+
+
शहीद स्मारक लिग :

खेलाडीको चिन्ता कसलाई छ र ?

राष्ट्रिय टिमकै खेलाडीहरु गम्भीर चोटबाट ग्रसित छन् । इन्जुरीका कारण प्रतियोगिता नै गुमाउनुपर्ने खेलाडीको संख्या एक दर्जनभन्दा बढी छ । लिग खेल्ने अधिकांश खेलाडी फिट छैनन् । लगभग सबै टिमका खेलाडीले खुट्टाका धेरै भागहरुमा टेपिङ गरी खेलिरहेका छन् ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० जेठ २ गते १०:०२

२ जेठ, काठमाडौं । जारी शहीद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा चर्को छ । डवल राउण्ड रोविन प्रणालीअन्तर्गत भइरहेको लिगका १४ टिमहरु १३ अंकको अन्तरमा छन् । उपाधि विजेता र रेलिगेसनमा पर्ने दुई टिमको अनुमान लगाउन सक्ने अवस्था छैन ।

घरेलु फुटबलको मेरुदण्ड भनिने ए डिभिजन लिगमा खेलाडीको ‘मेरुदण्ड भाँचिने’ गरी तयार गरिएको खेल तालिकाले उनीहरुको सुरक्षामा ठूलो जोखिम बढाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा, क्लबहरु र स्वयम् खेलाडीहरुसमेत आफ्नो सुरक्षामा चनाखो छैनन् । १७ चरणको लिग सकिँदा हरेक क्लबका लगभग खेलाडीहरु सामान्यदेखि गम्भीर चोटको शिकार छन् । चोट बोकेरै उनीहरुले सातामा तीनवटासम्म खेल खेल्नुपरेको छ ।

एन्फालाई लिगको कर्मकाण्ड सम्पन्न गर्नुपर्ने हतारो । क्लबहरुलाई खर्च कटौती गर्ने लोभ र सानातिना समस्यालाई बेवास्ता गर्नुपर्ने खेलाडीको बाध्यताबीच ए डिभिजन लिग चलिरहेको छ । १९ फागुनदेखि सुरु भएको लिग २७ जेठसम्म चल्नेछ । लिगमा एउटा टिमले तीन महिनाको बीचमा २६ वटा खेल खेल्नुपरेको छ ।

नेपालको उमेरसमूहको टिमलाई प्रशिक्षण गराएका थ्रीस्टारका प्रशिक्षक मेघराज केसी प्रष्ट छन्, ‘यो बाध्यताको लिग हो ।’

‘यो देशमा खेलाडीको चिन्ता कहिले नै कसलाई भएको छ र ? लिगको सेड्युल एन्फाले बनाउँछ । उसैले मिलाएको समयमा क्लब खेल्नुपर्छ । एन्फालाई प्रतियोगिता सक्नकै हतारो, क्लबलाई खर्च जोगाउन,’ अनलाइनखबरसँगको कुराकानीमा उनले थपे, ‘प्रत्यक्ष मार खेलाडीमा छ । नतिजाको हिसाबमा प्रशिक्षकलाई छ । खेलाडीको चिन्ता कसैलाई छैन । फुटबलको चिन्ता कसैलाई छैन ।’

राष्ट्रिय टिमकै खेलाडीहरु विमल घर्तीमगर, एरिक विष्ट, विकास खवासलगायत गम्भीर चोटबाट ग्रसित छन् । यसबीचमा इन्जुरीका कारण प्रतियोगिता नै गुमाउनुपर्ने खेलाडीको संख्या एक दर्जनभन्दा बढी छ । लिग खेल्ने अधिकांश खेलाडीहरु फिट छैनन् । लगभग सबै टिमका खेलाडीहरु खुट्टाका धेरै भागहरुमा टेपिङ गरी खेलिरहेका छन् ।

एन्फाले मंसिर अन्तिमदेखि सुरु गर्ने भनेको लिग झण्डै तीन महिना पर धकेलियो । समयमै लिग हुन नसक्नुलाई एन्फा र क्लबहरु एकअर्कालाई दोष दिन्छन् । समयमै तयारी खर्च उपलब्ध गराउन नसकेको भन्दै क्लबहरुले विरोध गरेपछि एन्फा लाचार भएको थियो ।

पछिल्ला दुई सिजनको विजेता मछिन्द्रले यो लिगमा सबैभन्दा धेरै चोटको समस्या झेलेको छ । खेलाडी पलायनको असर पनि यसैले सबैभन्दा धेरै ब्यहोरेको छ । सुरुवाती पाँच चरणमा अपेक्षाअनुसारको प्रदर्शन नहुँदा तथा सुजल श्रेष्ठ र विशाल राई लिगको बीचमा अस्ट्रेलिया पलायन हुँदा भुटानी रोनाल्डोको उपमा पाएका चेन्छो ग्याल्छेनलाई अनुबन्ध गरेको थियो ।

लिगका बाँकी चरणका खेलका लागि चैत तेस्रो साता मछिन्द्रका लागि सम्झौता गरेका ग्याल्छेन जम्माजम्मी ७ खेल खेल्दा गम्भीर चोटबाट ग्रसित बने । उनलाई मछिन्द्रले १० हजार अमेरिकी डलर खर्चेको हल्ला थियो । ग्याल्छेनसहित साफ कोटाबाट खेलेका भारतीय डिफेण्डर दयानन्द सिंह पनि चोटपछि आआफ्नो देश फर्किसकेका छन् । विमल घर्तीमगरले एंकल टर्न हुँदा खेल्न सकेका छैनन् । लगातारको खेल र आरामको समय हुँदा खेलाडीहरु विरामी हुने गरेको समस्या पनि उत्तिकै छ ।

१६औं चरणमा चर्च ब्वाइजसँग २–१ ले पराजित हुँदा मछिन्द्रका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठ विरामी भएर खेल्न सकेनन् । उनलाई उच्च ज्वरो आएको थियो । खेलपछि प्रशिक्षक किशोर केसीले लगातारको खेल तालिकाले नेपालको फुटबलमा दीर्घकालीन असर गर्ने दावी गरेका थिए ।

खेलको सेड्युल एक दिन बिराएरै छ । भोलि आराम हुन्छ, पर्सी ट्रेनिङ गरेर निपर्सी नै खेल्नुपर्छ । सधैं यस्तो भएपछि खेलाडीकम चोट बढिरहेको छ,’ उनले थपे, ‘छोटो प्रतियोगिता भए पनि कम्प्रोमाइज गरेर खेलौं भन्ने हुन्थ्यो । यसले निकै ठूलो जोखिम बढाएको छ ।’

एन्फाभन्दा क्लब शक्तिशाली !

एन्फाले पुस तेस्रो सातादेखि ए डिभिजन लिग सञ्चालन गर्ने गरी तयारी सुरु गरेको थियो । तयारी समय अपुग भएको भन्दै क्लबहरुले अस्वीकार गरे । माघ महिनामा सञ्चालन गर्ने प्रयास गर्दा तयारी खर्च नपाएको भनेर क्लबहरु मानेनन् । एन्फाले ए डिभिजन क्लबहरुलाई ३२ लाख ५० हजार रुपैयाँ तयारी खर्च दिने गरेको छ ।

क्लबहरुलाई खुसी पार्नतिर लाग्दा लिग १९ फागुनदेखि मात्र सुरु भयो । आर्थिक अभाव र पूर्ण प्रशासनिक तयारी बिना नै लिग सुरु गरेको एन्फाले प्रतियोगिताको प्रायोजकसम्म पाउन सकेको छैन ।

प्रतियोगिता निर्देशक सन्जीव मिश्र पछिल्लोपल्ट प्रस्तावित मितिदेखि लिग सञ्चालन गर्दा धेरै नै कठिन हुने, खेलाडीको इन्जुरी जोखिम बढी हुनसक्नेमा सचेत गराएको दावी गर्छन् । तर, क्लबहरु डवल लिग नै गर्ने र आफूहरुले भनेको समयमा गर्ने कुरामा टसको मस भएनन् ।

लिगको समयमा जति लम्बियो त्यति धेरै खर्च हुने आँकडामा मात्र क्लबहरु केन्द्रित हुँदा प्रतियोगितामा खेलाडीको जोखिम बढेको हो । छोटो समयमा धेरै खेल खेल्नुपर्ने क्लबहरुले पर्याप्त संख्यामा खेलाडी पनि राखेका छैनन् । ‘यस्तो प्रतियोगिताका लागि ४०/४५ जना खेलाडी हुने हो भने इन्जूरीको समस्याले नतिजामा असर नपार्न सक्छ । टिमहरुसँग खेलाडी पनि पर्याप्त भएनन्,’ एन्फाका प्रतियोगिता निर्देशक मिश्रका अनुसार अहिले क्लबहरुले बढीमा ३० जनासम्म खेलाडी दर्ता गरेका छन् ।

एन्फाका निर्णयहरुमा क्लबहरु हाबी रहनुको प्रमुख कारण निर्वाचनसम्म पुगेर जोडिन्छ । एन्फाको निर्वाचनमा ८७ मतदातामध्ये ए डिभिजनका १४ क्लबहरु लगभग निर्णायक बन्न सक्छन् । गत असारमा नयाँ कार्यसमिति निर्वाचित भएर आएको छ । निर्वाचनमार्फत आउने कमिटीले क्लबहरुलाई पूर्णतः बाइपास गर्न पनि सक्दैनन् । कडाइका साथ आफ्ना कार्यक्रम सञ्चालन गर्न यी क्लबहरु नै बाधकका रुपमा देखिन्छन् ।

नेपालका सबै ए डिभिजन क्लबहरु समुदायबाट सञ्चालित छन् । लामो समयदेखि उपत्यकाभित्रका क्लबहरु मात्र ए डिभिजनको मान्यतामा छन् । फुटबललाई विकेन्द्रीकरण गर्ने पुरानो र अहिलेको एन्फा नेतृत्वको लक्ष्य नारामा मात्र सीमित छ ।

‘एन्फाले आफूले सञ्चालन गर्ने सबै कार्यक्रममा सबै सरोकारवालालाई खुसी पार्न सम्भव हुँदैन । समग्र रुपमा फुटबलको हितका लागि बनेको नियमलाई कडाइका साथ लागू गर्न सक्नुपर्छ,’ तीन दशकदेखि एन्फामा कुनै न कुनै भूमिकामा रहेका मिश्र भन्छन्, ‘कोही रिसाउँछ, सहयोग गर्छ भन्ने हिसावमा जान थाल्यो भने कहिल्यै पनि सहि दिशा लिन सक्दैन ।’

प्रशिक्षक मेघराज केसी पनि एन्फाले वार्षिक क्यालेन्डर बनाएर कडाइका साथ लागू गर्न सकेमात्र प्रतियोगिता आयोजनाको हतारो कम हुनसक्ने बताउँछन् । तर, एन्फाले त्यसो गर्छ भनेर उनलाई विश्वास नै छैन । प्रतियोगिता निर्देशक मिश्रले वार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा सचिवालयलाई पठाइने गरेको दावी गरे ।

राष्ट्रिय टिमको प्रदर्शनमै असर

ए डिभिजन लिगको यो सिजन २७ जेठमा सकिनेछ । ३२ जेठमा नेपालले फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको ६ दिनपछि नेपालले भारतको बैंगलुरुमा १४औं साफ च्याम्पियनसिपको पहिलो खेल खेल्नेछ ।

राष्ट्रिय टिमका खेलाडीले यो जेठ महिनामा १० वटासम्म खेल खेल्नुपर्नेछ । लगातारको प्रशिक्षण र खेलबाट चोट नभएका खेलाडीमा पनि चर्को थकानको समस्या हुनेछ । साफ च्याम्पियनसिप असार ६ देखि १५ सम्म हुनेछ ।

फरवार्ड विमल, मिडफल्डर एरिक, डिफेण्डर विकासजस्ता क्षमतावान खेलाडी लिगका दौरान चोटग्रस्त हुनु आसन्न साफ च्याम्पियनसिपका लागि ठूलो झड्का हो । त्यसबाहेक खेलाडीहरुमा रिकभरी समय नहुँदा लगभग सबैजना थकानको मारमा छन् ।

एकैपल्ट धेरै खेलाडीको पलायनले राष्ट्रिय टिमको सन्तुलनमै असर परिरहेको समयमा हतारमा गरिएको लिगले भएका खेलाडीहरुलाई पनि कमजोर बनाइदिएपछि नेपाललाई साफ च्याम्पियनसिपको विरासत जोगाउने चुनौती बन्नेछ ।

२०७८ असोजमा माल्दिभ्समा सम्पन्न भएको १३औं साफमा नेपालले ऐतिहासिक फाइनल यात्रा तय गरेको थियो । त्यतिबेला फाइनलमा पुग्ने टिमका १० खेलाडी अहिले टिममा छैनन् । कम अनुभवी र युवा खेलाडीको बाहुल्य हुनु तथा एसियन कपको तयारीमा रहेका लेवनान र भारतजस्ता टिमसँग खेल्नुपर्ने हुँदा साफ च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न कठिन हुनेछ ।

‘साफ च्याम्पियनसिपमा असर नपार्ने गरी केहि समयका लागि लिग रोकेर पछि सञ्चालन गर्दा राम्रै हुने थियो,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भन्छन्, ‘त्यसबारे एन्फाले निर्णय लिन सक्दैन । लिग लामो हुँदा बढ्ने खर्चको जोखिम क्लबहरु पनि उठाउन सक्दैनन् ।’

ए डिभिजन लिगको नवप्रवेशी चर्चब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनसँग नेपालको सबै उमेसमूह तथा राष्ट्रिय टिम सम्हालेको अनुभव छ । उनी पनि यसरी व्यस्त तालिकाबीच लिग आयोजना गर्नुपर्दा भविष्यमा राष्ट्रिय टिमसम्मै पर्नसक्ने असरबारे सम्बन्धित निकाय चनाखो हुनुपर्ने बताउँछन् ।

‘आर्थिक संकट सबैलाई परेको छ । लिगको प्रायोजक छैन । धेरै क्लबहरुले प्रायोजक पाएका छैनन् । खर्च कटाउन क्लबहरु छिटोभन्दा छिटो प्रतियोगिता सक्न चाहन्छन् । तर, खेलाडीका लागि सोच्नुपर्ने निकाय गम्भीर भएको पाएनौं,’ अनलाइनखबरसँगको कुराकानीमा उनले थपे, ‘खेलाडीको पलायनले राष्ट्रिय टिममा पारेको असरलाई खेलाडीको चोटले झन् गम्भीर बनाउनेछ ।’

एन्फाका प्रतियोगिता निर्देशक सन्जीव मिश्र रिकभरी समय नपुग्दा यसपल्ट साफमा नेपालको प्रदर्शनमा असर पर्नसक्ने स्वीकार गर्छन् । ठूल अन्तर्राष्ट्रिय प्रतियोगिताको सन्मुखसम्म लिग सञ्चालन गर्ने निर्णय गरेको एन्फाले राष्ट्रिय टिमका खेलाडीको संरक्षणका लागि क्लबहरुलाई दबाव दिनसक्ने अवस्था पनि छैन । ‘क्लबहरुलाई यो वा त्यो खेलाडी नखेलाउनु भन्न मिल्दैन । उनीहरुले पोजिसनका लागि खेल्दा आफ्नो बेष्ट टिमबाट नतिजा खोज्नेछन्,’ मिश्रले भने ।

चोटबाट जोगिन एन्फा, क्लब र खेलाडी उत्तिकै चनाखो हुनुपर्छ

दशकदेखि नेपाली फुटबलमा स्पोर्टस फिजियोथेरापिष्टका रुपमा अनुभव लिएका सुरज भुसाल चोटको जोखिम न्यूनीकरणका लागि खेलाडीसहित सरोकारवाला सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँछन् ।

आफूलाई फिट राख्नेदेखि प्रतियोगिताअघिको तयारीमा खेलाडीले ध्यान दिनुपर्छ भने खेलाडीहरुलाई सहज हुने गरी खेलतालिका निर्धारण गर्ने जिम्मा सम्बन्धित फुटबल संघको हो । क्लबहरुले पनि टिममा पर्याप्त खेलाडी अनुबन्धन गरी खेलाडीको भार कम गर्न सकिन्छ ।

‘फिटनेस स्तर र इन्जुरी जोखिम भन्ने कुरा धेरै फराकिलो छ । यसलाई एउटा वा दुईवटा तत्वहरुले निर्भर गर्न सकिँदैन,’ राष्ट्रिय टिमको फिजियो रहिसकेका भुसालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘व्यस्त खेलतालिकाको पूर्वसूचना पाएपछि खेलाडीले प्रिसिजन फिटनेस तयारी गर्नुपर्ने हुन्छ । खानपान र जनजीवन अनुशासित बनाउनुपर्छ ।’

ए डिभिजन लिग उपत्यकाका तीन रंगशालामा सञ्चालित छ । तीनवटै मैदान फरक फरक विशेषताका छन् । सातदोवाटोको एन्फा मैदान कृतिम घाँस राखिएको छ । दशरथ रंगशालामात्र अन्तर्राष्ट्रियस्तरको प्राकृतिक घाँसे मैदान हो । च्यासल मैदान हालै निर्माण सम्पन्न भएको छ । लगातार खेल खेल्नुपर्ने बाध्यताका बीच फरक फरक मैदानले पनि खेलाडीमा चोटको जोखिम बढी हुने गरेको छ ।

‘फिफाको नियमअनुसार पनि दुई खेलबीचको समयान्तर कम्तिमा ४८ देखि ७२ घण्टा हुनुपर्छ । यहाँ त कुनै खेल २४ घण्टाको अन्तरमा खेलाइन्छ । खेलतालिका बनाउँदा मेडिकलका व्यक्तिहरुसँग समन्वयन गरिएको थाहा छैन,’ भुसालले भने, ‘खेलको तालिका जसरी राखिएको छ । त्यसले रिकभरी समय पुगेको छैन । १०–१२ दिनमा ५ वटासम्म खेल हुँदा खेलाडी धेरै थकानमा छन् ।’

यद्यपि न्यू मिडियाको पहुँचका कारण इन्जुरी र यसका विज्ञानबारे खेलाडीहरु स्वयम् पनि जानकार छन् । तर, करिअर र आर्थिक अभावका कारण खेलाडीहरु सामान्य चोटलाई पेलेरै खेलिरहेका हुन्छन् । यसले दीर्घकालीन चोट निम्त्याउने जोखिम रहन्छ ।

ए डिभिजन लिगको साविक विजेता मछिन्द्रका फिजियो भुसालका अनुसार सामान्य चोटमा खेलाडीहरु एक सातादेखि १० दिनसम्म आराम गर्नुपर्ने हुन्छ भने गम्भीर चोटमा तीन महिनादेखि १ वर्षसम्म उपचारमा समय लाग्छ ।

भुसाल भन्छन्, ‘सड्किने मड्किने जस्ता समस्यालाई सामान्य चोटका रुपमा बुझिन्छ । यस्तो चोटमा खेलाडीहरु एक दुई दिनदेखि एक सातासम्म मैदान बाहिरिने हुन्छ । ह्याम्स्ट्रि पूललाई पनि हामीले सामान्य चोटकै रुपमा लिन्छौं ।’

मांशपेशी च्यातिने, लिगामेन्ट च्यातिने, वा भाँच्चियो, फुट्यो र त्यसले गर्दा खेलाडीहरु तीन चार महिनासम्म आराममा रहनुपर्छ भने त्यसलाई गम्भीर चोट मानिन्छ । हामीले अहिले धेरै एसीएल, एमसीएल इन्जूरी सुन्ने गरेका छौं । लिगामेन्ट च्यातिएर सर्जरीमै जानुपर्ने छ भने ती चोटले एक वर्षसम्म पनि निको हुन समय लाग्ने हुन्छ,’ उनी चोटपछि पुनरागमनका लागि पनि खेलाडले अनुशासित रुपमा आफ्नो उपचार प्रक्रिया पूरा गर्नुपर्ने बताउँछन् ।

तस्वीर तथा भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?