+
+

‘अन्नपूर्ण चढ्दा गर्व लाग्छ तर राज्यले नै बुझेन’

पूर्णिमा श्रेष्ठ पूर्णिमा श्रेष्ठ
२०८० जेठ २१ गते ११:३१

हिमाल आरोहण भन्नेबित्तिकै सांसरका मान्छेहरुले सगरमाथा मात्रै सोच्छन् । आरोहण प्रेमीहरुको पनि सपना हुँदोरहेछ, विश्वको सर्वोच्च शिखर सगरमाथा । मैले पनि सुरुमै सगरमाथा नचढेको भए, सायद अन्नपूर्ण प्रथम आरोहण गर्ने थिइनँ । मलाई नै यतिसम्म थाहा थिएन कि यो ८ हजार मिटरमाथिका अग्ला हिमालमध्ये आरोहण आरम्भ भएको हिमाल हो ।

सगरमाथाभन्दा पहिले आरोहण गरिएको हिमाल र त्यसको महत्व बुझाउन नसक्दा विश्वका मात्रै होइन, नेपालकै आरोहीहरु पनि अनविज्ञ छन् कि अन्नपूर्णमा जत्तिकै साहसिक आरोहण अरु हिमालमा हुँदैन । मैले सन् २०१७ मा हिमाल आरोहण सुरु गर्दासम्म पनि थाहा थिएन, अन्नपूर्णको इतिहास र यसको महत्व ।

८ हजार मिटरमाथिका ७ वटा हिमाल मैले आरोहण गरिसकें तर मान्छेहरुले सोध्ने एउटै प्रश्न हुन्छ, तिमीले सगरमाथा चढ्यौ ? यतिसम्म कि नेपालीलाई नै हाम्रा ८ वटा ८ हजार मिटर माथिका हिमाल नै चिनाउन सकेका छैनौं । ८ हजार माथिका यति वटा हिमाल छन् भन्ने पाठ्यक्रममा होला तर हाम्रा हिमालबारे हामीले खोज, अनुसन्धान नै गरेका छैनौं ।

हिमालका सामान्य जानकारीसमेत हाम्रा बाबु-नानीलाई बुझाउन सकेका छैनौं । हामीले अन्नपूर्णबारे विश्वमा बुझाउन र पोलिसी लेभरबाटै कार्यक्रम बनाउन सक्यौं भने आरोहणको रेकर्ड बनाउनेको लर्को अन्नपूर्णतिर लाग्न सक्छ ।

नेपालमा हुने हिमालय गतिविधि र यसको प्रवर्द्धन कर्मकाण्डी छ । हिमाल आरोहण भएको दिन सामान्य कार्यक्रम गरेर मनाइन्छ । पर्यटन क्षेत्रमा लागेको सीमित व्यक्ति, आरोहण क्षेत्रमा लागेका केही व्यक्तिहरु मात्र जम्मा भएर सामान्य चर्चा गरेर कार्यक्रमहरु गर्ने गरिएको छ । सन् १९५० जुन ३ लाई पनि हामीले त्यसरी नै सानो घेरामा सीमित पारेका छौं ।

सगरमाथा आरोहण हुनुभन्दा तीन वर्षअघि नै चढिएको र निकै साहसिक आरोहण हुने हिमाल अन्नपूर्ण हो भन्ने सन्देश हामीले विश्व बजारमा कहिले पुर्‍याउने ? मौरिस हर्जोगले हिमाल चढेको ३ वर्षपछि मात्र सगरमाथा चढिएको हो र अन्नपूर्ण साहसिक आरोहीका लागि सबैभन्दा उचित गन्तव्य हो भन्ने भन्ने नेपालीले नै बुझेका छैनौं भने विदेशीलाई कसरी बुझाउने ?

आरोहण इतिहासका हिसाबले अन्नपूर्ण हिमालको जुन ओज, महत्व हो, त्यसलाई चर्चा गर्ने, अन्नर्राष्ट्रिय मञ्चहरुमा पुर्‍याउने, यही अवसरमा विभिन्न इभेन्टहरु गरेर अन्तर्राष्ट्रिय आरोहीहरुकै ध्यान तान्नेतिर राज्य नै उदासिन छ । तिनै तहका सरकारले हाम्रा हिमाल र यसको महत्वलाई बुझाउनै सकेको छैन ।

कुन हिमाल कहिले चढिएको हो ? यो कहाँ पर्छ ? यसको अवस्थिति के छ ? भन्ने बझ्न, बुझाउन चुकेकामात्रै छैनौं, हाम्रा सरकारहरु आफ्नो सम्भावना र आम्दानी गर्नबाट समेत चुकिरहेका छन् । अन्नपूर्ण प्रथमबारे स्कुलदेखि क्याम्पससम्म मैले हाम्रै पाठ्यक्रममा पढ्न पाइनँ ।

चढ्न सबैभन्दा गाह्रो भनेर चिनिन्छ अन्नपूर्ण हिमाललाई । सगरमाथा, आमादम्बलम हिमाल चढिसकेपछि अब योभन्दा अरु के चढ्नु भन्ने लागेको थियो । तर, नेपालका अरु ८ हजार मिटर माथिका हिमालका पनि बेग्लै महत्व छ भन्ने थाहा पाएँ ।

सबैभन्दा गाह्रो, सबैभन्दा साहसिक अन्नपूर्ण हिमाल चढ्नु पो चढ्नु भन्ने सुनें । शेर्पा दाजुभाइहरुले समेत अन्नपूर्णबारे बताउनुभयो, यो हिमाल आरोहण गाह्रो छ मान्छे मर्न सक्छ भन्नुभयो र त्यसपछि नै हाम्रो समूहलाई जोखिम उठाउन मन लागेको हो ।

मैले निकै खत्रा माउण्टेन चढें भन्ने लागेको थियो, त्यो बेला पनि । मानिसहरुले कि एकदमै सजिलो हिमाल चढ्छन् कि एकदमै गाह्रो छ भने चढ्छन् । हिमाल आफैं किलर हुँदैन

अन्नपूर्ण हिमाल आरोहण अघि हामी पनि एकदमै डराएका थियौं । कोभिड महामारीपछि सन् २०२१ अपि्रलमा अन्नपूर्ण आरोहणको ७० वर्षपछि बल्ल पहिलो पटक हामी ६ जना नेपाली महिला पुगेका थियौं । त्यहीबेला एकसाथ ६७ जनाले अन्नपूर्ण आरोहण गरेका थियौं ।

दुर्भाग्य भन्नुपर्छ, सन् १९५० मै ८ हजार मिटर माथिको हिमाल आरोहण आरम्भ भएको अन्नपूर्ण बेसक्याम्प पुग्ने बाटोसमेत थिएन । अहिले पनि व्यवस्थित पदमार्गसम्म बनाउन सकेका छैनौं । पदमार्ग, खाने-बस्ने होटल वा लज छैन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङस्थित हिमाल पुग्ने गतिलो रुट नभएकै कारण अहिले पनि मानिसहरु हेलिकप्टर चढेर गइरहेका छन् ।

अन्नपूर्णको नर्थ र साउथ दुई बेसक्याम्प छन् । कास्कीतिर साउथ पर्छ भने म्याग्दीतिर नर्थ । नर्थतिरबाट मौरिस हर्जोगले पनि आरोहण गरेका थिए । त्यही रुटबाट हामीले पनि आरोहण गर्‍यौं । रुट नै नभएका कारण हामी डराइ-डराइ गयौं ।

अन्य सबैजसो हिमालमा इन्टरनेट पुगेको छ तर अन्नपूर्ण बेसक्याम्पमा छैन । एभरेस्ट बेस क्याम्पमा त फोरजी चल्छ ।

सबैभन्दा पहिले चढिएको पुरानो हिमाललाई व्यवस्थित गराउनुपर्ने, चढ्न धेरै मान्छेको रुचि हुनुपर्ने तर साह्रै दुर्गम देखियो । यसमा राज्यदेखि त्यो क्षेत्रका नागरिकसम्मले महत्व बुझेका बुझेनन् ।

सन् २०२१ मा आएर बल्ल पहिलो पटक नेपाली महिलाले शिखर चुम्दा इतिहास बन्छ भने अन्नपूर्ण कति पछाडि रहेछ कल्पना गर्न सकिन्छ । हाम्रो देशको हिमाल विदेशीका लागि मात्र हो भन्ने पनि छ ।

सरकारले नै भन्नुपर्‍यो हिमाल भनेको सगरमाथा मात्रै होइन, अन्य हिमालको पनि यत्तिकै महत्व छ, उत्तिकै साहसिक र त्योभन्दा बढी रोमाञ्चक हुन सक्छ, त्योभन्दा बढी ऐतिहासिक छ । तर, सरकारसँग यस्तो कुनै योजना नै छैन ।

अहिले देशमा संघीयता आएको छ । प्रदेश र स्थानीय सरकार पनि छन् । प्रदेश र स्थानीय तहले पोलिसी बनाउन सक्छन्, हिमालहरुको । हिमाल चिनाउने, पढाउने र विश्वका धेरैभन्दा धेरै मानिस भित्राएर समृद्ध प्रदेश, समृद्ध स्थानीय तह बनाउन सक्छन् तर त्यतातिर चासो नै देखिएन ।

त्यो क्षेत्रका मानिसहरु आफैंले पनि रुट बनाउने, व्यवस्थित गराउने र यो हिमालसँग जोडेर आफ्नो जीवनस्तर उकास्न सक्छन् तर त्यतातिर ध्यानै छैन । अहिले आरोहीहरु हेलिकप्टर चढेर बेसक्याम्प गइरहेका छन् । यो त ठिक भएन । हामीले १/२ जना ब्लगर पनि लिएर गएका थियौं, निकै चर्चित पनि भयो । अहिले रुट त बनिरहेको छ तर अझै लजहरुको व्यवस्था छैन ।

अन्नपूर्ण संरक्षण आयोजना, स्थानीय सरकार र प्रदेश सरकारले समन्वय गरेर हुन्छ कि कसरी हुन्छ बस्ने व्यवस्था त गर्नुपर्‍यो कम्तिमा । अन्नपूर्ण प्रथम यति नजिक छ कि तीन दिनमै बेस क्याम्प पुगिन्छ र व्यवस्थित गर्ने हो भने बाटो पनि सजिलो नै छ, जो कोही पनि पुग्न सक्छ । उकालो छैन, हाई क्याम्प पनि छैन, बेस क्याम्पमात्र हो ।

बेस क्याम्प यति मनोरम छ कि फाँट छ । हिमालहरुमध्ये सबैभन्दा बढी मनपरेको अन्नपूर्ण कै बेसक्याम्प हो । कञ्चनजंघा बेसक्याम्प पनि एकदमै डाँडामा छ, क्याम्प लगाउनै कठिन हुन्छ, पानीको समस्या हुन्छ । मनासलु पनि त्यस्तै टाकुरामा छ । तर गि्रनरी र निकै रमणीय भनेको अन्नपूर्ण बेसक्याम्प हो । त्यहाँ एउटा ताल पनि छ । प्रचारपसार, सरकारका पहल र सेवा सुविधा नभएर अन्नपूर्ण निकै पछाडि परेको छ ।

सगरमाथाजस्तै चर्चामा आउनुपर्ने, क्लाइम्बरहरुले रुचाउनुपर्ने, ट्रेकरहरुको रोजाइमा पर्नुपर्ने नै अन्नपूर्ण बेसक्याम्प हो ।

अन्नपूर्ण आरोहण जटिल र जोखिमयुक्त भएकै कारण ‘किलर हिमाल’ भनिन्छ तर कुनै पनि हिमाल चढ्न सजिलो हुँदैन । मैले यसलाई मकालुसँग दाँज्छु, मकालुमा २ वटा मात्र क्याम्प लगाउन सकिन्छ । यो विश्वकै तेस्रोमा पर्छ । अन्नपूर्णका रुटहरु लामा-लामा छन् । मौसमको भर नहुने, एउटा क्याम्पबाट अर्कोमा जान निकै गाह्रो हुने भएकै कारण किलर माउण्टेन भनिएको होला ।

जो साहसिक हिमाल आरोहण रुचाउँछन्, त्यस्ता पारखीहरुलाई अन्नपूर्ण उपयुक्त हो । एड्भेन्चर मन पराउनेलाई एकदमै एड्भेन्चर नै मन पर्छ । बरु मलाई सगरमाथा चढें भनेर खासै सुनाउन मन लाग्दैन, अन्नपूर्ण फस्ट चढेको छु भनेर सुनाउन मन लाग्छ । मैले निकै खत्रा माउण्टेन चढें भन्ने लागेको थियो, त्यो बेला पनि । मानिसहरुले कि एकदमै सजिलो हिमाल चढ्छन् कि एकदमै गाह्रो छ भने चढ्छन् । हिमाल आफैं किलर हुँदैन ।

(अन्नपूर्ण प्रथम आरोहणको ७० वर्षपछि २०७८ वैशाख ३ गते पहिलो पटक अन्नपूर्ण चुचुरो चुम्ने नेपाली महिला पूर्णिमा श्रेष्ठसँग अमृत सुवेदीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?