+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
नक्कली भुटानी शरणार्थी प्रकरण  :

‘गृह मन्त्रालयका सचिव हौं भने, १५ लाख बुझेर गए’

गजेन्द्रले पुनः १५ लाख बोकेर अन्तर्वार्ताका लागि चितवनस्थित एउटा रिसोर्टमा आउन भने । त्यो रिसोर्टमा पुग्ने रमेश एक्ला थिएनन्, उनीसँगै दाङका अन्य केही व्यक्ति पनि थिए, जो रमेशझैं अमेरिका जाने प्रक्रिया पूरा गर्न भन्दै रिसोर्टमा आएका थिए । रिसोर्टमा गजेन्द्रसँग अरु नौला व्यक्तिहरु पनि थिए । आफूलाई उनीहरुले गृह मन्त्रालयको सचिव भनेर चिनाए ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० वैशाख २६ गते २०:१८
कर्मचारीको स्केच

२६ वैशाख, दाङ । केही वर्ष खाडीमा विताएपछि घर फर्किएका दाङ बिजौरीका रमेश (परिवर्तित नाम) पुनः विदेशिने सोचमा थिए । तर खाडीमा पाएको दुःख सम्झँदा भने उनी यसपटक अरु नै देश जान चाहन्थे । त्यहीबीचमा उनको भेट तुलसीपुरका गजेन्द्र बुढाथोकी भन्ने व्यक्तिसँग भयो ।

गजेन्द्र उनै थिए, जसले आफू अमेरिका बसेको बताउँदै सरकारी कोटामा अमेरिका पुर्‍याइदिने सपना देखाएका थिए । गजेन्द्रले उनलाई आफू १५–२० वर्ष अमेरिकामा बसेर रातो कार्ड होल्डर भएको बताउँथे । सरकारी कर्मचारीसँग पनि राम्रो चिनजान भएकाले चोर बाटो नभई नेपालबाट उडाएर सीधै अमेरिका पुर्‍याइदिने कुरा सुनाउँथे । तर गजेन्द्रले कसरी पठाउने भन्नेबारे चाहिं स्पष्ट खुलाएनन् । मात्र भन्थे, ‘सरकारी कर्मचारीसँग मिलोमतो छ । ठूला नेताहरु पनि मिलेका छन् । राम्रो पैसा बुझाए सरकारी कोटामा सीधै अमेरिका जान पाइन्छ ।’

२०७७ जेठ महिनामा गजेन्द्रले रमेशलाई काठमाडौं बोलाएर एउटा फारम भर्न लगाए । त्यसमा फोटो टाँसे र हस्ताक्षर गराए । त्यसपछि पाँच लाख रुपैयाँ बुझाउन भने । ‘त्यो फारम केका लागि थियो, हामीलाई केही भनिएन’ रमेश भन्छन्, ‘फोटो मागेर हामीलाई हस्ताक्षर गर्न लगाइयो र पाँच लाख बुझाइयो ।’

त्यसपछि गजेन्द्रले पुनः १५ लाख बोकेर अन्तर्वार्ताका लागि चितवनस्थित एउटा रिसोर्टमा आउन भने । त्यो रिसोर्टमा पुग्ने रमेश एक्ला थिएनन्, उनीसँगै दाङका अन्य केही व्यक्ति पनि थिए, जो रमेशझैं अमेरिका जाने प्रक्रिया पूरा गर्न भन्दै रिसोर्टमा पुगेका थिए ।

रिसोर्टमा गजेन्द्रसँग अरु नौला व्यक्तिहरु पनि थिए । उनीहरुले आफूलाई गृह मन्त्रालयको सचिव भनेर चिनाए । उनीहरुले पनि गजेन्द्रले जस्तै सीधै अमेरिका पठाइदिने बताए । ‘चितवनको रिसोर्टमा सरकारी नम्बर प्लेटका गाडी थिए । सरकारी कर्मचारीको जस्तै ड्रेस लगाएका दुई जना मान्छे पनि थिए’ रमेश भन्छन्, ‘उनीहरुले आफूलाई गृहमन्त्रालयका सचिव हौं भने । अनि हामीबाट १५ लाख लिए ।’

जग्गा बेचेर राखेको पैसामध्ये सुरुमा ५ लाख र पछि १५ लाख गरी २० लाख रुपैयाँ बुझाएको रमेश बताउँछन् ।

चितवनमा १५ लाख रुपैयाँ बुझाएको केही दिनपछि मेडिकल गर्न भनेर सुनसरी पुर्‍याइयो । त्यसपछि सबै प्रक्रिया पुगिसकेको बताउँदै केही समय कुर्न भनियो । उनीहरुले २०७७ सालको दशैंअघि नै अमेरिका उडाउने आश्वासन दिएका थिए । तर महिना, दुई महिना गर्दागर्दै वर्ष दिन बित्यो, उड्ने दिन आएन । ‘वर्ष दिन बित्दा पनि केही समय अझै लाग्ने भन्दै हामीलाई झुलाइयो’ रमेश भन्छन्, ‘पछि त गजेन्द्र नै सम्पर्कविहीन भए ।’

भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगीमा परेका दाङका २० जना बढी पीडितहरु अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनीहरु जिल्लामा ६० जना भन्दा बढी पीडितहरु भएको अनुमान गर्छन् ।

त्यसपछि मात्र उनले आफू ठगिएको थाहा पाए । अमेरिका जाने चक्करमा रमेशले चिनेका गजेन्द्र मात्र थिए । उनैलाई पैसा बुझाएका थिए । रमेश तुलसीपुरस्थित गजेन्द्रको घर गए । त्यहाँ पुग्दा गजेन्द्र सपरिवार काठमाडौं गएको थाहा पाए ।

गजेन्द्रबाट यसरी ठगिनेमा रमेश मात्रै थिएनन्, तुलसीपुरकै निर्मल (नाम परिवर्तन) पनि थिए । सुरुमा निर्मललाई, गजेन्द्रसहितको टोलीले कसरी अमेरिका लैजान खोज्दैछन् भन्ने पत्तो थिएन । ‘पैसा बुझाएको केही समयपछि मात्र भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागेको थाहा भयो’ उनी भन्छन्, ‘आधा पैसा बुझाइसकेका थियौं । त्यसैले जसरी भए पनि अमेरिका पुग्ने भन्नेतिर लाग्यौं ।’

दाङ घोराहीकै अर्की एकजना महिला अनिता (परिवर्तित नाम)ले भने नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जानका लागि ४५ लाख रुपैयाँसम्म बुझाएको बताउँछिन् । आफू पनि गजेन्द्र भन्ने व्यक्तिबाट ठगिएको बताउँदै उनले भनिन्, ‘चोर बाटो नभएर सीधै फ्लाइटबाटै अमेरिका जान पाइन्छ भन्थ्यो, त्यही भएर जति भन्यो त्यति बुझाउन तयार भएँ ।’

पीडितका अनुसार गजेन्द्रले आफ्ना भिनाजु, साला, भतिजलाई पनि सँगै अमेरिका पठाउन लागेको बताएका थिए । ‘हामीसँगै आफ्नै आफन्तहरुलाई पनि सँगै पठाउन लागेको भनेपछि झन् विश्वास गरियो’ अनिता भन्छिन्, ‘हामीलाई जसरी पनि अमेरिका पुर्‍याउने, नभए पैसा फिर्ता गर्ने आश्वासन दिएपछि विश्वास गर्न बाध्य भयौं ।’

दाङ तुलसीपुरकै हिमाल (परिवर्तित नाम) पनि गजेन्द्र भनिने व्यक्तिबाट आफू ठगिएको बताउँछन् । उनका अनुसार बैंक खातामा पैसा राखिदिन्छु भन्दा गजेन्द्रले मान्दैनथे, नगदै रकम माग्थे । ‘बैंक खातामा पैसा पठाइदिन्छौं वा चेक दिन्छौं भन्दा उनी मान्दैनथे’ हिमालले भने, ‘बैंकमा पठाउँदा फसिने डर देखाउँथे । नगदै बुझाउन भनियो ।’

पीडितहरुका अनुसार गजेन्द्र स्थानीय एजेन्ट मात्र थिए । गजेन्द्रले अमेरिका पठाउने काममा काठमाडौंमा बस्ने आकाश रेग्मी र दाङकै सन्देश शर्मा भन्ने व्यक्ति पनि संलग्न रहेको बताएका थिए । आकाश र सन्देशमार्फत सरकारी कर्मचारी र नेताहरुलाई पैसा बुझाएर सबै प्रक्रिया पूरा गरेर अमेरिका पठाउने बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्मा यसअघि नै पक्राउ परिसकेका छन् ।

भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगीमा परेका दाङका २० जना बढी पीडित अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनीहरु जिल्लामा ६० जना भन्दा बढी पीडित भएको अनुमान गर्छन् । ती सबै नक्कली भुटानी शरणार्थीका नाममा अमेरिका जाने भन्दै ठगीमा परेकाहरु हुन् । सम्पर्कमा आएका पीडितहरुले आफूहरु गजेन्द्र बुढाथोकी मार्फत तुलसीपुरकै सन्देश शर्मा भन्ने व्यक्तिबाट ठगिएको बताएका छन् ।

पीडितहरुका अनुसार दाङमा अमेरिका पठाइदिने नाममा प्रतिव्यक्ति १५ लाखदेखि ४५ लाखसम्म असुलिएको छ । ‘ठगिनेहरुको बिचल्ली छ । कतिलाई बैंकको कर्जाले सताएको छ, कति त घरजग्गै बेचर घरवारविहीन बनेका छन्’ घोराहीका एक पीडित भन्छन्, ‘कोही ऋण तिर्न नसकेर भारत पसेका छन्, कति घर छोडेर भागेका छन् । अमेरिका जाने सपना देख्दा बिल्लीबाठ भयो ।’

ठगीमा परेका केही पीडितहरुले गजेन्द्रविरुद्ध ठगीको उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा दिएका छन् । तर उनीहरुले उजुरीमा भुटानी शरणार्थी भनेर उल्लेख गरेका छैनन् । उजुरीमा अमेरिका पठाउने नाममा ठगेको कुरा मात्र उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले अमेरिका जाने नाममा ठगिएको भनेर थुप्रै उजुरी आए पनि भुटानी शरणार्थीका नाममा ठगीमा परेको भनेर उजुरी नआएको बताएका छन् । ‘भुटानी शरणार्थी नै बनाएर लैजाने भनेर ठगिएको भन्ने कुरा सुनिएको छ’ डीएसपी गौतमले भने, ‘तर पीडितहरु त्यसरी उजुरी लिएर आएका छैनन् । त्यस्ता पीडितहरु सम्पर्कमा आए हामी सघाउँथ्यौं ।’

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?