
News Summary
Generated by OK AI. Editorially reviewed.- चार्लोट वाकर २१ वर्षको उमेरमा अष्ट्रेलियाकै सबैभन्दा कान्छी सिनेटर बनिन्।
- उनले दक्षिण अष्ट्रेलियाबाट लेबर पार्टीको उम्मेदवार भएर जितिन्।
- उनले युवायुवती र महिलाहरूलाई प्रेरित गर्न चाहन्छिन्।
१३ जेठ, काठमाडौं । दक्षिण अष्ट्रेलियाकी चार्लोट वाकर केवल २१ वर्षको उमेरमा अष्ट्रेलियाकै सबैभन्दा कान्छी सिनेटर बनेकी छन् । उनले लेबर पार्टीबाट राज्यको छैटौं माथिल्लो सदनको सिट जितेकी हुन् ।
चुनावको रात जन्मदिन मनाएकी वाकरले भनेकी छन्, ‘दबाब त धेरै हुनेछ, तर म अन्य युवायुवतीहरू विशेषगरी महिलाहरूलाई यस्तो बाटो रोज्न प्रेरित गर्न चाहन्छु ।’ उनले एबीसीन्यूजसँग कुरा गर्दै थपिन्, ‘म दक्षिण अष्ट्रेलियाली जनताका लागि राम्रो काम गर्न चाहन्छु, साथै युवा महिलालाई यो सम्भव छ भन्ने देखाउन चाहन्छु। धेरैजसो मेरो उमेरका मानिसहरू क्यानबेरा पुग्न र मजस्तै योगदान दिन पाउँदैनन्, त्यसैले म निकै उत्साहित छु। सिक्न त धेरै बाँकी छ, तर म सकारात्मक महसुस गरिरहेकी छु ।’
वाकर अष्ट्रेलियाको सिनेटमा निर्वाचित हुने सबैभन्दा कान्छी व्यक्ति बनेकी हुन् । संघीय संसदमा निर्वाचित हुने सबैभन्दा कान्छो उमेरका व्यक्ति भने क्वीन्सल्याण्ड पूर्व सांसद वायट रोय थिए । उनी २०१० मा २० वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य बनेका थिए ।
वाकरको रोचक राजनीतिक यात्रा
दक्षिण अष्ट्रेलियाको युवा लेबर अध्यक्ष वाकरलाई सामान्यतः कठिन मानिने तेस्रो सिटमा उम्मेदवार बनाइएको थियो। अब उनी आगामी जुलाई १ देखि संसदमा प्रवेश गर्दा ‘सिनेट स्कूल’ मा सहभागी भई संसदीय प्रक्रिया सिक्नेछिन् ।
‘यो सेवा दिने ठाउँ हो, व्यस्त समयतालिकालाई अपनाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।
वाकरको राजनीतिक यात्रा फ्ल्युरिउ प्रायद्वीपको नर्मनभिलबाट सुरु भएको हो, जहाँ उनले यन्कलिल्ला एरिया स्कूल र पछि विक्टर हार्बरस्थित इनभेस्टिगेटर कलेजमा अध्ययन गरिन् ।
उनले सन् २०२२ मा स्नातक तह उत्तीर्ण गरिन् । एडिलेड विश्वविद्यालयमा अध्ययन गरेपछि अष्ट्रेलियन सर्भिस युनियनमा काम गरिरहेकी थिइन् । सिनेटर निर्वाचित भएसँगै उनले यो जिम्मेवारी छाड्नुपर्नेछ ।
युवा र सामाजिक मुद्दामा ध्यान
वाकरले आफ्नो कार्यकालमा युवा अष्ट्रेलियालीहरूका मुद्दालाई प्रमुख रूपमा उठाउने बताएकी छन्। उनले जीवन्यापन खर्च, भाडाको दबाब र पढाइसँगै पारिवारिक दायित्वको सन्तुलन जस्ता समस्याहरूप्रति चिन्ता व्यक्त गरिन् ।
लेबर पार्टीको वाम धारसँग आबद्ध वाकरले सेनेटर करेन ग्रोगन र पेनी वङबाट सल्लाह र मार्गदर्शन पाइरहेकी बताइन् ।
‘उनीहरूले मलाई सहयोग गरेका छन्, सबैसँग चिनाउने र संसदीय प्रक्रियाहरू सिकाउन सघाएको महसुस गरेकी छु,’ उनले भनिन् ।
परिवारको साथ र प्रेरणा
वाकरले आफ्नो राजनीतिक यात्रामा परिवारको समर्थनले महत्वपूर्ण भूमिका खेलेको बताइन् । ‘आमाले सधैं मजाकमा भनिरहनुहुन्छ— एक दिन तिमी प्रधानमन्त्री बन्छ्यौ’,’ उनले हाँस्दै भनिन्। ‘हामी नर्मनभिल जस्तो ग्रामीण क्षेत्रबाट आएका हौं, त्यहाँबाट संघीय संसदमा कोही पुगेको छैन होला। म आशा गर्छु आमा गर्व महसुस गर्नुहुनेछ ।’
उनको जितप्रति बधाई दिनेहरूमा पूर्व अष्ट्रेलियन डेमोक्र्याट्स सिनेटर नताशा स्टट डेस्पोजा पनि थिइन्, जो १९९५ मा सबैभन्दा कान्छी उमेरमा संसदमा पुगेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत वाकरको जितलाई ‘इतिहास बनाउने’ उपलब्धि भनेकी छन् ।
सेनेटर पेनी वङले वाकरलाई ‘सिनेटमा विविधता थप्नसक्ने बुद्धिमान् र सैद्धान्तिक महिला’ भनेर पहिले नै सराहना गरिसकेकी थिइन् भने सेनेटर डन फ्यारेलले वाकरलाई ‘निकै कान्छी र निक्कै भाग्यमानी’ भनेका थिए । -एबीसी न्यूजबाट
प्रतिक्रिया 4