+
+
गगनलाई खुलापत्र :

कांग्रेस बिग्रनुमा देउवामात्र दोषी कि तपाईं पनि ? 

तपाईंले सभापति नमान्ने, अरूले महामन्त्री नमान्ने, जिल्लाले जिल्ला सभापति नमान्ने, क्षेत्रले क्षेत्रीय सभापति नमान्ने, पालिकाले पालिका सभापति नमान्ने, वडाले वडा सभापति नमान्दै जाने हो भने कहाँ कहाँ विशेष महाधिवेशन बोलाउनुहुन्छ ?

गणेश भट्टराई गणेश भट्टराई
२०८० जेठ २८ गते १४:२१
आदरणीय गगन थापाज्यू,
महामन्त्री, नेपाली कांग्रेस
आदरणीय दाइ सर्वप्रथम मैले तपाइँप्रति गर्नुपर्ने मान–सम्मान, सम्बोधन सबै एकमुष्ट गरेको छु । मेरो स्थायी ठेगाना सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका र अस्थायी काठमाडौं । पेशाले विद्यार्थी । उमेर ३१ वर्ष । हाल नेपाली कांग्रेसको क्रियाशील सदस्य । साथै बीपी कोइरालाले सिर्जना, परिकल्पना गर्नुभएको सिद्धान्त, बोक्नुुभएको विचार र देख्नुभएको सपनालाई बोकेर हिंड्ने तपाइँ दाइहरूको राजनीतिक उत्तराधिकारी तथा अनुयायी ।
आदरणीय दाइ ! तपाइँ आज नेपालको राजनीतिमा नेपाली कांग्रेसको मात्र नभई सिंगो नेपालको एक सशक्त युवा नेता हुनुहुन्छ । तपाइँ आजको युवा पुस्ताले मात्र होइन, किशोर, तरुण, विद्यार्थी, प्रौढ वा वृद्धवृद्धा जो कसैको पनि एउटा आशा र भरोसा बोकेको नेतृत्व हुनुहुन्छ । नेपाल र नेपाली राज्य व्यवस्था परिवर्तनको लागि तपाइँले गर्नुभएको योगदान मूल्यवान् छ ।
नेपाली राजनीतिक रूपान्तरणमा तपाइँले देखाउनुभएको बाटो अनुकरणीय छ । समकालीन राजनीतिमा तपाइँको त्याग, तपस्या र समर्पण पार्टीभित्र मात्र होइन पार्टी बाहिर र समग्र विश्वलाई एकै दृष्टिमा हेर्ने हो भने पनि अतुलनीय छ ।
कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा तपाइँले सक्रिय सहभागिता जनाउनुभएको थियो । २०५२–२०६२ सालको सशस्त्र युद्धको समयमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका विभिन्न जिम्मेवारी, स्ववियु सदस्य, सचिव, सभापति हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसम्म बन्नुभएको थियो ।
एकातिर तत्कालीन विद्रोही पक्षका निशानी अर्कोतिर शाही दरबारियाहरूको रेड नोटिस बीच राज्य व्यवस्था परिवर्तन, जनताको दैनिक जनजीविका, स्वतन्त्रता र मानवअधिकार प्राप्तिका लागि आफूलाई जीवन मृत्युको दोसाँधमा राखी गर्नुभएको समर्पण अत्यासलाग्दो छ । दर्जनौं पटकको गिरफ्तारी, जेलनेल, अनेकौं किसिमका मुद्दा–मामिला तथा घाइते शरीरलाई कुनै पर्वाह नगरी सडक आन्दोलन गर्दै २०६२÷६३ को जनआन्दोलनबाट जनअधिकार स्थापित गराउन तपाइँको भूमिका उल्लेखनीय छ ।
यही अद्भुत क्षमताले नै तपाइँलाई लोकप्रिय मतका साथ नेपाली कांग्रेस जस्तो नेपालकै ऐतिहासिक र सबैभन्दा ठूलो पार्टीको केन्द्रीय महामन्त्री जस्तो गरिमामय पदमा पुर्‍याएको छ । त्यति मात्र होइन, तपाइँ भाग लिन थाल्नु भएदेखिका हरेक निर्वाचनमा लोकप्रिय मतका साथ सदनमा उपस्थित हुने अवसर प्राप्त गर्नुभएको छ ।
तर पछिल्लो समय तपाइँको राजनीतिक विचार, स्पिरिट, धैर्य, संयमता र प्रस्तुतीकरणमा आएको हलचल, आक्रोश, आवेग वा भनौं हठात् प्रतिक्रिया दिने व्यवहारले तपाइँको खास कुरा के हो भन्नेमा भ्रम सिर्जना गरेको छ । यसले आम नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्तामा मात्र होइन समकक्षी प्रतिस्पर्धी दलका कार्यकर्ता तथा सिंगो जनमानसमा एक किसिमको अस्थिरता, असन्तुलन, अन्तरविरोध, अविश्वास, डर वा उदासीनता पैदा भएको महसुस भएकाले केही प्रश्न सहित यो चिट्ठी लेख्ने कोसिस गरेको छु ।
आशा छ, यसलाई तपाइँले देख्नुहुन्छ, पढ्नुहुन्छ र बुझ्नुहुन्छ । जवाफ आफूले आफैंलाई वा म लगायत चासो राख्ने सबैलाई सार्वजनिक रूपमा दिनुहुन्छ ।
१. तपाईंले पार्टी नेतृत्वमा देखाउनुभएको चञ्चलता र तीव्र गुट परिवर्तन अवसरवाद कि आवश्यकता ? 
आदरणीय दाइ म तपाइँको राजनीतिक जीवनको धेरैअगाडि त पुग्न सकिनँ तर सुशील कोइराला सभापति बन्नुभएको नेपाली कांग्रेसको १२औं महाधिवेशनमा उहाँको गुटबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्य बन्नुभयो । तपाइँ १३औं महाधिवेशनमा सोही गुटका आफूभन्दा अग्रज नेताहरूलाई बाइपास गर्नकै लागि तपाइँकै डिजाइनमा कृष्णप्रसाद सिटौलाको नेतृत्वमा उपगुट खडा गरी महामन्त्रीको उम्मेदवार बन्नुभएको थियो ।
सिटौला गुटको लज्जास्पद हारपश्चात् पार्टी सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा आफ्नो पुरानो गुटका नेता रामचन्द्र पौडेललाई भोट नहाली विपक्षी गुटका नेता शेरबहादुर देउवालाई भोट हाल्नुभयो । हालै सम्पन्न १४औं महाधिवेशनमा आइपुग्दा कृष्णप्रसाद सिटौलाको गुट परिवर्तन गरी पुनः रामचन्द्र पौडेलको गुटमा आई सोही गुटबाट रामचन्द्र पौडेललाई नै किकआउट गरी आफू महामन्त्री बन्नुभयो ।
त्यति मात्र होइन, गुटकै कारण तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको आडमा नेपाली कांग्रेसकी एक अथक् नेतृ सुप्रभा घिमिरेलाई संविधानसभा निर्वाचनमा सभासद्को टिकटबाट वञ्चित गराई नेपाली राजनीतिबाटै अस्ताउने काम पनि गर्नुभयो । ठूला महत्वाकांक्षा राख्दै आफ्नो लागि महत्वपूर्ण पद प्राप्तिकै लागि तपाइँले देखाउनुभएको यस खालको गतिविधि के सामान्य किसिमको हो र ?
कि तत्कालीन समयको आवश्यकता नै थियो ? अथवा पार्टीभित्र एउटा युवा नेतृत्वको लागि पार्टीको चाहना थियो ? यदि केही थिएन भने तपाइँको यस किसिमको चञ्चलता र तीव्र गुट परिवर्तन गर्ने चरित्रलाई अवसरवाद किन नभन्ने ?
२. तपाईंको गुटको नाम शेखर–गगन समूह कि संस्थापन इतर पक्ष ? 
आदरणीय दाइ, नेपाली कांग्रेस लोकतन्त्रको पक्षपोषक भएकाले आन्तरिक प्रतिस्पर्धा, आन्तरिक निर्वाचन मार्फत नेतृत्व चयन र त्यसका लागि समूह गठनलाई सामान्य र स्वाभाविक हुने गर्दछ । हामीले सुन्दै, भोग्दै र जान्दै आएको कुरा के हो भने नेपाली कांग्रेसको महाधिवेशन पश्चात् पार्टीमा रहने गुट भनेको संस्थापन पक्ष (सभापति हुनेको पक्ष) र संस्थापन इतर पक्ष वा फलानो नेता पक्ष हो ।
तर पार्टीको १४औं महाधिवेशनबाटै तपाइँले आफ्नो समूहको नाम शेखर कोइराला समूह वा शेखर कोइराला पक्ष नराखेर शेखर–गगन समूह भनेर प्रचारप्रसार गर्ने, ब्यानर बनाउने गर्नुभयो र हालसम्म पनि गर्दै आइरहनुभएको छ । यसको उद्देश्य के हो र यो केका लागि गरिएको हो, त्यो सार्वजनिक हुनुपरेन र ?
यसको मतलब शेखर कोइराला र गगन थापाको राजनीतिक मर्यादा बराबर भन्न खोजेको हो ? वा यो गुटको नेतृत्व शेखर कोइराला र गगन थापाले आधा–आधा गर्नुहुन्छ भन्ने सन्देश दिन खोज्नुभएको हो ? वा यस गुटमा शेखर कोइरालाको उत्तराधिकार भनेको गगन थापा मात्रै हो भन्न खोज्नुभएको हो ?
वा पार्टीले लिने हरेक अवसर र प्रतिफलका लागि शेखर कोइरालाको भाग हिस्साको आधा हकदार गगन थापा हो भन्न खोज्नुभएको हो ? अथवा आफ्नो पपुलारिजम् मात्र हो ? यदि पपुलारिजमका लागि हो भने तपाइँलाई कार्यकर्ताले कुन रूपमा बुझ्ने ?
३. पार्टीले पाउने जस अपजसको हकदार पार्टी सभापति मात्र कि महामन्त्री पनि ? 
सबैलाई थाहा छ, पछिल्लो समय पार्टी अनियमित, असन्तुलित तथा अशोभनीय ढंगले संचालन हुँदै आएको छ । विधान बमोजिम संचालन हुनुपर्ने पार्टी नेतृत्वहरूको व्यक्तिगत इच्छा, चाहना र उद्देश्य अनुरूप संचालन भइरहेको छ । केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन, सबै भ्रातृ संगठनहरूको अवस्था कन्तबिजोग छ । कतिपय भ्रातृ संगठनहरूले एकल नेतृत्व पाई कार्यकाल व्यतीत भएको वर्षौं भइसक्यो भने कतिपय निष्क्रिय भइसके ।
चुनावमा टिकट लिनका लागि नेता, कार्यकर्ताले पार्टीमा पु¥याएको योगदान, दक्षता, क्षमता, कार्यकुशलता भन्दा पनि नातावाद र अवसरवाद व्याप्त छ ।
तर आदरणीय महामन्त्रीज्यू पार्टीको यस किसिमका अनुचित गतिविधिमा तपाइँको पनि संलग्नता छैन र ? पार्टीको यस किसिमको गतिविधिमा शेरबहादुर देउवा र तपाइँको प्रवृत्ति उस्तै भएन र ? उदाहरणका लागि नेपाल विद्यार्थी संघको नियमित अधिवेशनको क्रमभंगता तपाइँहरूको कार्यकाल सँगसँगै सुरु भएको हो ।
प्रदीप पौडेल सभापति भएपश्चात् एउटा नाम मात्रको अधिवेशन भए पनि आजसम्म नेपाल विद्यार्थी संघको नेतृत्व टीके प्रथामा नै चलेको छ । त्यसको विरुद्धमा कुनै अग्रसरता लिनुभएको छैन । नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हदबन्दी लगाई तपाइँको जस्तै कथा, व्यथा र पीडा बोकेका हजारौं विद्यार्थी नेताको राजनीतिक भविष्य सकिंदा कतै बोल्नुभएको छैन । उल्टै पार्टीमा सधैं आफू युवा नेता रहिरहन मौन समर्थन गर्नुभएको छ ।
गठनमा टिके प्रथालाई प्रश्रय दिंदै पार्टी भित्रका हरेक तह र तप्कामा भाग खोज्दै आफू र आफ्नालाई मात्र संरक्षण गर्ने प्रवृत्ति तपाइँको पनि देखिन्छ । उदाहरणका लागि तपाइँले आफ्नो बगलीका कुनै एक युवा नेतालाई गण्डकी प्रदेश सभाको उम्मेदवार बनाउनुभएको थियो । लुम्बिनी लगायत अन्य प्रदेशतिर पनि तपाइँका खल्तीबाट बन्नुभएका उम्मेदवार हुनुहन्छ ।
कयौं सिनियर नेतृत्व छोडेर तपाइँको कोटामा कति जनालाई सांसद सिफारिस र सांसद बनाउनुभएको छ प्रष्ट नै छ । त्यति मात्र होइन पार्टीको स्थानीय तहदेखि जिल्ला तहसम्मको अनुशासन समितिले कारबाहीको लागि सिफारिश गरेका कैयौं व्यक्ति तपाइँकै दबाबमा तपाइँकै कोटाबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बनाउनुभएको नामहरू बिर्सनुभयो र ?
यदि सम्झना छ र तथ्य सही हो भने तपाइँलाई असल नेतृत्व भन्ने आधार कुन ? शेरबहादुर देउवाले पार्टी बिगार्नुभएको कि तपाइँले पनि ? अनि पार्टी बिग्रनुको दोष देउवा मात्र कि तपाइँहरूको प्रवृत्ति पनि ? आम नेता, कार्यकर्ताले बुझ्न पाउनुपर्छ कि पर्दैन ?
४.  गठबन्धन, रेशम चौधरी, नागरिकता विधेयकका लागि के शेरबहादुर देउवा मात्र दोषी हुन् ? 
आदरणीय दाइ, विशेषगरी नेपाली कांग्रेसको १४औं महाधिवेशन पश्चात् देउवा विरुद्ध प्रस्तुतीकरण दिन थाल्नुभएको तपाइँ स्थानीय तहको निर्वाचन, संघ तथा प्रदेशको निर्वाचन, नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै नेपाली कांग्रेसले सत्ता गुमाउँदा र पुनः प्राप्त हुँदै आजसम्म आइपुग्दा देउवा विरुद्ध उग्र रूपमा प्रस्तुत हुनुभएको छ ।
त्यसले आम जनमानसमा के प्रभाव परेको छ भन्ने समेत हेक्का रहेको जस्तो लागेको छैन । यसले तपाइँलाई के–कति फाइदा पुगेको छ त्यो तपाइँले स्वमूल्याङ्कन गर्नुभएको होला तर आम नेता–कार्यकर्ता तथा सर्वसाधारण माझ तपाइँका यस खालका गतिविधिले पार्टीप्रति द्वेष फैलने, वितृष्णा पैदा हुने, नेपाली कांग्रेस सत्ता र शक्तिको लागि नातावाद, पूँजीवाद र अवसरवादलाई प्रश्रय दिने पार्टी हो भन्ने बुझाइ हुन पुगेको छ ।
विशेषगरी पछिल्लो समय तपाइँले उठान गर्नुभएको महत्वपूर्ण विषयहरू नेपाली कांग्रेसको अन्य दलसँग गठबन्धन, नागरिकता विधेयक, रेशम चौधरीको कैद माफी–मिनाहा नै हुन् । तपाइँले यी कामहरूमा पार्टीले लिएको निर्णयले यो त सर्वस्व भयो, यो सब काम शेरबहादुर देउवाले गरे भन्ने हिसाबले अभिव्यक्ति दिनुभएको छ ।
आदरणीय महामन्त्रीज्यू यसको लाभहानिको विषय गम्भीर होला तर के गठबन्धन नभएको भए तपाइँले निर्वाचन जित्नुहुन्थ्यो त ?
तपाइँलाई चित्त नबुझेको गठबन्धनबाट किन उम्मेदवार बन्नुभयो ? त्यही गठबन्धनबाट निर्वाचन उठ्ने, जित्ने, सरकारमा आफ्नो गुटबाट मन्त्री पनि बनाउने अनि त्यही गठबन्धनलाई गाली गर्दै हिंड्न मिल्छ र ?
अर्को कुरा, के नागरिकता विधेयक र तपाइँले भने जस्तो रेशम चौधरी कैद माफी–मिनाहा शेरबहादुर देउवाले मात्र पास गरेका हुन् त ? तपाइँको यो काममा कुनै संलग्नता छैन र ? यहाँ मलाई नागरिकता विधेयक सही वा गलत भन्नु भन्दा पनि तपाइँको फरक प्रस्तुतिको जवाफ चाहिएको हो ।
अहिलेको नागरिकता विधेयक योभन्दा अघिल्लो संसदले दुई–दुई पटक पारित गरी राष्ट्रपतिकोमा विचाराधीन विधेयक हो । एमालेको निर्देशन नभएको भए अघिल्लो राष्ट्रपतिबाटै पारित हुनुपर्ने हो । अर्को कुरा त्यस समय तपाइँ पनि विधेयक पास गर्ने सत्तारुढ दलको सांसद हुनुहुन्थ्यो तर विधेयकको विपक्षमा चुइँक्क पनि बोल्नुभएन किन ?
तपाइँले आफ्नै पार्टीको सभापतिलाई लगाएको आरोप जस्तो देश डुब्ने विधेयकको विपक्षमा उही बेला किन मत नदिनुभएको ? पत्रकार सम्मेलन किन नगर्नुभएको ?
पार्टी ह्विप मान्न बाध्य थिएँ भन्नुहोला । ल ठीक छ पार्टी ह्विप उल्लंघनमा कारबाही हुन्थ्यो होला सांसद पद जान्थ्यो पनि होला तर महामन्त्रीज्यू, तपाइँलाई सांसद पद ठूलो कि राष्ट्र र राष्ट्रियता ठूलो ? अहिले पनि नागरिकताविहीन भएर नागरिकता पर्खिएर बसिरहेकाहरूलाई तपाइँको जवाफ के छ ? महामन्त्रीज्यू, देउवालाई एकऔंला तेर्साउँदै गर्दा बाँकी ४ औंला कता छ थाहा छ नि ?
अनि अर्को कुरा आजसम्मको राजनीतिक इतिहासमा सजाय माफी मिनाहा पाउने व्यक्ति रेशम चौधरी मात्र हुन् र ? कुनै एक समय मुद्दा फिर्ता हुनेमा तपाइँ स्वयं पनि होइन र ?
के रेशम चौधरीको मुद्दामा सरकार पक्षको कमजोरी र लापरबाही छैन र ? लाल आयोगको प्रतिवेदन बारे कहींकतै बोल्नुभएको छ ? रेशम चौधरी लगायतकै रिहाइको मुख्य एजेण्डा बोकेर ल्याएको ४ जना प्रत्यक्ष प्रतिनिधि सभा सदस्य सहित ४ लाखभन्दा बढी मत दिने व्यक्तिहरूलाई तपाइँको जवाफ के छ ? कि उनीहरूप्रति तपाइँको कुनै दायित्व छैन र ?
५. तपाइँहरूको पार्टी रूपान्तरण अभियान पार्टी सुधार कि विखण्डनका लागि ? 
आदरणीय महामन्त्रीज्यू, तपाइँको डिजाइनमा पछिल्लो समय विशेष महाधिवेशन र पार्टी नेतृत्व परिवर्तनको माग राख्दै देशैभरि पार्टी रूपान्तरण र सुदृढीकरणको नाममा गुट भेला भइरहेका छन् । यी गुट भेलाहरू पार्टी सुदृढीकरणमा भन्दा पनि नितान्त सभापति शेरबहादुर देउवाको बहिर्गमन र पार्टी नेतृत्वमा युवा नेतालाई विराजमान गराउने उद्देश्य छ । तपाइँका भेलामा पार्टी संचालनमा देखिएको कमि–कमजोरी र त्यसको सुधार भन्दा पनि सबै कमजोरीको दोष शेरबहादुर देउवामा थुपार्ने र त्यसको समाधान भनेको शेरबहादुर देउवाको बहिर्गमन मात्र हो भन्ने निष्कर्ष केन्द्रित छ ।
त्यति मात्र होइन महाधिवेशनका समयमा शेखर कोइराला समूहले ल्याएको ४० प्रतिशत मतलाई आफ्नो पोल्टाको मत ठानी विशेष महाधिवेशन गर्ने र थप बाँकी ११ प्रतिशत मत चोरेर बहुमतका साथ पार्टी सभापति बन्ने हुइयाँ कार्यकर्तालाई बाँड्नुभएको छ । तर नेपाली कांग्रेसको विधानले कहींकतै सभापति परिवर्तन हुनसक्ने वा फेर्ने परिकल्पना गरेको छैन ।
सभापतिले राजीनामा दिएको अवस्थामा वा सदस्य हुन योग्य नरहेको अवस्थामा वा अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा बाहेक पार्टी सभापति हेरफेर हुने कुरा विधानमा छैन । अविश्वासको प्रस्ताव पारित हुन दुई तिहाइ प्रतिनिधिको मत चाहिन्छ । संसदीय दलमा २५ मत ल्याउनुभएको तपाइँलाई शेखर कोइराला पक्षका कति सदस्यले साथ दिन्छन् भन्ने पनि यकिन छैन । पूरैले साथ दिए पनि दुई तिहाइ असम्भव छ ।
यस्ता असम्भव कुरालाई लिएर कार्यकर्ता बटुल्ने अनि अरूलाई गाली गर्ने प्रवृत्तिले पार्टी बलियो हुन्छ कि कमजोर ? फेरि केन्द्रबाट सुरु भएको विशेष महाधिवेशनको माग प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र हुँदै गाउँपालिका र वडासम्म आइपुगे त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? तपाइँले सभापति नमान्ने, अरूले महामन्त्री नमान्ने, जिल्लाले जिल्ला सभापति नमान्ने, क्षेत्रले क्षेत्रीय सभापति नमान्ने, पालिकाले पालिका सभापति नमान्ने, वडाले वडा सभापति नमान्दै जाने हो भने कहाँ कहाँ विशेष महाधिवेशन बोलाउनुहुन्छ ?
अर्को कुरा विधि–विधान बमोजिम लोकतान्त्रिक प्रक्रियाबाट देश तथा विदेशबाट आउनुभएका २८ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले विश्वास गरी निर्वाचित सभापतिलाई यति सस्तो बनाउने नैतिकता तपाइँलाई छ र ? के यो स्वाभाविक देखिन्छ र ?
महामन्त्रीज्यू, तपाइँ साँच्चि नै पार्टी सुदृढीकरणमा लाग्नुभएको हो भने संगठन विस्तार गर्ने, पार्टी प्रशिक्षण गर्न वा पार्टीका गतिविधिका बारेमा अनुगमन र मूल्याङ्कनमा लाग्नुपर्ने हो कि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सभापतिलाई हटाउन ? त्यसैले यी बेतुकका कुरामा अल्झिएर उदाउँदै गरेको आफ्नो भविष्य बर्बाद नबनाउनुहोस् !
अतः आदरणीय महामन्त्रीज्यू नेपाली कांग्रेसको विधानअनुसार दुई पटक भन्दा बढी सभापति हुन नपाइने व्यवस्था तपाइँलाई थाहा नभएको होइन । शेरबहादुर देउवाको अन्तिम पटक हो भन्ने पनि थाहा नभएको होइन । पार्टी तथा आम जनतामा पपुलर बन्दै आगामी महाधिवेशनमा शेरबहादुरको उत्तराधिकारी वा शेखर कोइराला गुट वा आफ्नो छुट्टै गुट स्थापना गरी आफूभन्दा अग्रज नेतालाई पछि पार्दै जसरी हुन्छ सभापति बन्नका लागि पपुलारिजमको जुन प्रस्तुतीकरण छ त्यसले एकातिर पार्टी नेता, कार्यकर्तामा दूरी बढाउँदै लगेको छ भने अर्कोतिर आम जनमानसमा नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउन थालेको छ ।
तपाइँले शेरबहादुरलाई गाली गर्दैगर्दा तपाइँको प्रस्तुतिले नेपाली कांग्रेस भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी भनेर जनताले बुझ्दैछन् । नेपाली कांग्रेस अपराधीहरूलाई माफी गर्ने, नागरिकता विधेयक पास गरी राष्ट्रियता मास्ने पार्टी भन्ने भ्रम जनमानसमा बढ्दै गएको छ । यस खालका अभिव्यक्तिले वैकल्पिक राजनीतिक दलका रूपमा उदाउँदै गरेका पार्टीका आरोपहरूलाई मलजल गर्ने र आम जनमानसमा थप भ्रम सिर्जना भइरहेका छन् ।
लोकतन्त्रमा कुनै दलहरू उदाउने वा अस्ताउने कुराले त खासै महत्व राख्दैन तर तपाइँको तीव्र महत्वाकांक्षा र यस किसिमको प्रियतावादले नेपाल विद्यार्थी संघमा महामन्त्रीमा पूर्णविराम लागेको यात्रा नेपाली कांग्रेसको राजनीतिमा पनि महामन्त्रीमा नै टुङ्गो नलाग्ला भन्न सकिन्न ।
आशा छ एकपटक पढ्नुहुन्छ, सोच्नुहुन्छ र बुझ्नुहुन्छ । आगामी दिनमा संगठन सुदृढीकरण र रूपान्तरणमा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।
उही तपाईंको पार्टीको क्रियाशील सदस्य 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?