+
+

उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेले दिए सशर्त राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १७:२०

२५ जेठ, काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी न्यौपानेले शर्तसहित राजीनामा दिएका छन् । २१ जेठमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर महाप्रबन्धक न्यौपानेले ३२ जेठसम्मको अल्टिमेटम दिएर सर्शत राजीनामा बुझाएका हुन् ।

आर्थिक रुपमा टाट पल्टिंदै गएको सिमेन्ट उद्योग पछिल्लो दुई महिनादेखि बन्द अवस्थामा छ ।
उद्योगको पुनर्संरचना नगरी चलाउन सक्ने अवस्था नभएपछि मन्त्रालयले आवश्यक सहयोग नगरे आफूले काम गर्न नसक्ने अवस्थामा पुगेको जानकारी मन्त्री रिजाललाई गराएको न्यौपानले बताए ।

‘मैले १५ पेजको माग पत्रसहित उद्योगको समस्या बुझाएको छु,’ महाप्रबन्धक न्यौपानेले भने, ‘त्यो हल नभए यसै महिनादेखि म यहाँ नरहने जानकारी पनि सोही पत्रमा छ ।’

तत्काल उद्योगको पुनर्संरचनाका लागि १५ करोड रुपैयाँ चाहिने, कर्मचारीको पुनर्संरचना गरिनु पर्ने लगायतका माग मन्त्री रिजालसमक्ष राखेको न्यौपानेले बताए ।

न्यौपानेलाई २०७७ पुस २० को मन्त्रिपरिषद्को बैठकबाट २ वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरिएको थियो । कार्यकालको अधिकांश समय विवादमा परेका न्यौपानेलाई उद्योगको विकास गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग उनकै कार्याकालमा कोइला, बिजुली जस्ता आधारभूत वस्तुको अभावमै बन्द हुन पुगेको थियो ।

विद्युतको बक्यौता नतिरेको भन्दै लाइनसमेत काटिएको उद्योगमा चार वटा कर्मचारी संगठनले निरन्तर आन्दोलन र अवरोध गर्दा पनि उनले समन्वयन गर्न नसकेको आरोप छ । कुशल व्यवस्थापन अभावका कारण समस्यामा परेको उद्योगमा कार्यकाल सकिंदा पनि पुनः न्यौपाने महाप्रबन्धका नियुक्त भएका थिए । २० पुस २०७९ मा कार्यकाल सकिन लागेका न्यौपानेलाई ७ असोज २०७९ मा सरकारले पुनः एक वर्षका लागि महाप्रबन्धकको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?