+
+

यो वर्ष अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण

अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी 

विनोद घिमिरे विनोद घिमिरे
२०८० वैशाख २२ गते ११:४५

२२ वैशाख, काठमाडौं । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ ।

विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।

अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।

कहाँ कस्तो वर्षा ? 

विभागका अनुसार कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

‘कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भू–भाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू–भाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,’ विभागले भनेको छ ।

यस्तै कोशी प्रदेशका पश्चिमी भूभाग, बागमती प्रदेशका धेरैजसो भूभाग, लुम्बिनी प्रदेशका केही भूभाग र सुदूपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बैतडी तथा बझाङ लगायतका भू–भागमा सरदर भन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको प्रक्षेपण छ ।

कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वका थोरै भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ ।

कर्णाली र गण्डकीका धेरैजसो, सुदूरपश्चिमका मध्य तथा उत्तरका थोरै क्षेत्र, लुम्बिनीका पश्चिम तथा मध्य क्षेत्र र कोशीका दक्षिण क्षेत्र भने झनै कम पानी पर्ने प्रक्षेपण छ । वर्षा कम हुने क्षेत्रमा अधिकतम तापक्रम औसतभन्दा बढी भएर गर्मी हुने अनुमान छ ।

अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी 

अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अघिल्ला तीन मनसुनमा लानिनाको प्रभाव थियो, यसपटक एलनिनो हुने देखिएको छ । मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ । यसको प्रभावले वर्षा कम गराउने मौसमविदको भनाइ छ ।

मनसुनको अवधि १८ जेठदेखि १३ असोजसम्म रहने अनुमान छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?