+
+

नागरिकता विधेयकमा कांग्रेसले भन्यो : राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २०:४२
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक संङ्कट टारेको बताएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भइरहेको बताएका छन् ।

कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संसद र संविधानको सम्मान र संरक्षण गरेको पनि दाबी गरेको छ ।

संसदले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको नागरिकता विधेयक संविधानको धारा ११३ को उपाधारा (४) बमोजिम प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधानलाई तत्कालिन राष्ट्रपतिले बेवास्ता गरेर अलपत्र छाडेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘…तत्कालीन राष्ट्रपतिले अलपत्रमा पारेको विधेयकलाई सोही धारा बमोजिम प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संसदको सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पुरा गर्नुका साथै संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा समेत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा ११३(४) बमोजिम प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाई सबै प्रक्रिया पूरा गरी आएको विधेयक राष्ट्रपतिले जस्ताको त्यस्तै प्रमाणीकरण गरेको भन्दै कांग्रेसले यसलाई आफू खुशी अर्थ लगाई जनतामा भ्रम फैलाउन खोजिएको टिप्पणी गरेको छ ।

सबै प्रक्रिया पूरा गरी संसदले राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिसकेको विधेयकलाई फेरि संसदमै फिर्ता गर्न संविधानमा कुनै व्यवस्था नभएको भन्दै कांग्रेसले त्यसलाई संसदमै फिर्ता गर्नु हास्यास्पद कुरा हुने बताएको छ । ‘संसद अविच्छिन्न उत्तराधिकार भएको संस्था हो । अघिल्लो संसदको बहुमतले उक्त विधेयक पारित गरेको हो । संवैधानिक प्रक्रिया पूरा गरिसकेको विधेयक नयाँ राष्ट्रपतिलाई ‘विधेयक यहाँ छ’ भनेर कसैले सम्झाइ दिनुपर्थ्यो, मन्त्रिपरिषदले सम्झाइ दिएको मात्र हो’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि लामो समयदेखि रहेको नागरिकता समस्याको समाधान भई लाखौ पीडित नागरिकको पीडामा मल्मल लगाउने काम भएको पनि कांग्रेसले बताएको छ ।

हेर्नुहोस् कांग्रेसको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?