+
+

२० मिनेटलाई रोकिएको संसद बस्दै नबसी भोलिलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १९:२९

१२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी साढे ६ घन्टापछि भोलिका लागि सरेको छ ।

नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन ।

त्यसैले सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका छन् ।

नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने  माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहमतिको प्रयास भइरहेको बताउँछन् । उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफलमा रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेतालाई लगाएको आरोप उचित नरहेको भनेर जाने प्रस्ताव समेत राखेका छन् ।

तथापि, प्रतिनिधिसभाको बैठक सुरु हुन सकेन र भोलि शनिबार ४ बजेका लागि सर्‍यो । बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?