+
+

गणतन्त्र दिवसमा खुल्नेछ रत्न मन्दिरको रहस्य

११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालिन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० जेठ ६ गते १९:५०

५ जेठ, पोखरा । २०६२/०६३ को जनआन्दोलनले राजा फालेर गणतन्त्र ल्याइसकेपछि पनि पोखराको ‘राजदरबार’ मानिने रत्नमन्दिर रहस्यमै छ ।

तत्कालिन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनावमुक्त भएर बास बस्ने ठाउँको परिकल्पना गरे र ५ वर्षपछि २०१५ सालमा त्यसलाई पूर्णता दिए । कान्छी रानी रत्नको नामबाट महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको त्यो बंगलाको नाम दिए, रत्नमन्दिर ।

रत्नमन्दिरबारे विभिन्न किस्सा सुनेका धेरै पोखरेलीलाई अझै पनि यो किम्बदन्ती जस्तो लाग्छ । नारायणहिटी राजदरबार नै संग्रहालय भइसकेको लामो समयसम्म पनि रत्नमन्दिरभित्र के छन् तत्कालिन राजाको विलासिताको ठाउँ कस्तो छ ? उनले प्रयोग गर्ने सामानदेखि गीत, नाटक प्रस्तुत हुने चौर र संरचना केके छन् ? भन्नेसमेत सामान्य नागरिकले देख्न पाएका छैनन् ।

महेन्द्रपछि वीरेन्द्र र ज्ञानेन्द्रको पनि रोज्जा ठाउँ पोखरा नै थियो । वीरेन्द्रको वंशनास हुँदा ज्ञानेन्द्र शाह रत्नमन्दिरमै थिए । ज्ञानेन्द्रले २०५८ जेठ १९ को रात बिताइरहेका थिए । महेन्द्रको प्रिय पात्रसमेत रहेको तत्कालिन अञ्चलाधीश शंकरराज पाठकका अनुसार राजाहरु केही निर्णय लिनुपूर्व वा कुनै तनावबाट मुक्त हुनु परे रत्नमन्दिर आउँथे ।

फेवा किनारमा चिटिक्कको दरबार, त्यसको वरिपरि रहेका फराकिलो चौर, राजपरिवारले गर्ने छुट्टै बोटदेखि कलाकार बोलाएर गाउने, बजाउनेदेखि नाटक मञ्चन र गम्भीर छलफल हुने गर्थे ।

राजाहरुको आउजाउ त्यतिबेला टुट्यो, जतिबेला राज संस्थाको सम्बन्ध जनतासँग टुट्यो । ज्ञानेन्द्र शाह नै रत्नमन्दिरमा रमाउने अन्तिम राजा बने ।

२०६२/०६३ को जनआन्दोलनपछि राजसंस्थाको अन्त्य भयो र २०६४ साल असोज २१ गतेको मन्त्रिपरिषदको निर्णयले रत्नमन्दिरलाई पनि नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गर्‍यो । तर रत्नमन्दिरभित्र कस्तो छ भन्ने जनताले देख्न पाएनन्, केबल नेताहरुको आश्वासन र चर्चा कमाउने बाटोमात्रै बन्दै आयो ।

अब भने त्यही रत्नमन्दिर सधैंका लागि जनताले हेर्न र घुम्न पाउने भएका छन् ।

अहिलेसम्म रहस्यमै रहेको रत्नमन्दिर गणतन्त्र दिवसका दिन पारेर जेठ १५ गते जनताका लागि खुला गर्ने तयारी भइरहेको छ । कास्कीबाटै पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीदेखि अहिलेसम्मका हरेक पोखरा आउने हरेक मन्त्री र प्रधानमन्त्रीले समेत रत्नमन्दिर खुला गर्ने बताउँदै आएका थिए । तर त्यो चर्चामै सेलाउने गरेको थियो ।

ट्रस्टले ३०७३ वैशाख ८ गतेदेखि सर्वसाधारका लागि खुला गर्ने निर्णय गर्दै मर्मत, थप पूर्वाधार निर्माण र टिकट छपाइको कामसमेत सुरु गरेको त्यो बेलै बताइएको थियो ।

२०७६ असारमा पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री भएका बेला रत्नमन्दिर खोल्ने वाचा गरेर पनि पूरा भएको थिएन । अहिले प्रचण्ड नै प्रधानमन्त्री भएका बेला रत्नमन्दिर खोल्ने निर्णय भएर अहिले मर्मत तथा रङरोगन गरेर चिटिक्क पार्ने काम भइरहेको नेपाल ट्रस्टको बोर्ड सदस्य योङजोम शेर्पाले बताइन् ।

यसअघि रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाल ट्रस्ट अहिले पर्यटन मन्त्रालय अन्तर्गत आएको छ ।

प्रधानमन्त्रीले कुनै मन्त्रीलाई यसको अध्यक्ष बनाउन सक्ने व्यवस्थाअनुसार आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीलाई प्रचण्डले अध्यक्ष बनाएका छन् । सुदन किराती २६ चैतमा पोखरा आएका बेला रत्न मन्दिरको अवलोकन गरी सधैंका लागि खुला गर्ने बताएका थिए । उनले त अझै रत्न मन्दिर र फेवा किनारमा रहेको हिमागृह नयाँ वर्षमै खोल्ने बताएका थिए ।

तर तयारी नपुगेको भन्दै त्यो बेला खुल्न नसके पनि अहिले गणतन्त्र दिवसका अवसरमा रत्नमन्दिर मात्र खुला गर्ने निर्णय भएर तयारी भइरहेको सदस्य योङजोमले जानकारी दिइन् ।

रत्नमन्दिर जनताका लागि खुला गर्न पर्यटनमन्त्री किराती आफैं पोखरा आउँदै छन् । हिमागृह अहिल्यै खुल्ने छैन भने मर्मत गर्नुपर्ने काम बाँकी नै रहेकाले रत्नमन्दिर ‘दरबार’ भित्र तत्कालिन राजपरिवारले प्रयोग गर्ने कोठादेखि सरसामान भने अझै नागरिकले हेर्न नपाउने भएका छन् । तर त्यसको जानकारी दिने भिडियो सामग्री भने बाहिरै राखिने र अन्य सबै ठाउँ खुला गर्ने तयारी भइरहेको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

गणतन्त्र दिवसमा रत्नमन्दिर खुला गर्न संघीय पर्यटनमन्त्रीकै अग्रसरतामा पोखराका मेयर धनराजसँगै पर्यटन व्यवसायीहरु पनि लागिरहेका छन् । यसअघि कहिले संग्रहालय बनाएर जनतालाई खुलाउने, कहिले ५ तारे होटल बनाउने त कहिले सरकारी आवास बनाउने बहस र चर्चामा हुँदै आएको थियो ।

पाँचतारे होटल चलाउने गरी सरकारले निजी क्षेत्रलाई दिन लागेको भन्दै पोखरामा आन्दोलन नै भएको थियो भने गण्डकी प्रदेश सरकारले निजी क्षेत्रलाई भाडामा दिन अध्ययन नै गरेको थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले रत्न मन्दिर प्रदेशलाई दिन माग गर्दै प्रयोगबारे कार्यदल बनाएर अध्ययनै गरेको थियो ।

अहिले नेपाल ट्रस्टले सञ्चालन कार्यविधि तयार पारिसकेको छ भने १०० रुपैयाँको टिकट काटेर जनताले हेर्न पाउने गरी खुला गर्न लागिएको छ । अहिले दरबारको भुइँतला मात्रै नागरिकले हेर्न पाउने गरी खुला गर्न छलफल भएको छ । रत्नमन्दिरलाई पुरानै शैलीमै मर्मत र रङरोगन गरेर देखाउन लागिएको सदस्य योङजोमले बताइन् ।

‘कसैले काठमाडौंको दरबारको कुरा त कसैले ड्रिम्स अफ गार्डेनको कुरा गर्नुहुन्छ,’ उनले भनिन्, ‘त्यता नगई जस्तो छ त्यस्तै राखेर व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्य छ ।’

रत्नमन्दिरबाट देखिने फेवाताल ।

पोखराका मेयर आचार्य पनि विगतमा राजपरिवारबाट कसरी प्रयोग भएको थियो भन्ने जानकारीसहित नागरिकका लागि खुला हुनु पोखराका निम्ति ऐतिहासिक भएको बताए ।

पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने र कम्तीमा पनि १ दिन बसाईं लम्बिने विश्वास व्यक्ति गर्छन् ।

अर्का व्यवसायी सञ्जयकान्त सिग्देलले ‘रिल्याक्स’ गर्नमात्रै नभएर तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका नागरिकसँग नजिक हुन पनि रत्नमन्दिर राजाहरुले प्रयोग गरेको बताउँछन् । नेपाली तथा विदेशी पाहुनाका लागि पनि राजाहरुको पोखरा बसाईं कस्तो हुन्थ्यो भनेर हेर्ने गन्तव्यका रुपमा रत्नमन्दिर विकास हुने बताए ।

११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालिन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् ।

हेर्नुहोस् रत्नमन्दिरको भिडियो 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?