+
+

हिरासतको झ्यालबाट कांग्रेस नेतासँग पूर्वगृहमन्त्री खाँणको संवाद

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २१:५५

५ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असूली गरेको गिरोहसँग साँठगाँठ देखिएको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँण अहिले प्रहरी नियन्त्रणमा छन् ।

जिल्ला प्रहरी परिसर, टेकुले उनलाई अन्य अपराधका आरोपीहरुसँगै नियमित हिरासतमा त राखेको छैन । तर, पहिले डीएसपीहरु बस्ने कोठा खाली गराएर प्रहरीले उनलाई बन्द कोठाभित्र राखेको छ ।

यिनै गृहमन्त्री खाँणलाई भेट्न शुक्रबार अपराह्न कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्मा, नेतृ लक्ष्मी परियारलगायत जिल्ला प्रहरी परिसर, टेकु पुगे । प्रहरीले दुवै जनाको नाम अभियुक्तलाई भेट्न आउनेको नाम भएको पुस्तिकामा टिप्यो र उच्च अधिकृतहरुसँग भेटघाटका लागि अनुमति माग्यो ।

प्रहरी अधिकृतहरुले ‘पूर्वगृहमन्त्रीज्यूलाई भेट्न माननीयज्यूहरु आउनु भएको छ’ भन्दै उच्च अधिकृतहरुलाई बताए । त्यसपछि अन्यलाई झैँ झ्यालबाट भेटघाट गर्न दिन अनुमति दिइयो । त्यसअनुसार खाँणलाई राखिएको कोठाको झ्याल खुल्यो । अन्य व्यक्तिहरुलाई झैँ एक मिनेट कुरा गर्न दिइयो ।

स्रोतका अनुसार भेटका क्रममा खाँणले आफूलाई देशी, विदेशी शक्तिले चलखेल गरेर षडयन्त्रपूर्वक तरिकाले फसाएको दाबी गरे । उनले प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै अदालतबाट न्याय पाउने बताए ।

विश्वकर्मासहित भेट्न गएकाहरूले ‘बसाइ र खाना कस्तो छ ? बाहिरबाट ल्याउनु पर्छ कि’ भन्दै प्रश्न गरे । खाँणले ‘अरु सबै ठिक भएको’ बताए । त्यति कुरा हुँदा प्रहरीले भेट्ने समय सकिएको संकेत गरे । खाँणलाई प्रहरीले २७ वैशाखमा पक्राउ गरेको थियो ।

उनी गृहमन्त्री हुँदा सचिव रहेका टेकनारायण पाण्डेको बयानका आधारमा उनलाई प्रहरीले घरबाट पक्राउ गरेको थियो । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?