+
+

गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १७:०१

२१ जेठ, काठमाडौं । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् ।

उनीहरुले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।

७ चैत २०६३ मा मा रौटहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।

त्यो दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो ।

लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा सिफारिस गरेको थियो ।

आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान अघि बढाउनु भनी आदेश दिएको हो ।

गौर हत्याकाण्डपछि छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरुको नाम किटेको थियो । मानव अधिकार आयोगले त्यही आधारमा उनीहरुमाथि छानबिन गर्नु भनेको हो ।

आयोगले दिएको निर्देशन समेत कार्यान्वयन नगरेको भन्दै त्रिभुवन साह लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?