+
+

कोशीमा एमाले नेताले भने : नामकरणका विषयमा ढुंगा हानिहाल्नुपर्ने थिएन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते २०:०६

१४ जेठ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले नामकरणको विरोधमा ढुंगामुढा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले जनमतबाट गर्न सकिने निर्णयका विषयमा ढुंगामुढा गर्न आवश्यक नरहेको बताएका हुन् । नामको विरोधमा प्रदेशसभा बाहिर पहिचान पक्षधर र प्रहरीबीच झडप भइरहँदा प्रदेशसभा बैठकमा भने नेताहरुले यही विषयमा धारणा राखिरहेका थिए ।

‘आन्दोलनकारीले जनमत बनाएर जनमतबाट आएर यही परिवर्तनको कुरा गरे के फरक पर्छ र ढुंगै हानिहाल्नुपर्ने’, उनले भने, ‘ढुंगा हानिहाल्नुपर्ने स्थिति मैले देख्दिन ।’

प्रदेशको नामकरणको विषय लोकतान्त्रिक ढंगले समाधान गर्नुपर्ने उनले बताए । ‘हामीले वार्ता गर्ने कुराले पनि यही लोकतन्त्र, गणतन्त्र, संघीयतालाई बलियो बनाउने कुरासँग सम्बन्धित हुन्छ, गर्नुपर्छ’, उनले भने, ‘तरिका कसरी सजिलो हुन्छ अलिकति छलफल गरौं, यसको पहलकदमी सरकारले लिनु उपयुक्त हुन्छ ।’

उनले पहिचान आन्दोलरत पक्षसँग वार्ताका लागि एमाले तयार रहेको बताए । तर सरकारसँग गर्ने कि प्रदेशसभासँग गर्ने भन्नेमा छलफल गर्नुपर्ने रानाले बताए ।

‘सरकार अभिभावक भएकाले वार्ता टोली गठन गरेर अघि गए हुन्थ्यो भन्ने एउटा मत छ, संसदबाट उब्जिएको र संसदले पारित गरेकाले संसदले नै वार्ता टोली बनाए कस्तो हुन्छ भन्ने विचारहरु छन्’, उनले भने, ‘सबै दलहरु बसेर छलफल गरौं, निष्कर्ष निकाल्ने पक्षमा हामी छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?