+
+
Shares

पहिलो पटक श्रवण क्षमता कम भएका व्यक्तिलाई ट्रेकिङ गाइड तालिम

पहिलो चरणमा ७ सातासम्म सञ्चालन हुने यस तालिममा देशभरिका २५ युवा (१८ पुरुष र ७ महिला) सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो पटक श्रवण क्षमता कम भएका व्यक्तिका लागि ७ सातासम्मको ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ।
  • तालिममा २५ जना युवा सहभागी छन् जसलाई व्यावसायिक ट्रेकिङ गाइड बनाउन पर्वतीय सुरक्षा र सांकेतिक भाषामा प्रशिक्षण दिइँदैछ।
  • नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सञ्चालन भएको यो पहलले समावेशी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

१८ कात्तिक, काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलो पटक श्रवण क्षमता कम भएका व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्य र सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल (एनडीएफएन) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले संयुक्त रूपमा यो तालिम सञ्चालन गरेका हुन् ।

यो तालिम नेपालमा समावेशी पर्यटन विकासका लागि ‘टर्निङ प्वाइन्ट’ का रूपमा हेरिएको छ । पहिलो चरणमा ७ सातासम्म सञ्चालन हुने यस तालिममा देशभरिका २५ युवा (१८ पुरुष र ७ महिला) सहभागी छन् ।

उनीहरूलाई व्यावसायिक ट्रेकिङ गाइडका रूपमा दक्ष बनाउँदै रोजगारी, आत्मनिर्भरता र समावेशी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

तालिममा सहभागीले पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि स्वागत, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, वाइल्डलाइफ, संकट व्यवस्थापन र नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता जस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्नेछन् । तालिम पूर्णरूपमा सांकेतिक भाषामार्फत सञ्चालन गरिएको छ, जसले सिकाइलाई सहज र सबैका लागि पहुँचयोग्य बनाउन मद्दत गर्ने छ ।

यो पहल समावेशी पर्यटनको दीर्घकालीन रणनीतिक यात्रा भएको बोर्डले जनाएको छ । यूएनडीपी र बोर्डको संयुक्त कार्यक्रम एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले भने, ‘पर्यटन केवल आर्थिक क्षेत्र होइन, सामाजिक समानता र अवसर विस्तारको माध्यम पनि हो, हरेक नागरिकले पर्यटनबाट फाइदा लिन पाउनु नेपालको दिगो विकासको आधार हो ।’

उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का तथ्यांक उद्धृत गर्दै हाल विश्वभरि करिब ४३ करोड मानिस सुन्ने क्षमतामा गम्भीर समस्या भएका रहेको उल्लेख गरेका छन् ।

‘तीमध्ये ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन्, उनीहरूका लागि यस्तो पहल अन्तर्राष्ट्रिय स्तरमा समावेशी पर्यटनको उत्कृष्ट नमुना बन्न सक्ने र पर्यटनका विविध आयाममा श्रमशक्ति कम भएका व्यक्तिले पर्यटन विकासमा योगदानको अवसर प्राप्त गर्नेछन्,’ उनले भने, ‘यो पहलले फरक क्षमता भएका समुदायका लागि नेपालको पर्यटन खुला बनाउने छ ।’

उद्घाटन कार्यक्रममा वक्ताहरूले यस तालिमलाई नेपालको पर्यटन इतिहासमा नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरे । उनीहरूले दृष्टिविहीन, शारीरिक अपांगता भएका र अन्य विशेष आवश्यकता भएका व्यक्तिका लागि पनि यस्ता सिप विकास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए ।

नाथमका विभागीय प्रमुख ज्ञानेन्द्रराज पण्डितले तालिमको महत्वबारे बताए । ‘नाथम र सस्टेनेबल टुरिज्म प्रोजेक्टको सहकार्यमा अघि बढाएको यो कार्यक्रमले नेपालको पर्यटन शिक्षामा समावेशी दृष्टिकोण स्थापित गरेको छ,’ उनले भने ।

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो तालिमले नेपाली पर्यटनमा नयाँ सम्भावना देखाएको उल्लेख गरे ।

‘हामी विश्वास गर्छौं, बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्छन्,’ उनले भने, ‘आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिँदै समावेशी पर्यटनलाई देशव्यापी अभियान बनाउने हाम्रो योजना छ ।’

नाथमका प्राध्यापक अजयकुमार ढकालले समावेशीतालाई पर्यटनको मूल आधारका रूपमा लिनुपर्ने बताए । त्यस्तै नाथमका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले यो तालिमले सोच र सिपमा रूपान्तरण ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?