+
+

यस वर्षको मिस वर्ल्ड भारतले आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १६:३५

काठमाडौं । भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले उक्त घोषणा गरेको हो । दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो ।

भारतलाई आयोजकको रुपमा चिनाउँदै जारी वक्तव्यमा उल्लेख छ, ‘भारतलाई यो प्रतिष्ठित सम्मान प्रदान गर्ने निर्णयले उक्त राष्ट्रको समृद्ध सांस्कृतिक सम्पदा, विविधता प्रवद्र्धन गर्ने प्रतिबद्धता र महिला सशक्तीकरणको उनको संकल्पलाई मान्यता दिन्छ ।’

भारतमा हुने ग्राण्ड फिनालेले परोपकारी कार्यलाई बढावा दिंदै, प्रतिस्पर्धीलाई उनीहरूको समुदायमा सकारात्मक प्रभाव पार्न र समाजमा योगदान पुर्‍याउन प्रेरणा दिने आशा लिएको अर्गनाइजेसनले जनाएको छ । भारतबाट बलिउड अभिनेत्रीहरु ऐश्वर्या राय, प्रियंका चोपडा, मानुषी छिल्लर, युक्ता मुखेले यसअघि मिस वल्र्डको ताज जितेका छन् ।

अर्गनाइजेसनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुलिया मोर्लेले उक्त घोषणा गर्दै भनेकी छन्, ‘म भारतलाई ७१ औं मिस वर्ल्ड फिनालेको नयाँ घरको रुपमा घोषणा गर्न पाउँदा खुसी छु । ३० वर्षअघि मैले यो अविश्वसनीय देशको भ्रमण गरेको पहिलो क्षणदेखि नै मलाई भारतप्रति ठूलो माया लागेको छ ।’

उनी अगाडि भन्छिन्, ‘हामी तपाईंको अद्वितीय र विविध संस्कृति, विश्वस्तरीय आकर्षक थलोलाई साझा गर्न धेरै प्रतीक्षा गर्न सक्दैनौं । मिस वर्ल्ड लिमिटेड र पीएमई इन्टरटेनमेन्टले एक असाधारण मिस वर्ल्ड फेस्टिभल आयोजना गर्नको लागि हातेमालो गर्दैछन् ।’ मिस वर्ल्डको ७१ औं संस्करणमा १३० मुलुकले प्रतिस्पर्धा गर्ने र अहिलेसम्मकै भव्य ग्राण्ड फिनाले हुने समेत उनले बताइन् ।

आगामी नोभेम्बर र डिसेम्बर महिनामा फिनाले आयोजनाको तयारी भइरहेको छ । भारतको पर्यटकीय थलो गोवामा फिनाले हुने अनुमान छ । एक महिना लामो अवधिमा सहभागीले विभिन्न राउण्डको प्रतिस्पर्धा गर्नुपर्ने पनि उल्लेख गरिएको छ । उक्त पत्रकार सम्मेलनमा वर्तमान मिस वर्ल्ड क्यारोलिना बिलावास्का पनि सहभागी थिइन् ।

मिस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व मिस नेपाल २०२२ प्रियंकारानी जोशीले गर्दैछिन् । यस वर्षको प्रतियोगिता यूएईको दुबईमा हुने भनिए पनि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?