+
+

वातावरण दिवसमा विद्यार्थीले संकलन गरे ५०० किलो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते ८:२४

२३ जेठ, पोखरा । माछापुच्छ्रे माध्यमिक विद्यालय कास्कीमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लब– माछापुच्छ्रे’ले पचासौं विश्व वातावरण दिवसको दिन पाँच सय केजी फोहोर संकलन गरेर व्यवस्थापन गरेको छ ।

क्लबले विद्यार्थीलाई पूर्वसूचना जारी गरी आफ्नो घर र समुदाय वरपर रहेका पुनः प्रयोग हुने फोहर संकलन गरी बुझाउने प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा दस–दसजनाको ३० समूहले ५१९ केजी त्यस्ता फोहर संकलन गरी आयोजक समक्ष बुझाएको ‘ग्रीनफोर्स क्लब– माछापुच्छ्रे’की अध्यक्ष नम्रता गुरुङले जानकारी दिइन् । सबैभन्दा धेरै ४२ केजी फोहोर सकंलन गर्ने विद्यार्थी समूहलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले यसरी संकलन गरिएको फोहोरलाई पुनः प्रयोग गर्न कास्कीकै एक सहकारीसँग सहकार्य गरिएको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप सार्दिखोला चेकपोस्टका प्रमुख श्रीकृष्ण न्यौपानेले विद्यालयको रचनात्मक कामको प्रशंसा गर्दै यस्ता कार्यले विद्यार्थी तथा अभिभावक सबैमा सचेतना थपिएको बताए ।

माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलास्थित माछापुच्छ्रे विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् । पाठ्यक्रमले तोकेका निर्धारित कामलाई सहयोग पुग्ने गरी प्रत्येक कक्षालाई छुट्टाछुट्टै शीर्षकमा सक्रिय बनाएर पढाउने यो विद्यालय देशकै नमूनामध्ये एक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?