+
+
फ्राइडे रिलिज :

हलमा लागे टुल्की, हुक्का र द लिटल मर्मेड, ओटीटीमा के के रिलिज भए ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १२:००

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा तीन नयाँ फिल्म रिलिज भएका छन् । दुई नेपाली फिल्महरु ‘टुल्की’ र ‘हुक्का : एन अब्जर्ड ड्रिम’सहित हलिउड फिल्म ‘द लिटल मर्मेड’ प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा पनि केही चर्चित फिल्म र सिरिज रिलिज भएका छन् ।

सुरुमा हलमा रिलिज भएका फिल्मको चर्चा गरौं । नेपालको हिमाली भेगमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ हलहरुमा रिलिज भएको छ । पहाडको ब्राह्मण परिवारमा हुर्किएकी टुल्की नामक पात्र हिमाली क्षेत्रको सांगे नामक पात्रसँग प्रेम विवाह गरेर उपल्लो गाउँ जान्छिन् । त्यहाँ गइसकेपछि बहुपतिप्रथाको नाममा उसले भोग्नुपरेको प्रताडनालाई टुल्कीमा चित्रण गरिएको छ ।

डोल्पा जिल्लाका रमणीय लोकेसनमा छायांकन गरिएको फिल्मले डोल्पाको भूगोल, परिवेश र कथावस्तुलाई बुझ्न सघाउँछ । देवज थापाले निर्देशन गरेको फिल्ममा स्वस्तिका कार्कीको शीर्ष भूमिका छ । शिशिर बाङ्देल र सोम लामाको पनि महत्वपूर्ण भूमिका छ ।

आजैदेखि रिलिज भएको अर्को सोसल ड्रामा फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’लाई शम्भु थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, सन्तोषकुमार आत्रेय, तलिशा गुरुङलगायतको अभिनय छ । बुवाले सबै सम्पत्ति सकेपछि सुकुम्बासी बनेको मुख्य पात्रले परिवारको विगतको शान वैभव र प्रतिष्ठालाई कायम राख्ने भ्रममा हुक्का तान्छ । यो फिल्मको बटमलाइन ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ राखिएको छ ।

‘द लिटल मर्मेड’ रब मार्सल निर्देशित हलिउडको म्युजिकल फेन्टासी फिल्म हो । वाल्ट डिज्नी स्टुडियोले निर्माण गरेको यो फिल्मलाई लाइभ एक्सन फिल्म भनिएको छ । हेली बेली, जोनाह हाउर किङ्ग र डेभिड डिग्स फिल्मको शीर्ष भूमिकामा छन् ।

पानीमाथिको संसार पत्ता लगाउन र राजकुमारलाई प्रभावित बनाउन एक जवान मत्स्यांगनाले मानव खुट्टा प्राप्तिको लागि आफ्नो सुन्दर आवाजको व्यापार गर्न ‘समुन्द्री बोक्सी’सँग सम्झौता गर्छे । फिल्मलाई समीक्षकले समग्रमा सकारात्मक समीक्षा प्रदान गरेका छन् ।

शुक्रबार ओटीटीमा के-के रिलिज भए ?

बिहीवार नानी स्टारर हिन्दी फिल्म ‘दसारा’लाई आफ्नो प्लेटफर्ममा रिलिज गरेको नेटफ्लिक्सले शुक्रबारदेखि प्रतीक्षित फिल्म ‘बोल्ड एण्ड गोल्ड’ रिलिज गरेको छ । जर्मनीको कथावस्तुमा आधारित यो फिल्म नेटफ्लिक्समा हिन्दी भाषामा उपलब्ध छ । आजैदेखि नेटफ्लिक्समा मिस्ट्री, हरर र मनोवैज्ञानिक थ्रिलर जनराको स्पेनी फिल्म ‘टीन एण्ड टीना’ पनि रिलिज भएको छ ।

अमेजन प्राइमले शुक्रबारदेखि प्रियंका चोपडा र रिचर्ड म्यादेन स्टारर स्पाइ ड्रामा ‘सिटाडेल’को अन्तिम एपिसोड रिलिज गरेको छ । एपिसोड-६ नेपाली समयानुसार शुक्रबार बिहान पौने पाँचदेखि स्ट्रिमिङ सुरु भएको छ । डिज्नी हटस्टारमा शुक्रबारै पोलिटिकल एक्सन थ्रिलर सिरिज ‘सिटी अफ ड्रिम्स’को सिजन ३ सुरु भएको छ । यो सिरिजको हाललाई १० एपिसोड सार्वजनिक भएको हो ।

जियो सिनेमामा आजदेखि वरुण धवन र कृति सेनन स्टारर हरर कमेडी फिल्म ‘भेडिया’ रिलिज भएको छ । प्राइम भिडियोमा दक्षिण भारतीय फिल्म ‘पोन्नियन सेल्भन २’ पनि रिलिज भएको छ । केही दिनअघि जी फाइभ प्लेटफर्ममा मनोज बाजपेयी स्टारर कोर्टरुम ड्रामा ‘सिर्फ एक बन्दा काफी है’ रिलिज भएको छ जसको यतिबेला चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?