+
+

बाटो ढाकेका फुटपाथको विद्युत वितरण बक्स हटाउन अलमल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १९:५६
फाइल तस्वीर

१२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुटपाथ ढाक्ने गरी राखेका ‘वितरण बक्स’हरु हटाउन ढिलाइ गरेको छ । प्राधिकरणले अहिले राखिएका वितरण बक्सहरु हटाएर पातला आकारका वितरण बक्स राख्ने बताए पनि हटाउन ढिलाइ गरेको हो ।

यसका कारण फुटपाथमा यात्रा गर्नेहरुले सास्ती भोग्नु परिरहेको छ । सहरभरि नै २०० एमएम मात्रै बाक्लो रहेका बक्सहरु जोड्ने योजना थियो । फुटपाथमा हिंड्नेहरुलाई सडकमै झर्न बाध्य हुने गरी राखिएका बक्सहरुलाई व्यवहारिक रुपमा व्यवस्थापन गर्ने योजनामा अलमलमा गरेपछि पैदलयात्रीहरु प्राधिकरणप्रति असन्तुष्ट छन् ।

प्राधिकरणका परियोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार प्राधिकरणले १०० भन्दा बढी ठाउँमा बक्स हटाउनुपर्नेछ । अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि–डिजाइन गरेर बक्सहरु आइसकेको निर्देशनालयले जनाएको छ ।

फुटपाथ छेकिने गरी राखिएका ठूला क्याबिनेट बक्स हटाएर पातला आकारको क्याबिनेट बक्स राख्न तयारी सकिएको प्रधानको दाबी छ । ‘केही ठाउँमा राखि सकएिको छ’ उनले भने ।

प्राधिकरणले जथाभाबी बक्स राखेपछि सडक विभागले आपत्ति जनाउँदै आएको छ । फुटपाथमै मास्ने, काम भइरहेको स्थानमा पनि खनेको माटो असरल्ल छाड्ने, खाल्डो नपुर्ने र समयमै कालोपत्रे नगर्ने समस्या भएको विभागको गुनासो थियो ।

अहिल पनि धेरै ठाउँमा पैदलयात्रीलाई पर्खाल र आउटडोर क्याबिनेट बक्सको बीचमा च्यापिएर हिँड्नुपर्ने बाध्यता छ । कतिपय ठाउँमा त फुटपाथ पूर्ण रुपमा ‘ब्लक’ भएको छ ।

अहिले बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्ज, रत्नपार्क, न्यूरोड, अनामनगर, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल, जोरपाटी क्षेत्रकाम सडकका विभिन्न स्थानमा राखिएका बक्सले पैदलयात्रुलाई समस्यामा पारेको छ । प्राधिकरणले महाराजगञ्ज र रत्नपार्कपछि कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पनि तार बिछ्याइरहेको छ ।

बक्स अन्डरग्राउन्ड गरेर राख्न ठूलो खर्च लाग्ने भएकाले सडकको पेटीमै उपलब्ध ठाउँमा राख्न काम सुरु भइसकेको दाबी प्राधिकरणको छ । कतिपय ठाउँमा पेटीमा राख्नुको विकल्प नएकाले पातलो बनाएर बक्स ल्याएको र जोड्न थालेको उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?