
२ जेठ, पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ । महाशाखाले मंगलबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो ।
महाशाखाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको कार्यतालिका थियो । तर, महानगरले मंगलबार नै सूचना निकालेर परीक्षा तथा अन्तर्वार्ता स्थगित गरेको हो ।
महानगरले डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, रेडियोग्राफर, आयुर्वेदका जानकार कविराजलगायत १४ पदमा ४७ जना माग गरेको थियो । उक्त पदमा ६ सय जनाभन्दा धेरैले दरखास्त दिएका थिए ।
महानगरले स्वास्थ्य महाशाखाअन्तर्गतका अस्पताल, स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्रका रिक्त पदमा विज्ञापन खुलाएको थियो ।
विज्ञापन सुरुबाटै विवादित !
संघ र प्रदेश सरकारको कानुनअनुसार करारमा कर्मचारी भर्ना गर्न रोकेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा पनि स्थानीय तहले नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ ।
त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरेको छ । तर, महानगरले ऐन विपरीत करार कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेदेखि नै आलोचना हुँदै आएको थियो ।
हाल पोखरा महानगरमा तत्कालिन मेयर कृष्ण थापा, मानबहादुर जिसीकै पालामा करारमा भर्ती भएका कर्मचारीको हालीमुहाली छ ।
३ सय जनाभन्दा बढीको संख्यामा करार कर्मचारी हुँदा व्यवस्थापन गर्नै हम्मेहम्मे छ । अहिले पनि उनीहरुको तलबमा करिब १९ करोड रुपैयाँ जाने गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले बर्सेनी करार कर्मचारीले खाएको तलबलाई बेरुजुमा देखाउँदै आएको छ ।
हेर्नुहोस् सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4