+
+

बागमती प्रदेश खेलकुद आजदेखि, १३ खेलका २५ सय खेलाडी प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १२:४०

७ जेठ, काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदको आयोजना दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्य प्रदेशका खेलकुद निकायको तुलना अग्रणी देखिएको बागमतीले अघिल्लो संस्करणको तुलनामा ५ खेल थपेको हो । नवनिर्मित पिप्ले क्याम्पा रंगशालामा प्रदेश मुख्यमन्त्री शालीकराम जमकट्टेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ तथा गत वर्ष असोज–कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश टिमले हासिल गरेको सफलताका आधारमा खेलको प्रतिस्पर्धा थपिएको बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले अनलाइनखबरलाई बताए ।

दोस्रो संस्करणमा फुटबल, रग्वी, तेक्वान्दो, कराते, आईटीएफ तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, एथलेटिक्स, भलिबल, क्रिकेट, जुडो, उसु र क्रिकेट समावेश गरिएको छ । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी ७९४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेश खेलकुद परिषदका निमित्त कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार यो संस्करणमा १४ सय २७ पुरुष र १०७५ महिला गरी २५०२ खेलाडीको सहभागिता रहनेछ । प्रदेश सरकारबाट विनयोजित ९ करोड ३२ लाख बजेटमा यो प्रतियोगिता आयोजना हुँदैछ ।

एक दुई खेलबाहेक सबैमा प्रदेशका १३ वटै जिल्लाका टिमको सहभागिता रहेको उनले जानकारी दिए । अफिसियल, उपसमिति सदस्य र ६०० स्वयमसेवकसमेत गरी यो प्रतियोगितामा ५ हजारबढीको सहभागिता रहनेछ ।

बागमती प्रदेशले फागुन, २०७८ मा पहिलो संस्करण आयोजना गर्दा ८ खेल समावेश गरिएको थियो । प्रदेश खेल नीतिअनुसार ९ खेललाई प्राथिमकतामा राखिए पनि पौडी खेलको टिम पर्याप्त नभएपछि सञ्चालन गरिएको थिएन । यसपल्ट पौडीसहित क्रिकेट, जुडो, उसु र आईटीएफ तेक्वान्दो थपिएको हो ।

नवौं राष्ट्रिय खेलकुदमा ४ स्वर्णसहित उल्लेखनीय प्रदर्शन गरेको फेन्सिङ खेललाई भने यसपल्ट समावेश गरिएको छैन । सबै जिल्लाबाट सहभागिता गराउन सम्भव नभएको र एउटा जिल्लाबाट मात्र प्रतिस्पर्धा गराउँदा राम्रो नदेखिने भएकाले अर्को संस्करणका लागि योजनामा राखिएको सदस्यसचिव भण्डारीले बताए । ‘प्रतियोगितामा समावेश गर्नुपूर्व प्रदेशभर यो खेलको विस्तार र प्रचार आवश्यक देखियो । त्यसैले हामी यसको प्रशिक्षण दायरा बढाउने र छुट्टै प्रतियोगिता सन्चालन गर्ने योजनामा छौं,’ उनले भने ।

१३ जेठसम्म चल्ने प्रदेश खेलकुदअन्तर्गत ९ खेलको प्रतिस्पर्धा मकवानपुरमा हुनेछ । क्रिकेट चितवन, पौडी ललितपुर तथा उसु र जुडो काठमाडौंमा हुनेछन् ।

मुख्य खेलस्थलका रुपमा रहने पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल, रग्वी र एथलेटिक्स खेल हुनेछ । हुप्राचौर मैदानमा तेक्वान्दो, कराते, आईटीएफ तेक्वान्दो र भलिबलका स्पर्धा सन्चालन गरिनेछ । महिला फुटबल गौरिटारस्थित निर्माणाधीन रंगशालामा हुनेछ । सुरुमा राखेप तथा पछि बागमती प्रदेश सरकारको बजेटबाट बन्दै गरेको गौरिटार रंगशालामा पहिलोपल्ट प्रतिस्पर्धात्मक खेल गतिविधि हुन लागेको हो ।

बक्सिङ खेल हेटौंडाको पारिजात पथस्थित कभर्डहल तथा ब्याडमिन्टन खेल राप्ती पारी थानाभर्याङ कभर्डहलमा हुनेछन् । क्रिकेट खेलको प्रतिस्पर्धा चितवनको भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा हुनेछ । सातदोवाटोस्थित पौडी पोखरीमा पौडी, राखेप ओलम्पियन सेमि कभर्डहलमा उसु तथा नयाँबजार बहुउद्देश्यीय मासंल आर्ट सेन्टरमा जुडो खेल हुनेछ ।

बागमती प्रदेशले हरेक वर्ष प्रतियोगिता आयोजना गरी खेलाडीको परीक्षण गर्ने र उनीहरुलाई केन्द्रीयस्तरका लागि तयार पार्ने उद्देश्य लिएको छ । सदस्यसचिव भण्डारीले आफ्नो कार्यकालको सुरुदेखि नै प्रशिक्षण र प्रतियोगितामा केन्द्रित गरी योजना बनाएको बताउँछन् ।

‘एकेडेमिक कोर्षहरुमा जसरी हरेक वर्ष परीक्षा दिनुपर्छ, त्यसरी नै खेलाडीहरुले पनि हरेक वर्ष आफ्नो परीक्षण गर्न पाए भने आफ्नो स्तर थाहा पाउन सहज हुन्छ,’ उनले थपे, ‘खेलाडी पहिलादेखि नै तयार भएर बस्छन् । नयाँ प्रतिभाले आफूलाई परीक्षण गर्न पाएनन् भने पलायनको जोखिम बढी हुन्छ ।’

उनले खेलाडी पहिचान गरी उनीहरुको क्षमता विकासका लागि योजना बनाउन सरकारलाई पनि सजिलो हुने दावी गरे ।

‘स्थानीय तहलाई जागरुक गराउने, प्रदेश चलायमान बनाउने र केन्द्रीय स्तरमा खेलाडी आपूर्ति गर्ने नीतिअनुसार नै कार्यक्रमहरु सन्चालन गरिरहेका छौं,’ उनले थपे ।

यस्तो छ खेलतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?