+
+

यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालले ग्लोबल इक्विटी फण्डलाई प्राविधिक सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १६:२७

२२ जेठ, काठमाडौं । ग्लोबल इक्विटी फण्ड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस नेपाल परियोजना बीच सम्झौता भएको छ । लघु, साना तथ मझौला उद्योगमा वैकल्पिक लगानीका (प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष) स्रोतमा पहुँचको सुनिश्चिता गर्ने र त्यस्ता व्यवसायलाई प्रवर्द्धन, विस्तार सेवाहरूमा उपलब्धता र पहुँच बढाउनको लागि सहकार्य गर्ने सम्झौता जनाएको छ ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापा र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता को अवधि जुन २०२३ देखि अक्टोबर २०२६ सम्म रहने जनाइएको छ ।

‘ग्लोबल इक्विटी फण्ड’ का प्रबन्ध निर्देशक डा. मनिष थापाले नेपालमा लघु, साना तथा मझौला उद्योगले ९० प्रतिशत हिस्सा ओगटेको बताए । यसले उद्यमशीलता प्रवर्द्धन र रोजगारीका अवसरहरू सिर्जना गरी देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु–याएको उनले बताए । ‘यी लघु, साना तथा मझौला उद्योगलाई वित्तीय स्रोतमा पहुँच सबैभन्दा ठूलो चुनौती रहँदै आएको छ । महिलाको नेतृत्वको लघु, साना तथा मझौला उद्यमहरूले वित्तीय पहुँचमा अझ बढी समस्या भोग्नुपरेको छ,’ उनले भने ।

ग्लोबल इक्विटी फण्डले नेपालको पहिलो महिला उद्यमी केन्द्रित प्राइभेट इक्विटी फण्ड (पिंक फण्ड) सुरु गर्न काम गरिरहेको जनाएको छ । जसले महिला नेतृत्वका उद्यमहरूमा लगानी गर्ने जनाएको छ । यो कोष स्थापना गर्न यूएसएआईडी ट्रेड कम्पिटिटिभनेस नेपालले ग्लोबल इक्विटी फण्डलाई प्राविधिक सहयोग उपलब्ध गराउने भएको हो । यस प्राविधिक सहयोगले ग्लोबल इक्विटी फण्डलाई जेन्डर लगानी लेन्स र इम्प्याक्ट (प्रभाव) लगानी कोषको लागी ढाँचा स्थापना गर्न मद्दत गर्ने डा. थापाले बताए ।

ग्लोबल इक्विटी फण्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पहिलो प्राइभेट इक्विटी/भेन्चर क्यापिटल कोष व्यवस्थापक कम्पनी हो । यसले वातावरणीय, सामाजिक र सुसासनको अभ्यासहरूलाई प्राथमिकता दिने र उच्च प्रतिफल सम्भावना भएका उद्यमहरूमा लगानी गर्ने जनाएको छ । हाल यसले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको व्यवस्थापन गरिरहेको छ जसले हालसम्म विभिन्न क्षेत्रका ४ वटा उद्यममा लगानी गरिसकेको समेत जनाएको छ ।

यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो । जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकीकृत गर्न सक्षम बनाउनेछ ।

‘निजी र सार्वजनिक दुवै क्षेत्रसँग काम गर्दै, यो गतिविधिले लघु, साना तथा मझौला उद्यमहरूको विकासलाई अगाडि बढाउँछ, नयाँ व्यापार अवसरहरू स्थापना गर्दछ र नेपालको लगानीको सम्भावना खोल्ने लक्ष्य लिएको छ,’ दुवै संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?