+
+

३३ वर्षमै सुके विश्वका आधा ताल, २ अर्ब मानिस जलसंकटमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १७:४७

सन् १९९० यता विश्वका रहेका तालहरुमध्ये आधा भन्दा धेरै ठूला तालहरु सुकेका छन् । केही तालहरु अहिलेपनि सुकिरहेका छन् । केवल तालमात्र होइन अन्य ठूला जलश्रोतहरु पनि तिव्र गतिमा सुक्दै गएका छन् ।

बढ्दो तापमान र जलवायु परिवर्तनका कारण यस्तो भैरहेको छ । जलश्रोतहरु भयानक ढंगले सुक्दै जाँदा विश्वका धेरै क्षेत्रहरुमा पानीको समस्या बढिरहेको छ । खेतीपाती तथा जलविद्युतका लागि पानीको अभाव हुन थालेको छ ।

वैज्ञानिकहरुले गरेको एक अध्ययनले पछिल्लो ३३ वर्षमा विश्वका ५३ प्रतिशत ठूला तालहरु सुकिसकेको देखाएको हो ।

अध्ययनले युरोप तथा एसियाको बीचमा रहेको क्यास्पियन सागर तथा दक्षिण अमेरिकाको टिटिकाका तालमा समेत तिव्र गतिमा पानी सुुकिरहेको देखाएको छ । यी तालहरुले वार्षिक २२ गिगाटनको दरले पानी गुमाइरहेका छन् । यस्तो क्रम पछिल्लो ३ दशकदेखि चलिरहेको छ ।

World's Lakes Drying Up

२२ गिगाटन भनेको अमेरिकाको सबैभन्दा ठूलो जलश्रोतको रुपमा रहेको लेक मिडबाट जति पानी आउँछ त्यसको १७ गुणा धेरै हो ।

युनिभर्सिटी अफ भर्जिनियाका सतही जलविज्ञानविद फेंगफेंग याओ नेतृत्वको टिमले गरेको यो अध्ययन साइन्स जर्नलमा छापिएको छ । शोधकर्ताहरुले विश्वका २ हजार भन्दा धेरै ठूला तालहरुको अध्ययन गरेर निष्कर्ष निकालेका हुन् ।

शोधकर्ताका अनुसार बढ्दो तापक्रकमा कारण मध्य एसियाको अरल सागर, मध्यपूर्वको मृतसागर, अफगानिस्तान, इजिप्ट तथा मंगोलिया लगायतका क्षेत्रमा रहेका तालहरुको जलभरण क्षेत्र उच्च गतिमा क्षयीकृत भैरहेको छ ।

World's Lakes Drying Up

उक्त शोधमा उल्लेख भए अनुसार पृथ्वीका प्राकृतिक तालहरुको जलस्तर तथा श्रोतमा ५६ प्रतिशतको गिरावट आएको छ । पानीमा आएको कमीको सबैभन्दा ठूलो कारण चाहीँ मानिसले गरेको अत्यधिक खपत तथा जलवायु परिवर्तनसँगै भएको उष्णिकरण हो । तापक्रम बढ्दा पानीको क्षयीकरण तिव्र बन्दछ । विश्वमा बढिरहेको तापक्रम जलश्रोतका लागि निकै नोक्सानदायक बनिरेको छ ।

शोधकर्ता याओका अनुसार आमरुपमा वैज्ञानिकहरुको सोँचाई के थियो भने जलवायु परिवर्तनका कारण सुख्खा क्षेत्रहरु झनै सुख्खा हुँदै गएको र ओसिला क्षेत्रहरुमा पानीको मात्रा झनै बढेको । तर वास्तविकता फरक छ । अब उच्च आद्रता भएका ओसिला क्षेत्रहरु समेत सुक्दै गएका छन् र त्यसलाई नजरअन्दाज गर्न नसकिने अवस्था छ ।

मानिसद्धारा पानीको अत्यधिक खपत, वर्षाको ढाँचामा भएको परिवर्तन वा अनावृष्टि, माटोको भरिँदै जानु तथा बढ्दो तापमानका कारण विश्वभरका तालहरुको जलस्तरमा कमी आएको उक्त अध्ययनबाट पत्ता लागेको छ । सन् १९९० देखि २०२० सम्ममा विश्वका ५३ प्रतिशत तालको जलस्तर निकै घटेको छ वा पुर्ण रुपमा सुकिसकेका छन् ।

World's Lakes Drying Up

तालहरु सुकेसँगै त्यस आसपास बस्ने २ अर्ब मानिसहरु पानीको अभावसँग संघर्ष गरिरहनु परेको छ । तालको पानीमा आश्रित मानिसहरुको अवस्था पछिल्ला वर्षहरुमा झनै दर्दनाक बन्दै गएको शोधकर्ताहरुको भनाई छ ।

आउँदो चार वर्षमै तापक्रम वृद्धि १.५ डिग्री पुग्ने

वैज्ञानिकहरु यो सताब्दीको अन्त्यसम्ममा विश्वको औषत तापमानको वृद्धि औद्योगिक क्रान्तिको अगाडिभन्दा १.५ सेल्सियसमै सिमित राख्नुपर्ने बताउँदै आएका छन् । तर आगामी ४ वर्ष अर्थात् सन् २०२७ भन्दा अगाडि नै विश्वको तापमान वृद्धि १.५ डिग्री पुग्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ ।

World's Lakes Drying Up

पछिल्लो ३० वर्षको औषत वैश्विक तापमानको आधारमा संगठनले सन् २०२७ सम्ममा विश्वको तापक्रम १.५ प्रतिशतले बढ्ने सम्भावना ६६ प्रतिशत रहेको प्रक्षेपण गरेको हो । जस अनुसार आगामी ५ वर्षमा किर्तिमानी गर्मी हुने सम्भावना ९८ प्रतिशत छ । यसले बेमौसमी वर्षा, अचानक बाढी आउने, सुख्खा खडेरी, धुलोयुक्त आँधी, समुद्री जलस्तर बढ्ने लगायतका विपदहरु ल्याउनेछ ।

वैज्ञानिकहरुका अनुसार यदि यो १.५ प्रतिशत नाघ्यो भने त्यसले पूरै विश्वमा सुख्खापनको अवस्था ल्याउने चेतावनी वैज्ञानिकहरुको छ । यति ताल लगायतका जलश्रोतहरु सबै सुक्दै जाने हो भने त्यसले वायुमण्डलमा पनि आद्रतामा कमी हुनेछ । जसले तापक्रम झनै बढाउनुका साथै वर्षात्को ढाँचामा अनपेक्षित परिवर्तन ल्याउनेछ । एजेन्सीको सहयोगमा

World's Lakes Drying Up

World's Lakes Drying Up

World's Lakes Drying Up

World's Lakes Drying Up

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?