर्दु, निशाने र भालुखोलाको पानी धरानसम्म ल्याइपुर्‍याएका छन् । यी खोलामा बर्खायाममा मात्र पानी हुने भएकाले दीर्घकालीन रूपमा धरानको प्यास मेट्न नसकिए पनि धरानवासीमा आश पलाएको छ ।

त्यही आशले बाह्रै महिना पानी बग्ने धरानको पश्चिमी कुनामा रहेको कोकाह खोलाको पानी धरान ल्याउन श्रमदानमा खटिएका शेर्पा पसिना पुछ्दै भन्छन्, ‘दलका नेताहरूले यतिका वर्ष नगरेको काम हर्क साम्पाङले प्रयास गर्दा भयो त !’

श्रमदानकै बलमा धरानको पानी प्यास मेटिन्छ भन्ने विश्वास गर्ने उनी जस्ता सयौं मानिस कोकाह आसपासका जंगलमा पाइप तानिरहेका भेटिन्छन् । धरानबाट ३० किलोमिटर टाढाको कोकाह खोलाबाट पानी ल्याउन हरेक शनिबार कम्तीमा पाँच किलोमिटर पाइप बिछ्याउने र बोक्ने काम गर्छन् धरान १६ का बलबहादुर गुरुङ । एकातिर हर्क साम्पाङले काम गरिरहेको फोटो, अर्कातिर ‘म हुँ श्रमदाता’ लेखिएको सेतो टिसर्ट लगाएका उनी १० पटक श्रमदानमा आइसके । पानीका लागि बलबहादुर जस्ता धरानवासी कतिसम्म खटिएका छन् भने उनीहरूले हरेक चाडपर्व श्रमदान गरेरै मनाउँछन् ।

पानीको संकटबाट पार पाइन्छ कि भन्ने आश बोकेरै सूर्य राई पनि दुई पटक श्रमदानमा सामेल भइसके । धारामा पानी नआएपछि ट्यांकरको पानी किनेरै गुजारा चलाइरहेका अर्याल लाइनका उनी भन्छन्, ‘यतिका मान्छे काम गर्न लाग्या छन्, मेयर आफैं काममा खटिएका छन् । एक न एक दिन पानी आउँछ !’

पुरानो बजारको जल्पा रोडमा पानी भर्न २० लिटरको नीलो जर्किन हातमा लिएर पालो कुरिरहेका हैदर खान सडकमा पानी थाप्न आउनु नपरोस् भनेरै तीन पटक श्रमदानमा गइसके । पाइप खरिद गर्नका लागि भनेर उनले चन्दा पनि दिए ।

श्रमदानमा सहभागी हुन नसके पनि चन्दा दिएर सहयोग गरेका जल्पा रोड निवासी धिरज मानन्धरले साम्पाङको श्रमदानलाई सत्प्रयासका रूपमा लिएका छन् । ‘मेयरको आइडिया राम्रो हो । सर्दु, खर्दु, निशाने खोलाको पानी हिउँदमा सुक्ने भए पनि उहाँले गरेको कोशिश त राम्रो हो’ उनी सुनाउँछन्, ‘त्यति कोशिशले पनि केही मात्रामा सहज भएको छ, हामीलाई त यसमै गौरव छ ।’

साम्पाङको अभियानका लागि भनेर व्यवसायीहरूले क्षमता अनुसार चन्दा दिएका छन् । विदेशमा बस्ने धरानेले पनि पैसा पठाएका छन् । खानेपानीका लागि चन्दा दिन भनेर हरेक दिन बिहान–साँझ धनकुटे रोडको अर्गानिक ग्रीन टी चिया पसलमा मानिसहरू पुग्छन्, मेयर साम्पाङ र उनको टिमका सदस्य भेटिन्छन् ।

खानेपानीका लागि १ लाख रुपैयाँ चन्दा दिन भनेर आइतबार बिहानै ग्रीन टी स्टेसनमा आइपुगिन् धरान–१६ अन्नपूर्ण लाइनकी ६५ वर्षीया पवित्रा राई । ‘आफू काम गर्न जान सक्दिनँ, काम गर्नेहरूलाई त दिनुपर्‍यो’, रकम हस्तान्तरण गर्दै गर्दा उनी सुनिइन्, ‘सके त आफूले गर्ने हो, नसके सहयोग त गर्नुपर्‍यो नि !’

यसरी आउने चन्दा व्यवस्थापन गरिरहेका दत्तकुमार लिम्बुका अनुसार नगद र जिन्सी गरी करिब साढे नौ करोड संकलन भएको छ । अहिले काम भइरहेको कोकाह खोलामा २ करोड रुपैयाँ खर्च भइसकेको छ भने थप २ करोड लाग्ने अनुमान छ ।

खानेपानी आयोजनाका सामान खरिद गर्न, श्रमदान अभियानमा सामेल हुनेहरूलाई खाना र पानी खुवाउन रकम खर्च हुने गरेको छ । साम्पाङको सचिवालयमा रहेका अशोक राईका अनुसार श्रमदान गर्न आएकाहरूले सडक किनारबाट पहाडमा उकालेका पाइप गाड्ने, जोड्ने र त्यसको प्राविधिक काम गर्न करिब ४० जना खटिएका छन्, जसलाई दैनिक ११०० रुपैयाँ ज्याला दिनुपर्छ ।

धरानको पानी प्यास मेटाउन जुटेका मेयर साम्पाङ पानी ल्याउन भनेर आँखा चिम्लेर हिंडिरहेको सुनाउँछन् । ‘म त आँखा चिम्म गरेर हिंडिरहेको छु, यतिका मान्छेहरू श्रमदान गर्न आउनुहुन्छ । आर्थिक सहयोग दिनुहुन्छ र मेरो अगाडिको बाटो थपिरहनुभएको छ, अगाडिको बाटो खुलाइरहनुभएको छ’, उनी सुनाउँछन् ।

श्रमदानलाई आफ्नो ब्राण्ड बनाइरहेका साम्पाङ धरानको प्यास मेटाउन श्रमदानमा मात्र निर्भर छैनन् । बढ्दो जनसंख्याले पानीको माग बढ्न सक्ने ठानेरै साम्पाङ र उपमेयर अइन्द्र विक्रम वेघासहितको टोली चैत दोस्रो साता काठमाडौं गयो- प्रधानमन्त्री, योजना आयोगका उपाध्यक्ष लगायतलाई भेटेर धरानको खानेपानी समस्या सदाका लागि समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने भएकाले यसका लागि बजेट व्यवस्थापन गरिदिने माग बोकेर ।

धरानको पानी प्यास मेटाउन एकातिर श्रमदान, अर्कोतिर संघ सरकारसँग बजेट मागिरहेका साम्पाङलाई जनताको ‘लिडर’ मान्छन् धरान ११ का सत्यलाल लामिछाने । शनिबार सातौं पटक श्रमदानमा सहभागी भएका ३५ वर्षीय लामिछानेको बुझाइमा धरानले बल्ल ‘लिडर’ पाएको छ । भन्छन्, ‘इच्छाशक्ति भएको एउटा लिडर भएपछि जनता आफैं मैदानमा ओर्लिएर काम गर्दारहेछन् । खासमा अहिलेसम्म लिडर नभएर हामी समस्यामा रहेछौं ।’

धरान १० मुनाल चोकको सार्वजनिक धारामा लेखिएको छ, ‘तिर्खाउनेहरू जीवनको पानी पिऔं’ । मुनाल चोकका ८० वर्षीय पुरनध्वज लिम्बुले बाल्यकालमा यही धारामा चौबिसै घण्टा पानी आएको देखेका थिए । यही धाराको पानीले प्यास मेटाएका उनी जीवनको उत्तरार्धमा फेरि यही धाराको पानीले प्यास मेटाउन चाहन्छन्, जीवनको पानी होइन उनी धाराकै पानी पिउन चाहन्छन् ।

‘यही धारामा कलकल पानी आएको देखेको थिएँ, अहिले सुक्यो’ लिम्बु सुनाउँछन्, ‘अब फेरि एकचोटि यसमा कलकल पानी आएको देख्न पाए धन्य हुन्थ्यो नि !’

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?