+
+

अब अर्डिनरी, डिलक्स र लक्जरी ट्याक्सी, भाडा दोब्बरसम्म

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ २९ गते २१:५४

२९ जेठ, काठमाडौं । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी सम्बन्धी नयाँ मापदण्ड जारी गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको मापदण्डको मस्यौदाअनुसार ट्याक्सीलाई तीन प्रकारमा विभाजन गरेर चलाउन प्रस्ताव गरिएको छ । यस्तो मापदण्ड देशभर लागू हुनेछ ।

विभागले साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन प्रकारमा वर्गीकरण गरेरै ट्याक्सीका फरक–फरक मापदण्डहरु तोक्न ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारी सम्बन्धी नयाँ मापदण्ड-२०८०’ प्रस्ताव गरेको छ । ट्याक्सीमा यात्रु र चालकको सुरक्षा पक्षलाई पनि महत्व दिइएको छ ।

मापदण्डमा सुरक्षा फिचर्सका रुपमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (ईबीडी), कम्तीमा ड्राइभर र को–ड्राइभर सिटका लागि एयरब्याग र सिट बेल्ट रिमाइन्डर, हाइ स्पीड अलर्ट सिस्टम, रियर डोर चाइल्ड लक, सबै सिटमा सिट बेल्ट, सेन्ट्रल लकिङ, रियर पार्किङ सेन्सर र रियर भ्यू क्यामेराको प्रणाली अनिवार्य गरिएको छ।

तर, बागमती प्रदेशले विद्युतीय ट्याक्सी अनिवार्य गरिसकेको अवस्थामा संघीय सरकारले ट्याक्सीको मापदण्डमा भने जीवाश्म इन्धन र विद्युत् दुवैबाट चल्ने सवारी प्रयोग गर्न सकिने गरी नयाँ मापदण्ड प्रस्ताव गरेको छ । पेट्रोल, विद्युतीय शक्ति, कम्प्रेस्ड नेचुरल ग्याँस, लिक्विफाइड पेट्रोलियम ग्याँस वा यी स्रोतहरुको मिश्रणबाट चल्ने सवारी ट्याक्सीको रुपमा प्रयोग हुनसक्ने प्रस्तावित मापदण्डमा उल्लेख छ । लिथियम आयन ब्याट्रीबाट सञ्चालन हुने सवारी मात्र विद्युतीय ट्याक्सीको रुपमा प्रयोग हुन सक्ने पनि मस्यौदामा उल्लेख छ ।

राय सुझाव संकलनका लागि सार्वजनिक भएको मस्यौदा मापदण्डमा ट्याक्सीको छतमा पहेंलो रंग लगाइएको हुनुपर्ने नियमलाई निरन्तरता दिइएको छ । प्रिन्टरसहितको डिजिटल भाडा मिटर, डिस्प्लेसहितको जीपीएस न्याभिगेसन सिस्टम अनिवार्य गरिएको छ । प्रस्तावित मापदण्डअनुसार ट्याक्सीमाथि राखिने बत्ती ट्याक्सी यात्रु भएर खाली नभएको समयमा रातो, खाली भएका बेला हरियो र सेवामा नभएका समयमा सेतो रंगमा बाल्नुपर्नेछ ।

यी फरक–फरक क्षमता र विशेषताका ट्याक्सीका लागि फरक–फरक भाडादर कायम गर्न पनि प्रस्ताव गरिएको छ ।

मस्यौदा अनुसार साधारण वर्गको ट्याक्सीको भाडादर नेपाल सरकारले ट्याक्सीको लागि तोकेको भाडा दर बराबर हुनेछ । विशेष वर्ग (डिलक्स) को ट्याक्सीको भाडा दर साधारण वर्गको ट्याक्सीको भन्दा २० प्रतिशत बढी हुनेछ । विशिष्ट वर्गको ट्याक्सीको भाडा दर साधारण वर्गको ट्याक्सीको भन्दा १०० प्रतिशत बढी अर्थात् साधारणको भन्दा दोब्बर हुनेछ ।

ट्याक्सीको प्रकार छुट्याउन ट्याक्सीको अगाडिको सिसाको चालकतर्फको कुना, पछाडिपट्टिको दायाँ र बायाँको सिसामा र पछाडिको सिसाको दायाँतर्फको कुनामा साधारण वर्गकाले ‘ओ’ (अर्डिनरी), विशेष वर्गाकाले ‘डी’ (डिलक्स) र विशिष्ट वर्गकाले ‘एल’ लेखेको स्टिकर टाँस्नुपर्ने प्रस्ताव गरिएको छ ।

क्षमता र विशेषता

प्रस्तावित मापदण्डअनुसार पेट्रोल र डिजलबाट चल्ने साधारण प्रकारको ट्याक्सी न्यूनतम ८०० सीसीको हुनुपर्ने प्रस्ताव गरिरएको छ । यस्तो वर्गको ट्याक्सी विद्युतीय गाडी भएमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको अनुपात ०.०१२ हुनुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तो गाडीको अधिकतम इन्जिन वा मोटरशक्ति ३० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क ६० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विल बेस २३ सय मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस १६० लिटर वा सोभन्दा माथि हुनुपर्ने प्रस्ताव गरिएको छ । यस्तो ट्याक्सीमा मनोरञ्जनका लागि साउन्ड सिस्टम हुनुपर्ने गरी मापदण्ड प्रस्ताव गरिएको छ ।

डिलक्स ट्याक्सीको इन्जिन १२०० सीसी वा सोभन्दा बढीको सवारी हुनुपर्ने प्रस्ताव छ । यस्तो वर्गको ट्याक्सी विद्युतीय गाडी भएमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको अनुपात ०.०१९ हुनुपर्ने प्रस्ताव गरिएको छ ।

डिलक्स ट्याक्सीको अधिकतम इन्जिन वा मोटरशक्ति ५० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विल बेस २४ सय मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस २०० लिटर वा सोभन्दा माथि हुनुपर्ने प्रस्ताव गरिएको छ । यस्तो ट्याक्सीमा मनोरञ्जनका लागि साउन्ड सिस्टम, कम्तीमा  एउटा टच स्क्रिनसहितको डिस्प्ले, पावर विन्डो, अटोमेटिक एसी प्रणाली र पछाडि रिडिङ ल्याम्प हुनुपर्ने गरी मापदण्ड प्रस्ताव गरिएको छ ।

लक्जरी वर्गका ट्याक्सीको इन्जिन २ हजार सीसी वा सोभन्दा माथि हुनुपर्ने प्रस्ताव मापदण्डमा गरिएको छ । यस्तो वर्गको ट्याक्सी विद्युतीय गाडी भएमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको अनुपात ०.०२५ हुनुपर्ने प्रस्ताव गरिएको छ ।

लक्जरी ट्याक्सीको अधिकतम इन्जिन वा मोटरशक्ति १०० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विल बेस २७ सय मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस ४०० लिटर वा सोभन्दा माथि हुनुपर्ने प्रस्ताव गरिएको छ । यस्तो ट्याक्सीमा मनोरञ्जनका लागि साउन्ड सिस्टम, कम्तीमा  एउटा टच स्क्रिनसहितको डिस्प्ले, पावर विन्डो, अत्याधुनिक प्रविधियुक्त अटोमेटिक एसी प्रणाली, पछाडिको सिटमा समेत एसीको हावा जाने प्रणाली, पछाडिको सिटमा समेत शिर अड्याउने हेड रेस्ट, पछाडिका लागि हात अड्याउने आर्म रेस्ट, अगाडि र पछाडि नै कप होल्डर, पछाडि रिडिङ ल्याम्प हुुनपर्ने गरी मापदण्ड प्रस्ताव गरिएको छ । यस्तै मोबाइल चार्ज गर्न मिल्ने पावर सेकट, वाइफाइ इन्टरनेट सुविधा, अगाडि र पछिाडिको हेड रुम क्रमशः १००० र ९५० मिलिमिटर, अगाडि र पछाडिको लेग रुम क्रमशः  १००० र ९०० मिलिमिटर हुनुपर्ने प्रस्ताव गरिएको छ ।

यातायात व्यवस्था विभागका अधिकारीहरुका अनुसार नेपालको ट्याक्सी सेवाबारे धेरै जनगुनासो सुनिन्छन् । ट्याक्सी चालकले ठग्नेदेखि ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुन्छ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारी साधन पनि सुविधायुक्त नभएपछि सरकारले अब ट्याक्सीमा नयाँ मापदण्ड कायम गर्न लागेको अधिकारीहरुको भनाइ छ ।

सुविधाका आधारमा तीन प्रकारमा ट्याक्सीको वर्गीकरण गर्दा यात्रुले आफ्नो आर्थिक क्षमताअनुसरको विकल्पहरु पाउने विभागको ठहर छ । अहिले अलिकति धेरै सामान लिएर यात्रा गर्न सास्ती छ, किनभने ट्याक्सीको ‘बुट स्पेश’ निकै थोरै हुन्छ । गाडीको इन्जिन क्षमता र ग्राउन्ड क्लियरेन्स कम हुँदा थोरै उबडखाबड भएका कच्ची सडकमा जान ट्याक्सी मान्दैनन् ।

‘ट्याक्सीमा घाम लाग्दा तातेर भित्र बस्न नसक्ने भएको हुन्छ, तर एसी चलाउने सुविधा हुँदैन । सिटहरु यात्रुमैत्री छैनन्, अग्ला मान्छेका घुँडा अगाडिका सिटमा ठोकिएर हैरान हुन्छ’ विभागका एक अधिकारी भन्छन्,‘सबै समस्या हेरेर फरक–फरक गुणस्तरको सेवा दिने ट्याक्सी चलाउन दिने योजना बनेको हो ।’  मस्यौदामाथि आएका सुझावअनुसार मापदण्डलाई परिष्कृत बनाएर जारी गर्ने विभागको प्रतिबद्धता छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?