+
+

कर्णालीको सातु खाएर सगरमाथामा दौड

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ २२ गते १९:५२

२२ जेठ, काठमाडौं । काठमाडौं । कर्णाली भन्ने बित्तिकै विकट ठाउँ भन्ने धेरैको दिमाखमा आउँछ । कर्णालीलाई हेर्ने दृष्टीकोणमा अझै पनि परिवर्तन आउन सकेको छैन ।

तर त्यही कर्णालीमा त्यस्ता प्रतिभाहरु पनि छन् जसले दौडेर नै चर्चा कमाएका छन् । कर्णालीकै हरिबहादुर रोकायाले एभरेष्ट म्याराथनमा कीर्तिमान बनाएका छन् ।

कर्णालीकै सुनमाया बुढाले फ्रान्समा हुने अन्तर्राष्ट्रिय स्तरको यूटीएमबी रेस जितेर विश्वमा चर्चा कमाइन् ।

उनै कीर्तिमानी रोकायाले प्रशिक्षण दिएका दुई प्रतिभा मञ्जु रावत र दलबहादुर कुँवरले यसपटकको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा सफलता हात पारे ।

कर्णालीको सातु खाएर मञ्जु रावतले ५ हजार ३५६ मिटरको उचाइमा रहेको खुम्बु आइसफलबाट सुरु भएर ३ हजार ५५० मिटरको नाम्चे बजारसम्मको ४२ किमी म्याराथनमा स्वर्ण जिते भने दलबहादुरले रजत ।

दुवैले पहिलो सहभागितामै एभरेष्ट म्यारथनमा उपलब्धि हासिल गरेका हुन् ।

कर्णालीबाट एक साता भन्दा बढी समयको यात्रा तय गरेर एभरेष्ट बेस क्याम्प पुगेका उनीहरु पहिलो पटक दौडिँदा नै उत्साहित थिए । त्यसमा पनि विजेता र उपविजेता बनेपछि उनी झनै उत्साहित छन् ।

मञ्जुले ५ घण्टा २८ मिनेटमा दूरी पार गर्दै पहिलो स्थान हात पारिन् । उनले दोस्रो भएकी लाक्पा निमा शेर्पालाई मात्र ३६ सेकेण्डले पछि पारेकी थिइन् । यस्तै दलबहादर्रले सुरुमा अग्रता लिए पनि कायम राख्न नसक्दा पहिलो भएका सुमन कुलुङसँग पछि परे ।

सुमनले ३ घण्टा ४८ मिनेट ५४ सेकेण्डमा दौड पूरा गर्दा दलबहादुरले ३ घण्टा ५७ मिनेट ५३ सेकेण्डको समय निकाले ।

राष्ट्रपति रनिङ शिल्डको कीर्तिमानले कोरेको बाटो

कनाकासुन्दरी गाउँपालिका वडा नम्बर २, जियाकी २१ वर्षीय मञ्जु रावतले पहिलो सहभागितामै पहिलो हुन्छु भन्ने सोचेकी थिइनन् ।

‘विजेता हुन्छु भन्ने सोचेको थिइनँ । प्रतिस्पर्धा गर्छु भन्ने थियो,’ सोलुखुम्बुमा भएको म्याराथन जितेर काठमाडौं आएकी उनले अनलाइनखबरसँग भनिन्, ‘तर दौडिन थालेपछि सुरुमा मैले आधा घण्टा लिड गरेको थिएँ, तर पछि सँगै जस्तो भयो । पहिलो पटक भएर हाम्रो एन्डुरेन्स अली कम भयो ।’  उनले बाटोमा स्याउ र पानी मात्र खाएको सुनाइन् ।

जुम्ला र एभरेष्टको मौसम र दौडने ठाउँ फरक हुँदा कसरी दौडने भन्ने मेसो उनले पाइनन् । तैपनि मञ्जु पहिलो भइन् ।

मञ्जुले १३ वर्षको उमेरबाटै दौडिन थालेकी थिइन् । २०७३ सालमा भएको राष्ट्रपति रनिङ शिल्डमा उनले केन्द्रीय स्तरमै कीर्तिमान बनाइन् । त्यो प्रतिभालाई हरिबहादुर रोकायाले कर्णाली स्पोर्ट्स क्लबमा जोड्ने काम गरे ।

‘सुरुमा स्कुलको वार्षिकोत्सवहरुमा दौडन्थे । राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमान बनाएपछि हरि गुरुले यो केटीले कुद्न सक्ने रैछ भनेर कर्णाली स्पोर्टस् क्लबमा लैजानुभयो’, उनी स्मरण गर्छिन् ।

हरिबहादुर रोकायाको प्रशिक्षणमा दौडिन थाले पनि विद्यालयको पढाइ सकेपछि उनी रेन्जर्सको जागिर खान नेपालगञ्ज झरिन् । तर त्यहाँ पनि सोचे जस्तो नतिजा आएन ।

अनी फेरि उनले दौडमै फर्कने सोचिन् । घर परिवारको साथ र सहयोग त थियो तर समाजले भने छोरी मान्छे घर बाहिर निस्कियो भनेर कुरा काट्थे । ‘परिवारको साथ सहयोग नभए दौडिन सकिन्न । अहिले पनि छोरीलाई घरबाट बाहिर निस्कन गाह्रो छ । बाहिर जान दिँदैन तैपनि मेरो परिवारले साथ दिएको छ गएर दौडनुपर्छ भन्नुहुन्छ त्यसैले सजिलो छ । गाउँमा पहिला कुरा काट्नेहरु पनि अहिले त चर्च गर्न थालेका छन्’,  आत्मविशासका साथ मञ्जुले भनिन् ।

गतवर्ष असारमा भएको तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनबाट मञ्जुले फेरि दौडमा कमब्याक गरिन् ।

‘फेरि म पनि कुद्न सक्छु कि भन्ने लागेर यसैमा आएँ । जुम्ला रारा म्याराथनमा दौडिएर पहिलो भएपछि दौडिन सक्छु भन्ने लाग्यो अनी दौडमै लाग्न थालेँ’, तराइमा बसिरहेकी उनलाई पहाडमा फर्केर दौडँदा सुरुमा गाह्रो भए पनि उनले हिम्मत हारिननन् ।

त्यसता उनले रुकमुमा भएको गुरिल्ला म्याराथन, पोखरा फिस्टेल म्याराथन र एभरेष्ट म्याराथन जितिसकेकी छिन् । एकवर्ष भित्र उनले दर्जन बढी दौडमा प्रतिस्पर्धा गरिन्, ‘अब दौडलाई निरन्तरता दिने योजना छ ।’

हाल उनी कर्णाली स्पोर्ट्स क्लबमै प्रशिक्षण गर्छन् । जुम्लामै कक्षा १२ मा पढिरहेकी उनी प्रतियोगिता हुँदा बाहिर निस्किन्छिन् ।

कर्णालीकै सुनमाया बुढा लगायतले अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाएपछि मञ्जु जस्ता धावककहरुलाई पनि प्रेरणा मिलेको छ । ‘कर्णाली क्लबका दिदीहरुले गरिरहनु भएको छ त्यो देखेर पनि गर्न सकिन्छ भन्ने प्रेरणा मिल्छ । दिदीहरूले जस्तै विदेशमा गएर दौडन मन छ । सुनमाया जस्तै बन्न पाए भन्ने जस्तो लाग्यो ।’

त्यसको लागि आफ्नो मिहिनेतसँगै सबैको साथ र सहयोग आवश्यक पर्ने उनले बताइन् ।

‘विदेशमा गएर दौडिन मन छ हामीलाई । अहिले हामीलाई सिप्रदियन सहायता संस्थाले सहयोग गरिरहनुभएको छ । यतिले अझ पुग्दैन । त्यसका लागि अझ सहयोग चाहिन्छ ।’

फ्रान्समा हरेक वर्ष यूटीएमबी दौड हुन्छ । त्यसमा सुनमाया गत वर्ष पहिलो भएकी थिइन् । मञ्जुलाई पनि त्यहाँसम्म जान मन छ । ‘विदेशमा दौडेर नेपाललाई चिनाउने र आफ्नो परिवारलाई खुशी राख्ने मुख्य लक्ष्य हो ।’

दौड थालेको पहिलो वर्षमै दलबहादुरको दबदबा

जुम्लाको तातोपानी गाउँपालिका ७ का २२ वर्षीय दलबहादुर कुँवर दौडनकै लागि जन्मेका हुन् भन्दा फरक नपर्ला ।

उनले दौडन थालेको एक वर्ष पनि भएको छैन । यस अवधीमा दर्जन बढी प्रतियोगितामा भाग लिइसकेका उनले केही जितेका छन् भने अधिकांशमा शीर्ष तीनमै परेका छन् । एउटामा भने उनी पाँचौ भएका थिए ।

एक महिनाअघि उनले पनि जुम्ला रारा अल्ट्रा म्याराथन जितेका थिए । त्यसपछि एभरेष्टमा कुदेका उनी दोस्रो भए ।

दौड सुरु लगत्तै उनले अग्रता बनाएका थिए । ३८ किमीसम्म अग्रता लिएका उनी ४ किमी बाँकी हुँदा अन्तिम चेकप्वाइन्टमा स्वाउ खान थाले । त्यसपछि भने उनलाई अनुभवी धावक सुमन कुलुङले पछि पारे ।

‘टाइमिङ राम्रो गर्ने सोचेको थिएँ । तर दौड सुरु भएपछि भने जित्छु भन्ने लक्ष्य थियो । तर हामीलाई त्यहाँको रुट पनि राम्रोसँग थाहा भएन । बाटोमा ढुंगा थियो । भोक लागेर बाटोमा ४ किमी बाँकी हुँदा प्वाइन्टमा आमाहरुसँग स्याउ मागेर खान थालेँ । हामीलाई अरुको सहयोग पनि थिएन । अरुका सहयोगीहरु थिए,’ दलबहादुरले भने ।

पहिलो पटक एभरेष्टमा दौडदा खान नमिलेको निन्द्रा नपरेको टाउको दुखेर सिटामोल खानुपरेकोसम्म अनुभव उनले लिए ।

जुम्ला रारा दौडेपछि उनले आवश्यक आराम पनि पाएका थिएनन् । तर उनले पनि हिम्मत गरेर एभरेष्ट म्याराथन कुदे अनी दोस्रो भए ।

दलबहादुरमा आर्मी बन्ने चाहना थियो । दुई वर्षअघि उनले आर्मीका लागि प्रयास गरे । दौडदेखि फिजिकल सबै पास गरेका उनी लिखित मा भने फेल भए । ‘आर्मी बन्ने चाहना त थियो तर पूरा भएन । घरबाट जागिर। खानुपर्छ भन्नुहुन्छ । तर मलाई अझै केही वर्ष दौडन मन छ’, दलले भने ।

गत असारमा तेस्रो जुम्ला अल्ट्रा म्याराथन उनको जीवनमा टर्निङ प्वाइन्ट बन्यो । खासमा उनी यत्तिकै रमाइलो लागि प्रकृतिको सुन्दरतामा रमाउन दौडेका थिए । ट्रेनिङ पनि गरेका थिएनन् । तर उनी दोस्रो भए । ‘ट्रेनिङ नगरी रमाइलोका लागि दौडेको थिएँ दोस्रो भएपछि दौडिन सक्छु भन्ने लाग्यो ।’

त्यसपछि उनी पनि कर्णाली स्पोर्ट्स क्लबमा आबद्ध भएर दौडन थाले । ‘मेरो दौड देखेर नै हरि गुरुले मलाई क्लबमा बोलाउनुभयो र ट्रेनिङ दिनुभयो ।’

जुम्ला रारा म्याराथनदेखि एभरेष्टसम्म आइपुग्दा उनले गुरिल्ला म्याराथन, पोखरा फिस्टेल लगायतको उपाधि जिते । ‘पाँच वटामा मैले कीर्तिमान नै बनाएँ ।’

कर्णाली स्पोर्ट्स क्लबको ट्रेनिङ

मञ्जु र दल दुवैले कर्णाली स्पोर्टस क्लबमै ट्रेनिङ गर्छन् । उनीहरु हाई अल्टिच्युटमा ट्रेनिङ गर्दा अल्ट्रा दौडको लागि फाइदा हुन्छ ।

दुवैले रोड रेस भन्दा पनि अल्ट्रा रेसलाई नै प्राथमिकता दिने बताए । त्यसैले क्लबमा ट्रेनिङ गर्दा फाइदा हुने उनीहरुको विश्वास छ ।

‘सुरुमा आफ्नै पाराले कुदिन्थ्यो । ट्रेनिङ हुँदा राम्रो भयो । कसरी दौडने थाहा भयो । पेस, टाइम, ट्रेनिङ तालिकादेखि डाइट प्लान के खाने कसरी खाने सबै थाहा भयो’, दलबहादुरले भने ।

‘क्लबमा आएर दौडिन थालेपछि धेरै सहयोग भएको छ । धेरै कुरा सिक्न पाइन्छ । क्लबको ठूलो योगदान छ’, मञ्जुले सुनाइन् ।

क्लबमा हप्तामा ६ दिन सोमबारदेखि शनिबारसम्म दुई प्रकारको प्रशिक्षण गर्छन् । एउटा ‘पेस मेकिङ’ र अर्को ‘डिस्ट्यान्स कभर’ ।

‘पेसमा २० किमी ट्रयाकमा दौडिन्छौँ । डिस्ट्यान्स कभरमा बाहिर जंगलतिर गएर उकालो ओरालो दौडने’, दलले भने ।

शनिबार ५ घण्टासम्म कुद्ने उनीहरू आइतबार बिदा मनाउँछन् ।

उनीहरुको खानपिन गाउँमा जे पाइन्छ त्यही हुन्छ । ‘हामीले गाउँमै उत्पादन गरेको खाना खान्छौँ । सातुदेखि सिस्नु गेडागुडी खान्छौं’, मञ्जुले भनिन् ।

प्रशिक्षणका लागि अझै राम्रो ट्रयाक र उचित डाइट आवश्यक रहेको उनलाई लागेको छ । उनी भन्छिन्, ‘मिहिनेत गर्नुपर्छ अझै त्यसपछि प्रशिक्षण र उचित डाइट । दौडँदा लगाउने जुत्ताहरु पनि राम्रो चाहिन्छ । सबैको साथ सहयोग भए नतिजा पनि राम्रो आउँछ ।’

क्लबले छनोट गरेको ५ जनालाई सिप्रदियनले जुत्ता स्पोनससर गरेको छ भने ५ जनाको मासिक रुपमा डाइटको बिल पनि तिर्ने गरेको छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?