+
+

सरकारबारे छलफल गर्न कोशीमा माओवादी संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १५:४४

२२ जेठ, विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।

बैठक सोमबार विराटनगरमा बस्ने माओवादी केन्द्रका एक सांसदले जानकारी दिए । ‘जरुरी निर्णय गर्नु पर्ने भनेर बैठकमा बोलाइएको छ,’ ती सांसदले भने, ‘जरुरी भने पनि त्यो सरकार बारेकै निर्णय हो ।’

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलकाे एजेन्डामा सरकारलाई दिएको समर्थनको विषय रहेको तर केन्द्रबाट ठाेस निर्देशन नआएको बताए । ‘प्रदेश नियमावलीमा संशोधनको विषय छ’, उनले भने,’समर्थनकाे विषय पनि छलफलको एजेन्डा छ ।’

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।

कार्की नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने शर्त कांग्रेस र माओवादीसँग राखेको छ ।

प्रदेशसभामा ६ सिट रहेको राप्रपा सामेल भए कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनले सहज रुपमा सरकार गठन गर्न सक्छ । यसरी बन्ने गठबन्धनको पक्षमा प्रदेशसभामा ५२ सिट पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?