+
+

क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १४:५८

९ जेठ, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।

नेपाल टिमले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ ।

नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ ।

प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ ।

नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ ।

विश्वकप छनोटको समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

समूह बी तुलनात्मक रुपमा सहज देखिन्छ । किनभने आईसीसीको वर्गीकरणअनुसार उपल्लो प्रतियोगिता सुपर लिग खेलेका दुई टिममात्र यो समूहमा छन् । श्रीलंका र आयरल्याण्ड सुपर लिगबाट आएका हुन् भने लिग टूको उपाधि विजेता स्कटल्याण्ड र उपविजेता ओमानले यो समूहबाट खेल्नेछन् ।

२ चैतमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा शीर्ष तीनमा रहेर नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको हो ।

लिग टूमा नेपालभन्दा माथि रहेका ओमान र स्कटल्याण्ड भने समूह बीमा परेका छन् । आईसीसी सुपर लिगमा शीर्ष ८ मा परेका टिम भारतमा अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि सिधा छनोट भएका थिए ।

पुछारका पाँच टिम, लिग टूका शीर्ष ३ तथा विश्वकप छनोट प्लेअफबाट आएका २ टिम गरी १० टिमले विश्वकप छनोट खेल्न लागेका हुन् ।

नेपाल रहेको समूह ए मा सुपर लिगमा अन्तिम पाँचभित्र परेका वेष्ट इण्डिज, जिम्म्बावे र नेदरल्याण्ड्स छन् । अमेरिका प्लेअफबाट छानिएको टिम हो । लिग टूमा शीर्ष तीनमा पर्न नसकेका चार टिमले अघिल्लो महिना नामिवियामा क्यानडा र जर्सीसमेत सम्मिलित प्लेअफ क्वालिफायर खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?