+
+

यो गर्मी कहिलेसम्म ?

विनोद घिमिरे विनोद घिमिरे
२०८० जेठ २२ गते ११:११
केही दिनयताको अत्यधिक गर्मीले गरिखाने वर्ग प्रभावित भएको छ ।

२२ जेठ, काठमाडौं । तराईका जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तातो हावा र लु लाग्न थालेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।

सुदूरपश्चिमका केही स्थानमा गएराति र आज बिहान हल्का बदलीको अवस्था रहेकाले अन्य स्थानको तुलनामा कम गर्मी छ । तर कैलालीदेखि पूर्वका तराईका जिल्लामा पनि गर्मी अत्यधिक छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, चितवनको रामपुर, बाराको सिमरा र मोरङको विराटनगर लगायतका स्थानमा अधिकतम तापक्रम आज पनि चालिस हाराहारीमै रहने पूर्वानुमान छ ।

हिजो सबैभन्दा बढी गर्मी चितवनको रामपुरमा महसुस भएको थियो । रामपुरमा हिजो सबैभन्दा बढी अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

कैलालीको टीकापुर, बाँकेको नेपालगञ्ज, सप्तरीको राजविराज र मोरङको विराटनगरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन भएको थियो । काठमाडौंमा भने तीन–चार दिनदेखि अधिकतम तापक्रम ३२ डिग्री सेल्सियसकै हाराहारीमा छ ।

मौसमविद गोविन्द झाका अनुसार तीन दिनअघि नवलपरासीको दुम्कौलीमा अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको थियो । यो नै यस वर्षको सबैभन्दा बढी गर्मीको रेकर्ड हो ।

कहिलेसम्म हुन्छ यस्तो गर्मी ?

मौसमविदले तराईका जिल्लाहरुमा गर्मीको अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेका छन् ।

मौसमविद झाका अनुसार तराई–मधेशका जिल्लाहरुमा तत्कालै गर्मी कम हुने सम्भावना देखिएको छैन । ‘पानी पार्ने खालको प्रणाली नभएकाले अझै केही दिन गर्मी घट्ने सम्भावना कमै छ,’ उनले भने, ‘केही दिन ४०–४२ कै हाराहारीमा तापक्रम हुने सम्भावना छ ।’ पहाडी भागतिर बेला–बेला बदली भएर बेला–बेला चिसो हावा चल्ने गरेकाले गर्मी अझै बढ्नलाई केही हदसम्म रोकिरहेको उनको अनुमान छ ।

तराई–मधेशका जिल्लामा तत्काल पानी पार्ने नयाँ प्रणाली विकसित पनि भएको छैन । उनका अनुसार सुदूरपश्चिमको तराई भेगमा भने न्युनचापीय प्रणाली र स्थानीय वायुको हल्का प्रभाव छ । यसले गर्दा गएरातिदेखि नै बदलीको अवस्था छ । आज बिहान पनि हल्का बदलीको अवस्था भए पनि पानी भने नपार्ने मौसमविद झा बताउँछन् ।

तर सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भागका थोरै स्थानहरुमा आज दिउँसोतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । ‘तर तराई–मधेशका जिल्लातिर त बदली पनि लाग्दैन,’ मौसमविद झाले भने, ‘खुला आकाश छ, जमिन तातिरहेको छ । त्यसैले अत्यधिक गर्मी भइरहेको छ ।’

नेपालको भौगोलिक अवस्था अनुसार मे र जुन महिना बढी गर्मी हुने महिनाहरु हुन् । यी महिनामा पानी परेन अथवा बादल लागेन भने गर्मी अत्यधिक महसुस हुन्छ । गर्मी बढी हुँदा जमिन तात्छ । पानीका स्रोत धेरै भएका स्थानबाट बाफ उडेर बादल बन्ने र स्थानीयस्तरमा पानी पार्ने प्रणाली विकसित भएर वर्षा हुने, बादल लाग्ने हुन्छ । यस्तो वर्षा केही स्थानमा मात्र हुन्छ । अहिले केही दिनयता पानी नपरेकाले प्रि मनसुन अवधि नै सुक्खा छ । त्यसैले गर्मी बढिरहेको छ ।

वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार पानी नपरेमा यस्तो गर्मी यथावत रहने वा योभन्दा पनि बढ्नसक्ने सम्भावना रहन्छ । जंगलमा डढेलो लागेकाले र प्रदूषण बढेकाले गर्मी बढ्न सहयोग पुगेको मौसमविद बताउँछन् ।

तत्काल छैन मनसुन भित्रिने सम्भावना

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसन १८ जेठदेखि १३ असोजसम्म रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । २२ जेठ भइसक्दा पनि मनसुनी गतिविधि देखिएको छैन । विभागका मौसमविदहरुका अनुसार अझै एक हप्ता मनसुन भित्रिने सम्भावना छैन ।

मनसुनी रेखा अहिले श्रीलंकाको आकाशमाथि देखिएको छ । यो भारतको तल्लो भेग हुँदै नेपाल भित्रिन्छ । नेपालको पूर्वी भागबाट मनुसन भित्रिएर पश्चिमतिर फैलिन्छ ।

नेपालमा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल बताउँछिन् । यो वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण यसअघि नै विभागले गरेको थियो ।

अघिल्ला तीन मनसुनमा लानिनाको प्रभाव भए पनि यसपटक एलनिनो हुने देखिएको छ । यसले सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्ने र कम वर्षा हुने मौसमविद बताउँछन् ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?