+
+

जस्तोसुकै कठिन अवस्थामा पनि राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनुपर्छ : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १४:४६

९ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने माग राखेका हुन् । उनले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउन जरुरी रहेको बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिए । त्यसैगरी काठमाडौं हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र जसका लागि बजेट विनियोजन गर्नुपर्ने उनले जोड दिए ।

‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिए पनि केही राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडि बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेघावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ’ उनले भने । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै संकलन गरिसकेको भन्दै उनले त्यसका लागि छुट्टै रकम खोजिरहनु नपर्ने बताए ।

उनले अगाडि भने, ‘राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सितापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रुपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डीपीआर निर्माण गर्ने प्रश्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रश्ताव राख्न चाहन्छु ।’

उनले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरुलाई समेटेर जाँदा राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?