+
+

काभा वुमन्स भलिबल : नेपालले आज भारतको सामना गर्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ १० गते ७:२४

१० जेठ, काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो टोली भारतको सामना गर्दैछ ।

समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।

समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ ।

नेपालले महिला भलिबलमा अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागको फाइनलमा नेपाल भारत विरुद्ध जित नजिक पुगेर पनि चुकेको थियो ।

नेपालले भारतलाई दुई सेटमा हराए पनि निर्णायक सेटमा चुक्दा भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

त्यसैले यस पटक घरेलु कोर्टमा नेपाल सामु भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बदला लिने अवसर समेत छ ।

साग फाइनलमा नेपालले पहिलो सेट २५-१७ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमश: २५-२३ र २५-२१ ले जितेर खेलमा पकड बनाएको थियो । २-१ ले अग्रता बनाएको अवस्थामा चौथो सेटमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर आफ्नै गल्तीले गर्दा नेपाल चौथो सेटमा २५-२० ले पछि पर्दा खेल निर्णाय सेटमा पुगेको थियो । त्यसमा भारत १५-६ को स्कोर निकाल्दै खेल जित्न सफल भयो ।

यसअघि मध्य एसियाका बी क्याटेगोरीका टिम सम्मिलित महिला सेन्ट्रल जोनमा अपराजित रहँदै दुवै पटक च्याम्पियन बनेको नेपाल घरेलु कोर्टमा उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ ।

तर करिब तीन महिनाको आन्तरिक प्रशिक्षण मात्र गरेको नेपाल अन्तर्राष्ट्रिय खेलको अनुभव नलिइ नै काभा च्यालेन्ज कप खेलिरहेको छ । त्यसैले नेपालको असली परीक्षण भारतसँग हुनेछ र उपाधि रक्षाका लागि ठूला टिमको चुनौती पन्छाउनुपर्ने छ ।

नेपालले अन्तर्राष्ट्रिय खेल खेल्नका लागि लामो समय कुर्नुपरेकोले पनि टिम र खेलाडीको स्तर छ भन्ने थाहा छैन ।

नेपालले पछिल्लो पटक सन् २०२१ मा बंगलादेशमा भएको एसियन वुमन्स सेन्ट्रल जोन च्यालेन्ज कप खेलेको थियो । जहाँ नेपालले श्रीलंका र उज्वेकिस्तान जस्तो टिमसँग खेलेको थियो र उज्वेकिस्तानलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

त्यसपछि नेपालले खेलेको यही काभा वुमन्स च्यालेन्ज कप हो । यस पटक नेपाली टोलीलाई अनुभवी बेल्जियन प्रशिक्षक यान डी ब्रान्डले प्रशिक्षण दिएका थिए ।

उनले भारतविरुद्ध विगतको प्रदर्शनले अर्थ नराख्ने बताइसकेका छन् । भारतसँग फरक रणनीतिका साथ मैदान उत्रने उनले योजना बनाएका छन् । कप्तान अरुणा शाहीले पनि भारतलाई पराजित गर्दै इतिहास रच्ने बताएकी छन् ।

भारतलाई पराजित गर्न सके नेपालले उपाधि रक्षामा बलियो चुनौती पेस गर्नेछ ।

यसअघि समूहको दुई खेल तुलनात्मक रुपमा कमजोर टिम हुँदा नेपालले सहजै जित निकालेको थियो । जहाँ नेपालले ६ नयाँ खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराउँदै सबैलाई अवसर दिएको थियो । नेपालको टिम अझै राम्रोसँग सेट भइसकेको छैन । भारतसँग खेल्दा नेपालले अघिल्ला दुई खेलमा गरेको गल्तीलाई नदोहोर्‍याउने कप्तान शाहीले बताएकी छन् ।

यस्तै विगतका वर्षमा विपक्षीका लागि चुनौती बन्दै आएकी नेपालकी मुख्य स्पाइकर यस पटक चोटका कारण टिममा छैनन् । जुन नेपालका लागि घाटा बन्न सक्छ भने विपक्षीका लागि फाइदा हुन सक्छ ।

चोटका कारण प्रतियोगिता गुमाएकी प्रतिभा माली अहिले कभर्डहलमा दर्शक दीर्घामा बसेर नेपाली टिमलाई समर्थन गरिरहेकी छन्  ।

नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ । दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेका कीर्गिस्तान र बंगलादेशबीच बिहान १० बजे खेल हुनेछ ।

यस्तै समूह बी बाट सेमिफाइनल पुगिसकेका काजखस्तान र उज्वेकिस्तानबीच पनि समूह विजेता बनन्का लागि प्रतिस्पर्धा हुनेछ । यस समूहबाट बाहिरिसकेका श्रीलंका र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेता तथा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ ।

फाइनल खेल जेठ १४ गते हुनेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?