+
+

बाहिरियो रविन्द्रसिंह बानियाँको ‘डाकिनी’ लुक्स, शुक्रबार ६ हलमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १५:२५

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डाकिनी’ काठमाडौं र पोखराका सीमित हलमा मात्र रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले फिल्मलाई क्यूएफएक्सको काठमाडौंस्थित लबिम, छाया र सिभिल मलस्थित हलमा प्रदर्शन गर्ने जनाएको हो ।

साथै, यो फिल्म चावहिलस्थित एफक्यूब, सीतापाइलास्थित सीके सिनेमा र पोखराको मिडटाउन हलमा प्रदर्शन हुनेछ । ‘लक्षित दर्शकलाई पायक पर्ने उद्देश्यले हलहरु तय गरिएको हो,’ निर्माता रविन्द्रसिंह बानियाँले भने, ‘यो व्यावसायिक शैलीको फिल्म पनि होइन । पैसा कमाउने उद्देश्यले पनि बनाएको होइन ।’ नौ करोड लगानीमा निर्माण भएको भनिएको यो फिल्म बौद्ध धर्मको डाकिनी मिथकमा आधारित छ ।

यो फिल्म यसअघि ट्राइबेका, ओसाकासहित विश्वचर्चित महोत्सवमा प्रदर्शन भइसकेको छ । पनौती र पाटनमा छायांकन गरिएको यो फिल्मको प्रिमियर शुक्रबार बेलुका आयोजना गरिएको छ । प्रिमियरमा भाग लिन निर्देशक खिन्से नोर्बु काठमाडौं आउँदैछन् । निर्माता कम्पनी षट्कोणले फिल्म रिलिजसँगै आर्ट विकेन्ड पनि आयोजना गरेको छ ।

जसअनुसार शनिबार निर्देशक नोर्बुले मास्टरक्लास पनि सञ्चालन गर्नेछन् भने लिच्छवि हाउसमा नाटक र कला प्रदर्शनी पनि आयोजना गरिएको छ । यसैबीच, रिलिजको पूर्वसन्ध्यामा अभिनेता रविन्द्रसिंह बानियाँको डाकिनी लुक्स सार्वजनिक भएको छ । फिल्मभित्र उनी ट्रान्सुवमन (पारालैंगिक महिला)को भूमिकामा हुनेछन् । ‘ट्रान्सवुमन पनि डाकिनी हुन सक्छन् भन्ने उद्देश्यले यो पात्र तयार पारिएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?