+
+

नक्कली शरणार्थी प्रकरण : पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ७:२०

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ ।

आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका उनीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ बिगो माग दाबीसहित ठगी मुद्दा चलेको हो ।

मंगलबार जिल्ला अदालतमा चलिरहेको बहसका क्रममा जाहेरीकर्ताहरुको तर्फबाट बहस गर्दै अधिवक्ता दिपकराज रेग्मीले उजुरी दिएका पीडितविरुद्ध नै जिल्ला अदालतमा ठगी मुद्दा चलेको बताए ।

‘दाङका रामकुमार रेग्मीले अमेरिका जान पाउने भएपछि रकम दिए, उनको कुरा सुनेपछि विश्वासमा परेका परिवारका सबै सदस्यले रकम बुझाए, अनि आफन्तले समेत गजेन्द्र बुढाथोकीलाई पैसा बुझाए,’ उनले भने, ‘यहाँ ठगीको बारेमा सुरुमा जाहेरी दिने दाङका गजेन्द्र बुढाथोकी हुन्, उनैविरुद्ध गत फागुनमा जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको छ । त्यो मिसिल झिकाइ पाँऊ ।’

जाहेरीमा दाङकै राजु केसी लगायतले आफू लगायतलाई अमेरिका पठाइदिन्छु भनी पटकपटक रकम लिएको विवरण खुलाएका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको र पछि अमेरिका नपठाएपछि खोजतलास गर्दा गजेन्द्र सम्पर्कबिहीन भएको दाबी गरेका छन् ।

जाहेरीमा भनिएको छ, ‘अमेरिका पठाइदिन्छु भनी हामीबाट नगद पैसा लिइ झुक्याइ धोका दिइ बेइमानी गरी ठगी गर्ने बुढाथोकीलाई हदैसम्मको कारवाही गरी उल्लेखित रुपैयाँ दिलाइ भराइ पाउँ ।’

रकम बुझाएकामध्ये एक राजन अधिकारीका अनुसार, दाङ घर भएका बुढाथोकी १८/२० वर्षदेखि अमेरिकामा थिए । उनको घरमा ज्योती विकास बैंक भाडामा रहेको छ ।

बैंकले समेत गजेन्द्रसँग सम्पर्क नभएकाले उनकी श्रीमतीको खातामा भाडा पठाउने गरेको खुलेको भन्दै जाहेरीमा सात जनाबाट लिएको रकम फिर्ता गर्न माग छ । उनीहरुले एक करोड ४९ लाख रुपैयाँ फिर्ता हुनुपर्ने माग गरेका थिए ।

मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले बुढाथोकीलाई भेट्न सकेन । अनि फरार देखिएको भन्दै ३० फागुन २०७९ मा जिल्ला अदालत, दाङमा ठगी मुद्दा चलायो ।

बुढाथोकी अदालतमा पेस भएका छैनन, अदालतले भने प्रमाण बुझ्ने आदेशमात्रै गरेको छ, मुद्दा अघि बढेको छैन ।

नक्कली शरणार्थी प्रकरणवारे बुढाथोकीले १८ जेठ २०७९ मा जिल्ला प्रहरी परिसर, काठमाडौंमा ४८ पेजको कागजातसहित जाहेरी दिएको देखिन्छ ।

जिल्ला अदालत, काठमाडौंमा पेस भएको अभियोगपत्रमा उनले आफू र चिनजानका ६१ जनाबाट सन्देश शर्माले ९ लाख ७८ हजार रुपैयाँ उठाएको उल्लेख गरेका छन् ।

उनले जाहेरीमा भनेका छन्, ‘सन्देश शर्माले श्रम, गृह मन्त्रालय र सरकारका विभिन्न निकायहरुबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा भएको निर्णय र सोसँग सम्बन्धित समाचारको फोटो पठाउने काम गरी म लगायतबाट रकम लिइ अमेरिका नपठाइ रकम फिर्ता नगरी ठगी गरेको हुँदा कारबाही गरी पाऊँ ।’

शर्माका साथै केशवप्रसाद दुलाल, सानु भण्डारीलगायतले ‘हामीले उच्च अधिकारीहरुलाई चिनेका छौं, प्रधानमन्त्रीसँग समेत कुरा गरिरहेकोले यस्तो अफर आइरहँदैन, मौकाको फाइदा लिनुहोस’ भनी आफूहरुलाई विश्वास गराएको दाबीसमेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा गजेन्द्र बुढाथोकीविरुद्ध ७ जनाले जाहेरी दिएपछि उनले प्रहरीले दिएको जाहेरीमा भने आफूलगायत ६० जनाको पैसा फसेको उल्लेख गरेका छन् ।

उनको दाबीमा आफूबाट मात्रै आरोपितहरुले ९ करोड ७८ हजार रुपैयाँ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?