News Summary
Generated by OK AI. Editorially reviewed.- सुधन गुरुङले ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका ११ दिन बितिसक्दा पनि नयाँ गृहमन्त्री नियुक्त गरिएको छैन।
- राजीनामा दिँदा गुरुङले सेयर लगत लुकाएको विषयमा छानबिन हुनुपर्ने बताएका थिए र छानबिन अझै अघि बढेको छैन।
- प्रधानमन्त्री बालेन शाहले गृह मन्त्रालय आफैं मातहत राखेका छन् र गुरुङका स्वकीय सचिव जेम्स कार्की मन्त्रालयको काम–कारबाहीमा सक्रिय छन्।
२० वैशाख, काठमाडौं । सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएको आइतबार ११ दिन पूरा भयो । रास्वपाका सांसद गुरुङले ९ वैशाखमा प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका थिए ।
सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लगत लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि गुरुङ विवादमा आएका थिए ।
व्यवसायी दीपक भट्टको कम्पनीमा गुरुङको सेयर देखिएको थियो, जुन उनले सम्पत्ति विवरण सार्वजनिक गर्दा भने देखाएका थिएनन् । यही विषयमा विवाद भएपछि उनले छानबिनलाई सहयोग गर्ने बताउँदै ९ वैशाखमा राजीनामा दिएका थिए ।
राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’

गुरुङले मन्त्री पदबाट राजीनामा दिए पनि उनीमाथिको छानबिन भने अघि बढेको छैन । यता, १६ वैशाखमा रास्वपाका सभापति रवि लामिछानेले भने यस विषयमा बोल्दै चाँडै छानबिन प्रक्रिया अघि बढ्ने बताएका थिए ।
सिंहदरबारमा सञ्चारकर्मीसँग उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताउँदै भनेका थिए, ‘मलाई लाग्छ, छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं । उहाँले ममाथि पनि छानिबन होस् । अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’
यता, गुरुङले राजीनामा दिएको ११ दिन बितिसक्दा पनि गृहमन्त्री भने कसैलाई बनाइएको छैन । गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री बालेनले गृह मन्त्रालयसमेत आफू मातहत राखेका छन् ।
देशको समग्र शान्ति सुरक्षा, सूचना संकलन, आतंकवाद गतिविधिको सूक्ष्म निगरानी र कारबाही, अपराध अनुसन्धान जस्ता गहन विषयको जिम्मेवारी पाएको गृह मन्त्रालय प्रधानमन्त्रीले नै राखेका हुन् ।
अझ अरू मन्त्रालयको जिम्मेवारीमा नपरेको काम–कारबाहीको विषयसमेत गृहमा जोडिएको छ । जसका कारण गृहमन्त्रालय निकै संवेदनशील र शक्तिशाली मन्त्रालय मानिन्छ । यो शक्तिशाली र संवेदनशील मन्त्रालय अहिले निवर्तमान गृहमन्त्री गुरुङका स्वकीय सचिवदेखि प्रधानमन्त्री शाहको निर्देशनमा चल्दै आएको छ ।
गुरुङले राजीनामा दिएर बाहिरिए पनि उनका स्वकीय सचिव जेम्स कार्की भने कारबाहीमा उत्रिरहेका छन् ।
मनोहरा बस्तीको सुकुमवासी बस्ती हटाउन त कार्की आफैं पुगेका थिए । अघिल्लो दिन भत्काउने क्रममा प्रहरीमा आक्रमण भएपछि भोलिपल्ट उनी आफैं पुगेका थिए ।

‘मान्छेले, जनताले आफैं बुझेर कोअर्डिनेट गरेकाले अहिले काम गर्न गाह्रो छैन । हामीबाट मान्छेलाई राम्रो ठाउँमा व्यवस्थित गर्ने भएकाले उहाँहरूलाई अप्ठ्यारो नपर्ने गरी काम अघि बढाउँदै गर्दा केही विरोध नआएकाले काम गर्न गाह्रो छैन,’ उनले भनेका थिए ।
कार्कीले माननीय, सचिवलगायतको कोअर्डिनेसन र निर्देशनमा काम भएको बताएका थिए । अहिले मुख्यत: प्रधानमन्त्रीको निर्देशन र जेम्स कार्की लगायतको समन्वयमा गृह मन्त्रालयको काम–कारबाही भइरहेको मन्त्रालय स्रोतको भनाइ छ ।
करिब दुई साता बित्न लाग्दासमेत अहिलेसम्म गृहमन्त्री नहुनु, सुधन गुरुङकै स्वकीय कार्की निरन्तर काममा हुनुले पुन: गृहमन्त्रीमा गुरुङ फर्केर काम गर्न सक्ने विश्लेषण पनि सुरु भएको छ ।
प्रतिक्रिया 4