+
+
फ्राइडे रिलिज :

हलमा लागे फास्ट एक्स, डाकिनी र ए साथी सुन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ११:३५

काठमाडौं । शुक्रबारदेखि नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । जसमा हलिउडको प्रतीक्षित ‘फास्ट एक्स’देखि दुई नेपाली फिल्महरु ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ र ‘ए साथी सुन’ छन् ।

लुइस लेटरियरद्वारा निर्देशित ‘फास्ट एक्स’मा स्टारहरुको भीड छ । विन डिजेल, मिसेल रोड्रिगेज, टायरस गिब्सन, जोन सिना, नाथली इमानुएल, सुङ काङ, ब्री लार्सन, रीटा मोरेनो, ज्यासन स्टाथम, जेसन मोमोआ र चार्लिज थेरोन शीर्ष भूमिकामा छन् ।

फिल्ममा डोम (विन डिजेल)ले आफ्नो टोली र परिवारलाई ड्रग्स मालिक हर्नान रेयेसका छोरा डान्टे रेयेस (मोमोआ)बाट जोगाउनुपर्छ, जसले आफ्नो बुबाको मृत्यु र आफ्नो परिवारको भाग्य गुमाएकोमा डोमविरुद्ध बदला लिन खोज्छ । समग्रमा यो बदलाको कथा वरपर फिल्म घुमेको छ । फिल्मको लम्बाइ १४१ मिनेट छ भने फिल्मलाई नेपाली सेन्सर बोर्डले पीजी प्रमाणपत्र (बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउने गरी अनुमति) दिएको छ ।

नेपाली फिल्म ‘डाकिनी’ काठमाडौं र पोखराका ६ मल्टिप्लेक्समा मात्र प्रदर्शनमा आएको छ । बौद्ध धर्मगुरु खिन्से नोर्बु निर्देशित यो फिल्म शुक्रबार बेलुकादेखि मात्र प्रदर्शन हुनेछ । छिरिङ तासी र तेन्जिङ कुन्सेलको शीर्ष भूमिका रहेको यो फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकार पनि छन् । फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ- तिमी अब जम्मा सात दिन बाँच्छौं । तर जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ । ११४ मिनेट लामो डाकिनीलाई नेपाली सेन्सर बोर्डले यु सर्टिफिकेट अर्थात् सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी अनुमति दिएको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको अर्को नेपाली फिल्म ‘ए साथी सुन’ पनि हलहरुमा रिलिज भएको छ । रामराघव आचार्य निर्देशित यो फिल्ममा वर्षा सिवाकोटी, रमेश बानियाँ र विमला गिरीको शीर्ष भूमिका छ । सुमन नेपाली र अमृता अर्याल नामक पात्र अन्तरजातीय प्रेम गरेर सहर छिर्छन् । सहरमा पुग्दा अमृताको अपहरण हुन्छ । अपहरण गरिएकी प्रेमिका खोज्न अमृतले संघर्ष गर्छ । यो फिल्मको लम्बाइ ९६ मिनेट छ । नेपाली सेन्सर बोर्डले यु सर्टिफिकेट अर्थात् सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?