+
+
Shares
अन्नपूर्ण आरोहणको ७५ वर्ष :

मौरिसको नाममा अन्नपूर्ण पदमार्ग, बुवाको पदचाप पछ्याउँदै आइपुगे छोरा

उत्सवमय हुनेछ अन्नपूर्ण बेसक्याम्प, सांगीतिक प्रस्तुतिदेखि म्याराथन दौडसम्मको तयारी

७५ वर्षअघि मौरिस हर्जोगले अन्नपूर्ण चढ्दा प्रयोग गरेको पदमार्गलाई उनकै नाममा समर्पण गर्न लागिएको छ । आधार शिविरमा हीरक महोत्सवको भव्य तयारी छ । कार्यक्रममा सहभागी हुन मौरिसका छोरा परिवारसहित नेपाल आएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ जेठ १३ गते २१:००
नेपाल आइपुगेका मौरिस हर्जोगका छोरालगायत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसारकै अग्ला हिमाल आरोहण सुरु भएको पनि ७५ वर्ष पूरा हुँदैछ ।
  • डा. हर्क गुरुङले नेपाली हिमालको आर्थिक फाइदामा ध्यान नदिएको चिन्ता व्यक्त गरेका थिए ।
  • मौरिसको नाममा पदमार्ग र अन्नपूर्ण आधार शिविरमा सांस्कृतिक कार्यक्रम र म्याराथन आयोजना हुँदैछ।

१३ जेठ, पोखरा । भूगोलविद् डा. हर्क गुरुङ किताब ‘विषय विविधमा’ लेख्छन्, ‘विदेशी पर्वतारोहीहरु नेपाल आउँछन्, हाम्रै शेर्पाका काँध चढेर नाउँ कमाउँछन्, जान्छन् । हामी वाल्ल परेर रमिता हेरिरहन्छौं ।’ हाम्रा हिमालका टाकुरा चढेर विदेशी पर्वतारोहीले नाम कमाएर फर्किरहँदा नेपालले पनि त्यसमा आर्थिक फाइदा लिन नसकेकोतर्फ डा. गुरुङको चिन्ता थियो ।

हुन पनि वैभवशाली इतिहासलाई विश्व बजारमा पुर्‍याएर फाइदा लिनतिर राज्यले नसोच्दा सधैं ओझेलमा रह्यो, आरोहणको इतिहास कायम भएको हिमाल र पदमार्ग ।

सन् १९५० जुन ३, विश्वकै अग्ला हिमाल आरोहणको इतिहास कायम दिन । संसारकै अग्ला हिमाल आरोहण सुरु भएको पनि ७५ वर्ष पूरा हुँदैछ ।

फ्रान्सेली पर्वतारोही मौरिस हजोर्गले विश्वकै ८ हजार मिटर माथिका हिमाल आरोहणको सुरुआत गरेका थिए । हर्जोगले लुइस लचेनल र दुई नेपाली शेर्पाको साथ लिएर अन्नपूर्ण प्रथम आरोहण गरेको २ वर्षपछिमात्रै सर्वोच्च शिखर समगरमाथा आरोहण भएको थियो ।

हिमाल आरोहणको यही इतिहास र ती आरोही मौरिसलाई सम्झिँदै ७५ वर्षपछि सरकार र निजी क्षेत्र मिलेर यो दिनलाई उत्सवमय बनाउन लागिरहेका छन् । हिमाल आरोहणको इतिहास कायम भएको दिन र पदमार्गलाई विश्व बजारमा पुर्‍याएर साहसिक पर्यटनका पारखीलाई आकर्षित गर्ने रणनीति लिइरहेका छन् ।

मौरिसको नाममा पदमार्ग

मौरिसको पद्चापलाई पछ्याउँदै उनकै छोरासहित परिवार, फ्रान्सेली विशिष्ट पाहुना र कलाकारसहितको टोली नेपाल आइपुगिसकेको छ ।

मौरिसलाई पछ्याउँदै यो टोली अन्नपूर्ण प्रथमको उत्तरी बेसक्याम्पसम्म पुग्ने छ, जुन पदमार्ग भएर मौरिसले अन्नपूर्ण आरोहण गरेका थिए । यो पदमार्ग पनि मौरिसकै नाममा समर्पण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर अन्नपूर्ण नर्थको आधार शिविरसम्म पुग्ने पदमार्गलाई मौरिसकै नाम दिएर समर्पण गर्ने छन् ।

फ्रान्सेली कलाकारबाट मौरिसकै स्मृतिमा अन्नपूर्ण आधार शिविरमा गुञ्जिनेछन्, संगीतका धुनहरु । अन्नपूर्ण आधार शिविरसम्म हुने छ, म्याराथन दौड प्रतियोगिता ।

हिमाल आरोहणको इतिहास ७५ वर्ष पूरा भएको अवसरलाई हीरक महोत्सवका रुपमा मनाउन लागिएको हो ।

गत साल कात्तिकमा अन्नपूर्ण आधारमा शिविरमा बुबाको शालिकसँगै छोरा ।

देशी–विदेशी विशिष्ट पाहुना, पर्यटकलाई सहभागी गराउने र पदमार्गका लागि आकर्षित गर्ने गरी पहिलोपटक आरोहणको दिनलाई उत्सवका रुपमा र आरोहण थाल्ने मौरिसको समर्पणमा आधारशिविरमा भव्य कार्यक्रम हुन लागेको बताउँछन्, ट्रेकिङ एसोसिएसन अफ टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य ।

‘यो ऐतिहासिक दिनलाई साँच्चिकै सम्मान गर्दै आरोहण थाल्ने मौरिसको समर्पणमा पहिलो पटक यति ठूलो कार्यक्रम हुँदैछ । यसले अन्नपूर्ण नर्थ बेसक्याम्पलाई विश्वसामु चिनाउने छ,’ अध्यक्ष आचार्यले भने, ‘यो पदमार्गलाई प्रचार गरेर धेरैभन्दा धेरै पर्यटक ल्याउने प्रयत्न भइरहेको छ । यति धेरै विशिष्ट पाहुना पहिलो पटक बेस क्याम्प पुग्दैछन् ।’

अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, टान गण्डकी, अन्नपूर्ण क्षेत्र आयोजना (उक्याप) लगायतको आयोजना तथा सहकार्यमा आरोहको हिमाल अन्नपूर्ण बेसक्याम्पसम्म त्यही दिन पारेर हीरक महोत्सवकै रुपमा मनाउन लागिएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणि लामिछानेका अनुसार यही दिन पारेर १२ देशका राजदूतलाई निमन्त्रणा गरिएको छ । तर, ठ्याक्कै कति आइपुग्छन् भन्ने एकीन भइसकेको छैन ।

अन्नर्राष्ट्रिय पर्वतीय संग्रहालयमा मौरिसका सामग्री

मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस र फ्रान्सेली पर्वतारोही, यसका अनुसन्धानकर्ता, कलाकार १४ जनाको समूह पोखरा आइसकेको छ ।

हिमाल आरोहण गर्ने बाबु मौरिसको पदचाप पछ्याउँदै छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन अन्नपूर्ण आधार शिवरसम्म पुग्ने छन् । यसअघि अघिल्लो वर्ष पोखरा आएका उनले बाबुले हिमाल आरोहण गर्दा प्रयोग गरेका सामग्री र फ्रान्सेली टोलीसहित आउने बाचा गरेका थिए ।

मौरिसले अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको सामग्री अन्नर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राख्नका लागि हस्तान्तरण हुने संग्रहालय निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् ।

अन्नपूर्ण आरोहण थाल्ने मौरिस हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको आधार शिविरमा शालिक निर्माण गरिएको छ । त्यही अवसरमा शालिक अनावरण गर्ने कार्यक्रम राखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

म्याराथन दौडको तयारी पूरा

आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौड हुने छ । कार्यक्रमको लगभग तयारी भएको अन्नपूर्ण गाउँपलिका अध्यक्ष पुनले बताए ।

पूर्वाधार र सहजताका कारण अन्नपूर्णकोदक्षिणी आधारशिविर विश्वमै चर्चित भएर त्यहाँ पुग्ने पर्यटकको संख्या उल्लेख्य भए पनि उत्तरी आधार शिविर भने पछाडि पर्न पुगेको अध्यक्ष पुनको गुनासो छ ।

‘मौरिसले हिमाल आरोहणमा प्रयोग गरेको पदमार्गलाई हामीले पर्यटन बजारमा पुर्‍याउन सकेनौं । राज्यले लगानी गरेर पदमार्ग व्यवस्थित गर्ने, प्रचार र पूर्वाधारमा लगानी गर्ने गरेन,’ गाउँपालिका अध्यक्ष पुनले भने, ‘अब भने हामीले प्रयास गरिरहेका छौं । पदमार्ग व्यवस्थित गर्दैछौं । टि–हाउसहरु खुल्दै छन् । प्रयार गरेर पर्यटक तान्दै छौं ।’

पर्याप्त पूर्वाधार र प्रचार अभाव

अन्नपूर्ण प्रथम आरोहण गरेकी पर्वतारोही पूर्णिमा श्रेष्ठ पर्याप्त पूर्वाधार र प्रचार नपुगेकै कारण आरोहण र पदमार्गमा पर्याप्त पर्यटक नआइपुगेको बताउँछिन् ।

अन्नपूर्ण हिमाल आरोहणपछि फ्रान्समा ३ दिन बिदा दिएर उत्सवका रुपमा मनाइएको थियो । त्यो ऐतिहासिक क्षणलाई जोडेर पर्यटक तान्ने रणनीति बनाउने हो भने पदमार्गमा लर्को लाग्न सक्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीको भनाइ छ ।

अन्नपूर्ण आरोहणपछि मौरिसले अन्नपूर्ण किताब लेखेका थिए । त्यो किताब अंग्रेजीमा अनुवाद भएपछि पर्यटन क्षेत्रमा धेरै बिक्री हुनेमध्येमा परेको थियो । जसका कारण अन्नपूर्णलाई केही हदसम्म चिनाउने तथा बिस्तार गर्ने काम भए पनि सरकारले योजनावद्ध काम नगरेको गुनासो आरोहण तथा पदमार्गको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका शेषकान्त शर्माको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?