+
+

‘प्रदूषण परीक्षण अनिवार्य भए पोखराका ८० प्रतिशत गाडी कारबाहीमा पर्छन्’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १७:१३

२ जेठ, पोखरा । ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शनिबार नमुनाका रुपमा २५ वटा गाडीको प्रदूषण परीक्षण ग¥यो । जसमा जम्मा ३ वटा गाडीले मात्रै परीक्षण पास गरे, बाँकी २३ वटा फेल ।

प्रदूषण परीक्षण फेल भएका गाडी निषेध भनिएको पोखरामा नमुनाका लागि जाँच गरिएकामध्ये ८० प्रतिशत गाडीले नै मापदण्ड पूरा नगरेपछि वातावरणीयसँगै जनस्वास्थ्यमा पारिरहेको असरमाथि गम्भीर प्रश्न उठेको छ ।

प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने सवारी साधनले ६५ स्मोक डेनसिटीभन्दा तलको अंकलाई पास मानिन्छ । पेट्रोलबाट चल्ने सवारीका लागि कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमसम्म मापदण्ड तोकिएको छ ।

०७६ भदौदेखि पहिलो पटक कास्कीमा गाडीको प्रदूषण परीक्षण थालिएको थियो । परीक्षण पास भइसकेपछि कालो नम्बर प्लेटका गाडीलाई ६ महिनाका लागि र रातो नम्बर प्लेटका लागि एक वर्षको म्यादसहितको हरियो स्टिकर दिइन्छ ।

गाडीको प्रदूषण परीक्षण गर्न ४ वर्ष भइसक्दा पनि हालसम्म पूर्ण रुपमा सबै गाडीको परीक्षण नगरिएको पाइएको छ । ट्याक्सी तथा काठमाडौं उपत्यका आउजाउ गर्ने गाडीले मात्रै आफूखुसी परीक्षण गर्ने त्यसबाहेक अन्य गाडीको प्रदूषण जाँच अनिवार्य नभएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

‘अहिले ट्याक्सी, साना गाडी र काठमाडौं जानुपर्ने गाडीले उनीहरुले आफैं भनेपछि मात्रै प्रदूषण जाँच हुन्छन् । बाँकी गाडीलाई अहिलेसम्म अनिवार्य गरिएको छैन,’ मन्त्रालयका सूचना अधिकारी टीकाराम पौडेलले भने ।

प्रदूषण परीक्ष गरेर हरियो स्टिकर टाँसेका गाडीको पनि पुनः जाँच गर्दा प्रदूषण परीक्षण फेल भएको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि मन्त्री रोशन जुग्जालीले यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा प्राविधिकलाई मन्त्रालयमै बोलाएर छलफल गरेका थिए ।

कर्मचारीले कार्यालयसँग मेसिन भए पनि हालसम्म अनिवार्य परीक्षण नभएको र अन्य यान्त्रिक परीक्षण गरिएपनि प्रदूषण जाँच भने नगरेको स्वीकारेका थिए । उनीहरुले कार्यालयमा ठाउँ अभाव भएका कारण पनि सबै गाडीको परीक्षण गर्न समस्या रहेको बिफ्रिङ गरेका थिए ।

‘जाँच अनिवार्य भए ८० प्रतिशत गाडी कारबाहीमा पर्छन्’

मन्त्रालयका कर्मचारी स्रोतका अनुसार पोखराका अधिकांश गाडी प्रदूषण मापदण्डविपरीत छन् । प्रदूषण परीक्षण अनिवार्य गरे पोखराका ८० प्रतिशतभन्दा बढी गाडी कारवाहीमा पर्ने उनीहरुको भनाइ छ ।

ती कर्मचारीका अनुसार परीक्षण अनिवार्य गर्दा एकैपटक ठूलो संख्यामा गाडी कारबाहीमा पर्ने भएकाले यातायात व्यवसायीबाटै लागू नगर्न दबाव सिर्जना भएको छ । मन्त्रालयका सूचना अधिकारी पौडेल पनि परीक्षण अनिवार्य नगर्दा पुराना र मर्मत नगरिएको सवारीसाधनले वायु प्रदूषण बढाएको स्वीकारे ।

‘परीक्षण अनिवार्य गर्‍यो भने प्रायः गाडी कारबाही पर्छन्, यसबारे हामी जानकार नै छौं,’ पौडेलले अनलाइनखबरसँग भने, ‘तर, अब भने विस्तारै अनिवार्य गर्ने तयारी गरिरहेका छौं । त्यसका लागि सरोकारवाला निकायसँग पनि छलफल गर्दैछौं ।’

मन्त्रालयले गाडीको प्रदूषण परीक्षण अनिवार्य गर्ने विषयमा बुधबार पोखराका सबै यातायात व्यवसायीसँग बैठक बस्दैछ । व्यवसायीसँग छलफल पछि प्रदूषण परीक्षण अनिवार्य गर्नेबारे निर्णय गर्ने मन्त्री जुग्जाली मगरले जानकारी दिए ।

‘यो जसरी पनि लागू हुनैपर्छ । तर, त्योभन्दा पहिले यातायात व्यवसायीको पनि पीरमर्का बुझौं, अनि त्यसपछि कहिलेदेखि लागू गर्ने एउटा टुंगोमा पुगिएला,’ मन्त्री जुग्जालीले भने, ‘जनताको स्वास्थ्यसँग गम्भीर असर गर्ने र पर्यटकीय क्षेत्र भएकाले नराम्रो सन्देश नदिन पनि प्रदूषण परीक्षण अनिवार्य लागू हुन्छ ।’

मन्त्रालयका सूचना अधिकारी पौडेलका अनुसार बेलामा सर्भिसिङ नगर्ने, एअरफिल्टर परिवर्तन नगर्ने र पुरानो गाडीले कालो धुवाँ फाल्दै आएका छन् । ‘प्रदूषण परीक्षण तत्कालै लागू गरियो भने एकैचोटि पोखराको सार्वजनिक यातायात ठप्प हुन जान्छ । त्यसैले केही व्यवसायीलाई आफ्नो गाडी मर्मत गर्ने समय दिएर हामी यो नियम लागू गर्ने योजनामा छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?