+
+

गण्डकीमा भोलि मन्त्रिपरिषद विस्तार हुँदै, अझै टुंगिएनन् मन्त्री

 माओवादीबाट जुग्जाली मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते २१:०९
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

२८ वैशाख, पोखरा । गण्डकी प्रदेशमा यसअघिको मन्त्रालयको कार्य विभाजन हेरफेर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका छन् । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट छुट्याएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय बनाइएको छ ।

बाँकी मन्त्रालयहरु भने उही नै रहने भएका छन् । अरु आर्थिक मामिला, उद्योग, पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहने भएका छन् ।

मन्त्रालयको कार्य विभाजन हेरफेर गरी बिहीबार मन्त्रिपरिषददको बैठकबाट निर्णय भएको हो । मन्त्रालयको नाम र संख्या आजै राजपत्रमा प्रकाशित पनि भइसकेको छ ।

मन्त्रालयको कार्यक्षेत्र टुंग्याएसँगै भोलि शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् । तर, कांग्रेसभित्रै अझै मन्त्रीको टुंगो लागिनसकेको सांसदहरुले बताइरहेका छन् ।

कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा मन्त्री भइसकेपछि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे)लाई पनि फेरि मन्त्री बनाएर कांग्रेसले २ मन्त्रालयमात्र पाउँछ । माओवादीले अब एक मन्त्रालय पाउने छ ।

मन्त्रालयको संख्या ७ मात्र बन्दा मन्त्रीका आकांक्षीलाई मिलाउन मुख्यमन्त्री पाण्डेलाई सकस परिरहेको छ । माओवादी संसदीय दलले रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउने बिहीबार निर्णय गरिसकेको छ ।

जुग्जाली यसअघि खगराज अधिकारी सरकारमा पर्यटन मन्त्री थिए । मन्त्रिपरिषदको बैठकले मन्त्रालय बाँडफाँड र कुन मन्त्रालय पाउने भन्ने पनि टुंगो

नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्र थापाको चर्चा छ भने लमजुङका टकराज गुरुङले पनि दाबी गरिरहेका छन् । बागलुङका डिल्लीराम सुवेदीले पनि आकांक्षा राखेका छन् । साविक धौलागिरि क्षेत्रबाट माओवादीका जुग्जाली मन्त्री हुने भएकाले लमजुङका टकराज र नवलपुरका महेन्द्रध्वज मन्त्री हुन सक्ने सम्भावना पनि रहेको सांसदहरुको अनुमान छ । मुख्यमन्त्री पाण्डेले सबै टुंगो लागिसकेको भए पनि भोलिमात्र सार्वजनिक गर्ने बताइरहेका छन् ।

गण्डकीमा माओवादी–कांग्रेसको सभामुखबाहेक ३४ सदस्य छन् । दीपक मनाङे पनि गठबन्धनमै थपिएका छन् । २२ सदस्य रहेको एमाले र २ सदस्य रहेको राप्रपा प्रतिपक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?