+
+

रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

एजेन्सी एजेन्सी
२०८० जेठ २५ गते ८:०६
अमेरिकी राष्ट्रपति जो बाइडन

अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ ।

चीन र साउदी अरब दुवै मुलुकसँग अमेरिकाको सम्बन्ध बिग्रिएको थियो । विग्रदो कूटनीतिक सम्बन्धका कारण चार आधारमध्ये दुई आधारमा चुनौती थपिएपछि वासिङ्टन सम्बन्ध सुधारमा लागेको छ ।

गत साता चीनका रक्षामन्त्री ली साङफुले चीन र अमेरिकाबीच द्वन्द्व भएमा विश्वमा असह्य विपत्ति पैदा हुने चेतावनी दिएका थिए । यो विपत्ति टार्नका लागि बेइजिङ वासिङ्टनसँग संवादका लागि तयार रहेको बताएका थिए ।

त्यसको केही दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले विषम परिस्थिति आउन लागेको भन्दै सामनाका लागि तयार हुन आफ्ना सेनालाई निर्देशन दिएका थिए ।

अमेरिकी विदेशमन्त्रीको बेइजिङ भ्रमणको तयारी

बेइजिङबाट वासिङ्टनले प्राविधिक तथा सैन्य कारणले सुरक्षा खतरा रहेको बताउँदै आएको छ । पछिल्लो समय राष्ट्रपति सी र रक्षामन्त्री लीबाट यस्तो चेतावनी आएपछि वासिंटन बेइजिङसँग संवादका लागि तयार देखिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सम्बन्ध सुधारको प्रयासस्वरूप बेइजिङ भ्रमण गर्ने तयारी थालेका छन् । दशकदेखि चिसिएको द्वीपक्षीय सम्बन्ध सुधारका लागि उनी यही महिना चीन जाने बताइएको छ । सम्भवत यसै साता उनी बेइजिङ पुग्ने अड्कलबाजी भइरहेको छ ।

फेब्रुअरीदेखि उनले बेइजिङ जाने तयारी थाले पनि हालसम्म पुगेका छैनन् । अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन पठाएको घटनापछि वासिङ्टन बेइजिङसँग थप रूष्ट बनेको थियो । ब्लिंकेनले बेइजिङ भ्रमण गरेर संवाद अघि बढेमा दुई मुलुकबीचको सम्बन्ध लयमा फर्किने अपेक्षा राखिएको छ ।

गत नोभेम्बरमा इन्डोनेसियाको राजधानी बालीमा भएको जी–२० सम्मेलनमा दुवै मुलुकका राष्ट्र प्रमुखहरुले सम्बन्ध सुधारका लागि आफूहरू तयार रहेको बताएका थिए । यसका लागि दुवै पक्षबाट सौहार्द संवादको पहल हुने उनीहरूको उदघोष थियो । तर जासुसी बेलुन प्रकरणका कारण कुनै पहलकदमी हुन सकेन ।

हालै जापानको हिरोसिमामा भएको जी–७ राष्ट्रको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई मुलुकको सम्बन्ध बेलुन प्रकरणपछि निकै चिसिएको बताएका थिए ।

बाहिर यस्तो चर्चा गरे पनि भित्र–भित्र भने ह्वाइटहाउसले सम्बन्ध सुधारको पहल जारी नै राखेको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । गत साता मात्रै सीआईएका निर्देशक बिल बनर्स चीनमा गोप्य रूपपले पुगेका थिए । चीनले निमन्त्रणा गरेपछि उनी त्यहाँ पुगेको ह्वाइटहाउस स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडन

गत सोमबार मात्रै अमेरिकी विदेश मन्त्रालयका पूर्वी एशिया मामिला प्रमुख डेनियल किटेनब्रिक र राष्ट्रिय सुरक्षा परिषदका सराह बेरनले बेइजिङमा आफ्ना समकक्षीसँग संवाद गरेको फाइनान्सियल टाइम्सले लेखेको छ । त्यो संवाद निकै सौहार्द र परिणामुखी भएको उनीहरूले आफ्ना निकटवर्तीसँग बताएका थिए ।

गत महिनामात्रै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भियनामा चिनियाँ विदेश मामिलाका उच्च अधिकारी वाङ यीसँग दुई दिन वार्ता गरेका थिए । हाल ह्वाइटहाउसले बाइडेन र सीको टेलिफोन वार्ता गराउन खोजिरहेको छ ।

ब्लिंकेनले फेब्रुअरीको भेटवार्ता स्थगित गरेपछि बेइजिङले उनीसँग वार्तामा बस्न अनिच्छा दर्शाएको थियो । ब्लिंकेन चीनमै हुँदाका बखत एफबीआईले जासुसी बेलुन बारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेर उनको मुड खराब गर्ने परिस्थिति भएकाले ब्लिंकेनले भ्रमण स्थगित गरेको ह्वाइटहाउसका अधिकारीहरू बताउँछन् ।

सम्बन्ध सुधारका लागि दुई मुलुकका कूटनीतिक वा सैन्य संयन्त्र मात्रै होइन वाणिज्य मन्त्रीले पनि पहल गरेका थिए । हालसालै चीनका वाणिज्य मन्त्री वाङ वोन्तोले अमेरिकी वाणिज्य मन्त्री गीना रिमोन्दोसँग भेटेर दुई मुलकको व्यापारिक सम्बन्ध सुदृढीकरणबारे छलफल गरेका थिए ।

बेइजिङले वासिङ्टनमा हालसालै आफ्नो राजदूत पनि पठाएको छ । विदेशमन्त्रीमा क्वीन गाङ नियुक्त भए पनि अमेरिकामा राजदूत पठाउन चीनले ढिलाइ गर्दै आएको थियो ।

दुई मुलुकको सैन्य संयन्त्रको सम्बन्ध भने हाल चिसिएको छ । चीनका रक्षा मन्त्री ली साङफुले अमेरिकी समकक्षी लोएड अस्टिनसँग भेटका लागि स्वीकार गरेका थिए । आफ्नो सेनापतिमाथि अमेरिकी प्रतिबन्धका कारण उनले भेट्न अस्वीकार गरेका हुन् । यसका अलावा साउथ चाइना सीमा चीनको सैन्य अभ्यासले दुई मुलुकको सैन्य संयन्त्रको सम्बन्ध चिसिएको छ ।

चीनले इरान र अरबलाई मिलाएपछि इजरायल र अरबको सम्बन्धमा पनि सुधार ल्याउन सक्रिय हुने बताएसँगै अमेरिकाले अरबमा कूटनीतिक सक्रियता देखाएको जानकारहरूको मत छ ।

चीनसँग कूटनीतिक सम्बन्ध सुधारका लागि पहल बढाएको अमेरिकाले साउदी अरेबियासँग पनि संवाद अघि बढाएको छ । मध्यपूर्वमा चिनियाँ मध्यस्थतापछि इरान र अरबको मिल्तीयता अमेरिकाले साउदीसँग कुनै संवाद गरेको थिएन ।

हालै भने विदेशमन्त्री ब्लिंकेनले साउदीका राजकुमार मोहम्मद बिन सलमानसँग संवाद गरेका छन् । ब्लिंकेनले सलमानसँग मध्यपूर्वमा स्थायित्व समृद्धि र सुरक्षाका सवालमा कुराकानी गरेको विदेश मन्त्रालयका प्रवक्ता म्याथु मिलरले बताएका छन् । यमनमा शान्ति स्थापना गरेर मध्यपूर्वमा स्थायित्व स्थापनाबारे ब्लिंकेनले प्रतिबद्धता जनाएको मिलरले बताए ।

भेटमा ब्लिंकेनले साउदी अरबमा मानव अधिकारको स्थिति सुदृढ रहेको भन्दै प्रशंसा गरेको मिलरको भनाइ छ । ‘मानव अधिकारको स्थितिमा सुधार आएसँगै वासिङ्टन र रियादको सम्बन्ध थप बलियो हुने विश्वास छ’, ब्लिंकेनको भनाइ उद्धृत गर्दै मिलरले भनेका छन् । उनले युद्धग्रस्त सुडानबाट अमेरिकी नागरिकको उद्दारमा सहयोग गरेको भन्दै अरबलाई धन्यवाद समेत दिएका छन् ।

तीनदिने भ्रमणमा उनले साउदीका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेट गरेका छन् । ब्लिंकेनसँगै त्यहाँ सुरक्षा सल्लाहकार जेक सुलिभान पनि पुगेका थिए ।

अरबमा अमेरिकाको कूटनीतिक सक्रियता

साउदी अरबले तेलको उत्पादन कटौती गर्ने निर्णय लिएको भोलिपल्टै ब्लिंकेन त्यहाँ पुगेका हुन् । पेट्रोलियम पदार्थको सवालमा रूससँगको साझेदारी अमेरिकाले रोकेपछि रियाद वासिङ्टनसँग रूष्ट छ । आफ्नो कच्चा तेललाई विश्व बजारमा सरल पहुँचका लागि अमेरिकाले बाधा खडा गरिरहेको रियादको आरोप छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन र साउदी अरबका राजा मोहम्मद विन सलमान

ब्लिंकेन अरबमा विगतको अमेरिकी प्रभाव फर्काउन र पेट्रोलियम पदार्थको उत्पादनबारे रियादको निर्णय सच्याउने पहलका लागि त्यहाँ पुगेको विश्लेषण भइरहेको छ । चीनले इरान र अरबलाई मिलाएपछि इजरायल र अरबको सम्बन्धमा पनि सुधार ल्याउन सक्रिय हुने बताएसँगै अमेरिकाले अरबमा कूटनीतिक सक्रियता देखाएको जानकारहरूको मत छ ।

‘रियाद र बेइजिङको झाँगिदो सम्बन्धले अमेरिका तनावमा छ । सम्बन्ध उनीहरूको सम्बन्ध थप निकट नहुने स्थिति बनाउनका लागि ब्लिंकेन त्यहाँ पुगेका हुन्’, डिफेन्स अफ डेमोक्रेसी संस्थाका वरिष्ठ सल्लाहकार रिचार्ड गोल्डवर्ग भन्छन् ।

रियाद र वासिङ्टनको सम्बन्ध सन् २०१९ देखि विग्रिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति हुनुअघिको अभियानमा रियादलाई असामाजिक भनेका थिए  । आफू राष्ट्रपतिमा निर्वाचित भए रियादलाई त्यसैगरी व्यवहार गर्ने उनको उदघोष थियो ।

सन् २०२१ मा बाइडेन प्रशासनले आफ्नो जासुसी संयन्त्रको प्रतिवेदन सार्वजनिक गर्दै वासिङ्टनका स्तम्भकार जमाल खसोजीको हत्या राजकुमार सलमानको निर्देशनमा भएको बतायो । त्यसपछि दुई मुलुकको सम्बन्धमा थप चिसोपना आयो ।

– एजेन्सीको सहयोगमा

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?