+
+

मानवअधिकार आयोगले प्रहरीलाई सोध्यो : आङटावाको टाउको कसरी फुट्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २१:२०

५ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका बेला पूर्वसभासद् आङटावा शेर्पा कसरी घाइते भए भन्दै राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीलाई प्रश्न सोधेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असूली गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोप लागेपछि सोमबार शेर्पा आफैं जिल्ला प्रहरी परिसर, टेकु पुगेका थिए । त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।

हिरासतमा भएकै बेला उनी गम्भीर घाइते भएपछि प्रहरीले वीर अस्पताल लगेको थियो । प्रहरीले उनी शौचालय जाँदा लडेर घाइते भएको दाबी गरेको छ भने परिवारले प्रहरीले यातना दिएका कारण घाइते भएको बताएको छ । त्यहीबीच आयोगले यो प्रकरणमा चासो देखाएको हो ।

आयोगले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गर्दै यातनाका कारण घाइते भएको भन्दै परिवारले बताएको प्रति आफूहरुको ध्यानाकर्षण भएको बताएको छ । ‘पक्राउ पूर्जी समेत जारी नभएको अवस्थामा आफैं बुझ्न प्रहरी कार्यालय पुगेको व्यक्ति यसरी घाइते हुनु पछाडि के भएको हो ? जानकारी गराउनु होला’, आयोगको पत्रमा भनिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले शेर्पा अर्का एक जना हिरासतमा रहेका आरोपीसँगै शौचालय गएका बेला लडेको दाबी गरे । ‘उहाँ शौचालय जाँदा लड्नु भएपछि अस्पताल लगेका हौं’, कार्कीले अनलाइनखबरसँग भने, ‘त्यही अनुसारको जवाफ पठाउँछौं ।’

आङटावाका छोरा आङनिमा शर्पाले कानूनको सम्मान गर्दै आफैं प्रहरीमा पुगेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर यातना दिएपछि अन्य व्यक्तिहरु प्रहरी चौकी जानै डराउनुपर्ने स्थिति सिर्जना भएको बताए ।

‘उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको पनि भएको थिएन, म र ज्वाइँले लिएर गएका थियौं’, शेर्पाले अनलाइनखबरसँग भने, ‘यसरी गएको मान्छेलाई यातना दिएर जथाभावी बयान गराउन लगाएको छ । राति साढे २ बजे उहाँ घाइते हुनु भएको छ । लडेको मान्छेको टाउकोमा त्यति गहिरो र लाम्चो चोट कसरी हुन्छ ?’

जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार भएको बयानपछि उनलाई फेरि जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको थियो । स्वास्थ्य अवस्था नसुधारिएपछि उनलाई फेरि थापाथलीस्थित ब्लूक्रस अस्पताल भर्ना गरिएको थियो । अहिले पनि उनी पूर्णतः होसमा आइनसकेको छोरा आङनिमाले बताए ।

शेर्पा हाजिर हुनुअघिल्लो दिन उनको घरमा प्रहरीले छापा मारेको थियो । उनले रामछापका विभिन्न व्यक्तिसँग शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम उठाएको प्रहरीको दाबी छ । तर, हालसम्म उनीविरुद्ध जाहेरी परेको छैन ।

अधिकृतहरुका अनुसार प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम बयानमा नलिन भन्दै उनले हिरासतमा सानु भण्डारी र केशव दुलाललाई भेटेका समेत थिए । उनले खाँणले लिएको रकम आफूले फिर्ता दिने वचन समेत दिएको प्रहरी दाबी छ ।

प्रहरीले यो प्रकरणमा १२ चैत २०७९ मा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँथचरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङको पथरीशनिश्चरेका सागर राई पक्राउ गरेका थिए ।

उनीहरुको बयानका आधारमा १९ वैशाख २०८० मा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए । त्यसपछि यो प्रकरणमा हाई प्रोफाइल नेक्सस सतहमा आएको थियो । हालसम्म यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् ।

प्रहरीले पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, ठगी, कीर्ते लगायतका कसूरमा मुद्दा दर्ता गर्न रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?