+
+

९ कुरा, इन्फ्रारेड चुलो किन्दा थाहा पाउनैपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १५:०४

नेपाली बजारमा बाल्ट्रा, यसुदा, इलेक्ट्रोन, मिडिया, प्रेस्टिज, फिलिप्स, अगेनो, ओमेगा, सिजी र एलजी लगायत ब्रान्डका यस्ता चुलो उपलब्ध छन् ।

इन्फ्रारेड चुलो बजारमा मुख्यतया एउटा ‘म्यान्युल’ र अर्को ‘डिजिटल’ दुई डिजाइनमा उपलब्ध छन् । ‘पुस बटन र टच बटन दुई प्रकारको फङ्सन हुन्छ । एउटा मात्र भाँडा राख्न मिल्ने र दुईवटा भाँडा राख्न मिल्ने दुई प्रकारका इन्फ्रारेड चुलो बजारमा पाइन्छ ।

यस्तोमा इन्फ्रारेड चुलो किन्ने सोच भएका व्यक्तिले चुलो किन्नुअघि चुलोको बारेमा केही कुरा जान्नुपर्ने इलेक्ट्रोनिक्स कम्पनी मिडियाका प्रबन्धक सुशीलकैलाश श्रेष्ठ बताउँछन् ।

चुलोको ब्रान्ड, गुणस्तर, वारेन्टी, सर्भिस सपोर्ट लगायत विषयमा ध्यान पुर्‍याएर मात्र किन्नुपर्ने श्रेष्ठ सुझाउँछन् ।

चाइल्ड सेप्टी र अन्य सुरक्षा फिचर भएका इन्फ्रारेड चुलो हेरेर खरिद गर्नु राम्रो हुन्छ ।

इन्फ्रारेड चुलो किन्नुअघि ध्यान दिनुपर्ने कुरा

१. इन्फ्रारेड चुलोमा ग्यास चुलोमा जस्तो दुई–तीन घण्टा लामो समय लगातार खाना पकाउनु हुँदैन । लगातार लामो समय खाना पकाइयो भने यसको सिसा फुट्न सक्छ । त्यसैले एउटा खाना पकाएर केही समयपछि अर्को खाना पकाउनु उपयुक्त हुन्छ ।

२. इन्फ्रारेड चुलोमा पाँच लिटरसम्म मात्र खाना पकाउन सकिन्छ । यसको भाँडा अट्ने ठाउँ सानो भएकाले पाँच लिटरभन्दामाथिको भाँडा राख्न मिल्दैन ।

३. इन्फ्रारेड चुलो छिटो तात्ने र समान रूपमा तापक्रम दिने हुनाले खाना चाँडै र राम्ररी पाक्छ । यस चुलोमा वाट घटबढ गर्न मिल्छ, त्यसैले आफूलाई कति छिटो खाना पकाउनु  पर्ने हो त्यही अनुसार पावर बढाउन सकिन्छ ।

४. चुलो चलाएर बन्द गरिसकेपछि पनि यसको माथिल्लो सतह धेरै समय तातै रहन्छ । त्यसैले यो नसेलाएसम्म छुन हुँदैन र कपडा–कागजजस्ता केही सामान राख्नु हुँदैन ।

५. चुल्होको केही मोडलमा भाँडो निकालेपछि ‘हट’ भन्ने संकेत आइरहन्छ । यस्तोमा त्यो संकेत आउन्जेल त्यसलाई छुन वा सफा गर्नुहुँदैन ।

६. इन्फ्रारेड चुलो सफा गर्न पनि गाह्रो हुन्छ । केही खानेकुरा उम्लिएर पोखियो भने तत्काल सफा गर्न मिल्दैन । चुलो सफा गर्न पानी हाल्नु वा झुस–मस्कोले घोट्नु हुँदैन । सुख्खा–नरम कपडाले पुछ्दा नै राम्ररी सफा हुन्छ । चुलोलाई नखस्ने र बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ ।

७. इनर्जी सेभिङ इन्फ्रारेड चुलोले कम बिजुली खपत गर्छ । त्यसैले चुलो किन्दा इनर्जी सेभिङ किन्नु उपयुक्त हुन्छ ।

८. इन्फ्रारेड चुलो किन्दा एक वर्षको वारेन्टी दिइन्छ । तर यो लामो समयसम्म बिग्रिने समस्या हुँदैन । कुलिङको समस्या हुन्छ । राम्ररी चलाइएन भने सिसा फुट्ने समस्या पनि हुन्छ । तर केही समस्या आए कम्पनीमा गएर बनाउन सकिन्छ ।

९. इन्फ्रारेड चुलोमा ग्यासमा प्रयोग हुनेजस्तै भाँडा प्रयोग गर्न मिल्छ । तर पींध भने समतल हुनुपर्छ, जसले गर्दा भाँडा चुलोमा राम्ररी राख्न सकियोस् ।

कति पर्छ मूल्य ?

ठाउँ र कम्पनीअनुसार इन्फ्रारेड चुलोको मूल्य फरक पर्न सक्छ । सामान्यतया इन्फ्रारेड चुलोको मूल्य २५ सयदेखि नौ हजार रुपैयाँसम्म पर्छ । इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलोको मूल्य थोरै बढी पर्न सक्छ । तर इन्डक्सनमा खाना पकाउने भाँडासमेत छुट्टै फलाम वा स्टेनलेस किन्नुपर्ने भएकाले समग्रमा इन्फ्रारेड चुलो सस्तो पर्ने श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?