+
+

अरुण-४ कै मोडलमा फुकोट-कर्णाली आयोजनामा भित्रियो भारतीय कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १४:१६

१८ जेठ, काठमाडौं । फुकोट-कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनामा भारतीय सरकारी कम्पनीले लगानी गर्ने भएको छ ।

नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको लगानी ल्याउने समझदारीपत्र आदान–प्रदान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

एनएचपीसी कम्पनीले पश्चिम सेती र सेती–नदी ६ जलविद्युत आयोजनामा लगानी गर्न नेपाल आएको कम्पनी हो । एमओयूअनुसार अब फुकोट कर्णाली बनाउन विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडा हुने छ । त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढ्नेछ ।

फुकोट–कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने गरी समझदारी भएको छ । अरुण–५मा नेपाल विद्युत प्राधिरकण र भारतथको सतलज विद्युत निगमबीच भएको एमओयूकै मोडलमा फुकोट कर्णाली आयोजना निर्माणको मूल जिम्मेवारी भारतीय कम्पनीको काँधमा पुगेको छ ।

गत फागुनमा भारतको राजस्थानमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णालीमा भारतीय लगानी ल्याउन एनएचपीसी र विद्युत उत्पादन कम्पनीबीच दुई महिनाभित्र एमओयू गरिसक्ने विश्वास नेपाली पक्षले भारतीय पक्षलाई दिलाएको थियो ।

समझदारीपत्रअनुसार आयोजनाबाट नेपालले मासिक रुपमा २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । आयोजनामा ऋण लगानी जुटाउने जिम्मा एनएचपीसीकै हुनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार र आयोजना बनाउन आवश्यक ऋणको प्रबन्ध प्रवर्द्धक कम्पनीकातर्फबाट एनएचपीसीले नै गर्नुपर्ने छ । आयोजनाको बिजुली नेपालले आफैं खपत गर्न चाहेमा किन्ने अधिकार रहनेछ । नेपालले खपत गरेको अवस्थामा मात्रै आयोजनाको बिजुली निर्यात हुनेछ । बिजुली बंगलादेशमा पनि निर्यात गर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

आयोजनाको लाइसेन्स खर्च र अध्ययन र पहुँचमार्ग लगायतमा भएका खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा विद्युत उत्पादन कम्पनीको सेयर लगानीमा पूँजीकरण गर्न गरिने छ ।

अधिकतम् रुपमा नेपाल विद्युत प्राधिकरणले अरुण ४ जलविद्युत आयोजना भारतको सतलज विद्युत निगमसँग २ जेठ २०७९ मा गरेकै सम्झौतालाई आधार बनाएर मस्यौदा तयार भएको छ ।
फुकोट कर्णाली जलविद्युत् आयोजना कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा निर्माण हुन लागेको ४८० मेगावाट परियोजना हो । अहिले आयोजनाले सम्भाव्यता अध्ययनका क्रममा ५२० मिटरको परीक्षण सुरुङ खनिरहेको छ र काम अन्तिम चरणमा पुर्‍याएको छ ।

सिस्नेगडामा १८० मिटर अग्लो बाँध बनाएर १२ किलोमिटरको सुरुङबाट भौतेगडामा बन्ने विद्युतगृहमा खसाल्ने योजना छ । करिब ९२ अर्ब रुपैयाँ लागतको यो परियोजना निर्माण सुरु भएको ५ वर्षमा निर्माण सक्ने लक्ष्य छ । वातावरणीय अध्ययन प्रतिवेदन तयार भइसकेको यो परियोजनाबाट वर्षमा २ हजार ४५५ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

यो परियोजनाले डुबानमा पार्ने क्षेत्रको मुआब्जा वितरण पनि भइसकेको छ । यो परियोजना पनि भारतीय कम्पनीले पाएमा एक वर्षकै बीचमा भारतले ४ वटा परियोजना हात पार्ने अवसर पाउने छ ।

एक वर्षका बीचमा पश्चिमसेती र सेती नदी–६ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीले पाइसकेको छ भने ९०० मेगावाटको अरुण तेस्रो निर्माण गरिरहेको भारत सरकार अन्तर्गतको सतलज विद्युत निगमले अरुण–४ जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणसहितको संयुक्त कम्पनी स्थापना गरेर बनाउने सहमति भइसकेको छ । सो कम्पनीले तल्लो अरुण जलविद्युत आयोजनाको निर्माणको अनुमति पनि पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?