+
+
रामशरण केसीको बयान :

‘घर बन्धकी राखेर साढे २ करोड प्रतीक थापालाई दिएँ’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १६:४४

२० जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आरोपित रामशरण केसीले आफूले सम्पत्ति बन्धकी राखेर निकालेको रकम प्रतीक थापालाई दिएको स्वीकारेका छन् ।

जिल्ला अदालत, काठमाडौंमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता) बाट लिएको एक करोड समेत गरी साढे २ करोड रुपैयाँ तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई बुझाएको बताएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेका प्रतीक हालसम्म फरार छन् ।

केसीले बयानमा भनेका छन्, ‘केशव दुलालले मलाई नक्सालस्थित निलगिरी रेस्टुरेन्टमा पैसा लिएर आउनू भन्नुभयो । प्रतिक थापालाई नदेखाई पैसा दिदैनौ भनेपछि दुलालले फोन गरेर बोलाए । प्रतीक थापाले दुलाललाई दिए हुन्छ भनेपछि नगदै दिएका हौं । दुलालले कारको डिक्की खोलेर राख्न लगाउनुभयो । त्यसपछि लकडाउन भयो ।’

केसीले भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बोलाएर आफूलाई केशवप्रसाद दुलालसँग चिनाइदिएको बताएका छन् । शरणार्थीको काम छ, भरपर्दो मान्छे केशवप्रसाद दुलाल हो भनेर रिजालले विश्वास दिलाएको भन्दै केसीले बयानमा आफूलाई टेकनाथ रिजालले मान्छे खोज्न भनेको समेत बताएका छन् । अदालतको बयान अनुसार, उनलाई रिजालले ‘तपाईका कोही आफन्त साथीभाई अमेरिका जाने छन् भने मलाई भेटाइदिनुस्’, भनेका थिए ।

त्यसपछि भुटानी मानव अधिकार संगठनको परिचयपत्र बाँड्ने काम भएको उनी बताउछन् । आफ्नो र चिनजानका ३४ जनालाई परिचयपत्र दिइएको र त्यसक्रममा प्रतिव्यक्ति २ देखि ३ लाखका दरले करिव ९० लाख रुपैयाँ उठाएको केसीले बताएका छन् ।

२०७६ को मंसिरसम्ममा परिचयपत्रको आधारमा भुटानी शरणार्थीको सुचीमा छुट दर्ताको फाराम भर्ने काम भएको र त्यसपछि हरेकसँग १० लाख रुपैयाँका दरले रकम उठाइएको उनी बताउँछन् ।

त्यसपछिको कुनै एक दिन आफूलाई केशवप्रसाद दुलालले साँखु जाने बाटोमा रहेको रेष्टुरेन्टमा बोलाएको र ददुलालको साथमा प्रतीक थापा समेत रहेको केसीले बताएका छन् । त्यहाँ पुगेपछि केशव दुलाल र प्रतीक थापाले ‘अब काम निस्कियो, पैसा चाहियो’ भनेर रकम मागेको उनी बताउँछन् ।

‘त्यसपछि मेरो घर दृष्टिबन्धक राखेर डेढ करोड २०७७ असोजमा नगदै बुझिलिएको हुँ । त्यसको राजश्व तिरेको रसिद मसँग छ’, उनले काठमाडौं जिल्ला अदालतमा गरेको बयानमा भनेका छन्, ‘पोखराबाट प्रेमराज पन्थीले एक करोड रकम ल्याएपछि हामीले नक्सालमा केशव दुलाललाई नगदै दिएका हौं ।’

‘इन्द्रजित राईले साढे ५ करोड खाइदिए’

केसीले अदालतमा गरेको बयान अनुसार, काम नबनेपछि र ब्याजले थेग्न नसकेपछि प्रेमराज पन्थीले २ मंसिर २०७८ मा अख्तियारमा उजुरी दिएका हुन् । भोलिपल्ट रामशरण केसीले केशवप्रसाद दुलाल लगायतको नाम मुछेर उजुरी दिए । अख्तियार प्रमुख प्रेमकुमार राईले उनीहरुलाई बोलाए ।

अख्तियार प्रमुखसँग गरेको गुनासोबारे उनीहरुले बयानमा भनेका छन्, ‘हामी पीडित छौ, हजुर गृहसचिव भएदेखिको पालामा निस्किएको काम अहिलेसम्म भएन, हामीले दिएको पैसा काम नहुने भए फिर्ता दिलाइदिनुपर्‍यो ।’

जवाफमा अख्तियार प्रमुख राईले ‘म कुरा गरिदिन्छु’ भनेर सान्त्वना दिएको केसीले बयानमा उल्लेख गरेका छन् । बयानमा उनले भनेका छन्, ‘त्यसको नौ महिनासम्ममा पनि केही कारबाही नभएपछि हामी अपराध महाशाखा, नयाँबानेश्वरमा निवेदन लिएर गयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?