+
+

बैंकहरुको निष्क्रिय कर्जा बढ्दै, वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १८:०१

१४ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जाले वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मक रूपमा कमजोर रहेको आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा १.३१ प्रतिशत रहेकोमा २०७९ पुसमा २.६३ प्रतिशत रहेको छ । पुसपछि निष्क्रिय कर्जा अझै बढ्ने क्रममा रहेको बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले देखाउँछ ।

निष्क्रिय कर्जा बढ्दै गएको भएपनि बैंकहरुसँग तरल सम्पत्ति भने पर्याप्त रहेको छ । २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.३० प्रतिशतको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस्तै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा नगद तथा बैंक मौज्दातको अंश ७.१६ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पूँजीमा कर्जाको अंश ८५.६० प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पूँजी र कुल पूँजीको अनुपात क्रमशः १०.०९ प्रतिशत र १२.२९ प्रतिशत रहेको छ ।

नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको सर्वेक्षणमा उल्लेख छ ।

२०७९ पुस मसान्तमा वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८६.६ प्रतिशत रहेको छ । वित्तीय क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४.७ प्रतिशत र वाणिज्य बैंकको अंश ५८.८ प्रतिशत जनाएको छ । यस्तै अन्य वित्तीय संस्थाहरूको अंश १३.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?