+
+

‘बैंकले ओटीपी माग्दैन, कसैलाई पनि नदिनुस्’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १४:२०

२९ जेठ, काठमाडौं । बैंकको कर्मचारी हो भन्दै मोबाइलमा आएको ‘वान टाइम पासवर्ड’ (ओटीपी) माग गरेर ठगी गर्ने घटना बढेको भन्दै बैंकहरूले ग्राहकलाई सचेत गराएका छन् ।

‘केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्नेलगायतका विभिन्न बहाना बनाउँदै वा प्रलोभन देखाइ सोका लागि सम्बन्धित ग्राहकसँग उसको मोबाइलमा आएको नम्बर मागी ठगी गरिएको पाइएको छ,’ ग्लोबल आईएमई बैंकले सूचना प्रकाशित गर्दै भनेको छ ।

त्यस्तो विवरण माग भएमा खाताको विवरण, कार्ड नम्बर, पिन, मोबाइलमा तथा इमेलमा आउने ओटीपी जस्ता संवेदनशील सूचनाहरू कसैलाई पनि प्रदान नगर्न बैंकले ग्राहकहरूलाई आह्वान गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, स्टयान्डर्ड चाटर्ड बैंक, माछापुच्छ्रे बैंकलगायतका बैंकले पनि सोही व्यहोराको सूचना प्रकाशित गर्दै आफना संवेदनशील सूचनाहरू कसैलाई नदिन आह्वान गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि २ जेठमा एक सूचना प्रकाशित गर्दै कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि नमाग्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको थियो । ‘तपाईंले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईंको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन,’ राष्ट्र बैंकले भनेको छ, ‘विभिन्न बाहनामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन् । त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्नुपर्दछ ।’

ओटीपी भनेको एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड हो । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रूपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो । निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन वा इमेलमा मात्र प्राप्त हुने भएकोले अन्य कसैलाई पनि ओटीपी दिन नहुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा ग्राहकहरूलाई सचेत गराउनका लागि यस्तो सूचना प्रकाशित गरिएको बताउँछन् । ‘केही बैंकहरूमा यसरी ओटीपी माग गरेर ठगी भएका घटनाहरू पनि बाहिर आएका छन्, त्यसैले ग्राहकहरू सचेत हुनुपर्छ ।’

यस्तो घटनाहरूबारे सर्वसाधारणले नागरिकलाई सेचत गराउन र बैंकसँग ग्राहकको विवरण हुने भएकोले फोनबाट विवरण माग्दैनन् भनेर सर्वसाधराणलाई सचेत गराउने उक्त सूचना प्रकाशित भएको उनले बताए । डिजिटल बैंकिङ प्रयोगकर्ताले संवेशनशील विवरण कसैलाई पनि दिन नहुने र सुरक्षित राख्नुपर्ने बैंकर शर्मा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?